Comments Add Comment

९३ लाख नेपाली इन्टरनेटको पहुँचमा, भ्वाइसमा एनसेल पहिलो, डाटामा टेलिकम

१० पुस, काठमाडौं । मुलुकमा विकास निर्माणका कामले गति लिन नसके पनि दुरसञ्चार सेवाले भने फड्को मार्न सफल भएको छ । सेवा सुरु भएको छोटो अवधिमै देशका कुनासम्मका मानिसहरु दुरसञ्चारको पहुँचमा आइपुगेका छन् ।

असोज महिनासम्म ९५.५८ प्रतिशत मानिसको पहुँचमा भ्वाइस सेवा पुगिसकेको छ भने ३५.२८ प्रतिशत मानिस इन्टरनेट सञ्जालमा जोडिसकेका छन् । अधिकांश मानिस भ्वाइस सेवामा आवद्ध भइसकेपछि टेलिकम अपरेटरहरु पछिल्लो समय डाटा/इन्टरनेट सेवा विस्तारमा केन्द्रित भइरहेका छन् ।

data

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २ करोड ५३ लाख २९ हजार ३७ जनाले विभिन्न सेवा प्रदायकको भ्वाइस सेवा लिइसकेका छन् । त्यस्तै, ९३ लाख ४८ हजार ८ सय ५६ जनाले इन्टरनेट/डाटा सेवा प्रयोग गरिरहेका छन् । डाटा प्रयोगकर्ताहरु पछिल्ला दिनमा तिब्र गतिले वृद्धि भइरहेको अपरेटरहरु बताउँछन् ।

फिक्स्ड सेवाका ग्राहक मोबाइलमा

प्राधिकरणको तथ्यांकअनुसार फिक्स्ड भ्वाइस सेवा लिने ग्राहकहरु ३.१४ प्रतिशत रहेका छन् भने मोबाइल सेवा प्रयोगकर्ता ८५.५८ प्रतिशत र अन्यतर्फ ६.६८ प्रतिशत ग्राहकहरु रहेका छन् । तथ्यांक हेर्दा फिक्स्ड सेवाका ग्राहकहरुको वृद्धिदर घट्दो अवस्थामा रहेको देखिन्छ भने मोबाइल सेवाका ग्राहकहरुको वृद्धिदर तिब्र गतिमा भइरहेको देखिन्छ ।

पछिल्लो समय भ्वाइस सेवा स्याचुरेसनको अवस्थामा पुगेको बताउँछन् टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य । जसले गर्दा दूरसञ्चार सेवा प्रदायकहरु डाटा/इन्टरनेटको बजारमा विस्तारमा आक्रमक ढंगले प्रस्तुत भएका छन् ।

ग्राहकहरु आफ्नो सेवातर्फ आकषिर्त गर्न सेवा प्रदायकहरुले विभिन्न आकर्षक प्याकेजहरु ल्याएको देखिन्छ । सेवा प्रदायकहरुबीचको बढ्दो प्रतिस्पर्धाले सस्तोमा इन्टरनेट चलाउन पाएको सर्वसाधारणको भनाइ छ ।

असोज महिनासम्म भ्वाइस सेवा प्रयोग गर्ने ग्राहक संख्या

सर्भिस अपरेटर ग्राहक संख्या हिस्सा (प्रतिसतमा)
नेपाल टेलिकम १,१३,९०,६१८ ४४.९७०
युटिएल ५,०८,८४१ २.००८
एनसेल १,२०,६४,४२४ ४७.६३०
एसटीएम टेलिकम लिमिटेड (एसटीएम) ३,०९५ ०.०१२
नेपाल स्याटेलाइट टेलिकम (एनएसटीपीएल) १,५०,००० ०.५९२
स्मार्ट टेलिकम सञ्चार (एसटीपीएल) १२,१०,३१७ ४.७७८
अन्य सेवा प्रदायक १,७४२ ०.००६
जम्मा ग्राहक संख्या २,५३,२९,०३७  
कुल जनसंख्या (२०६८) २,६४,९४,५०४  
जनसंख्याको हिस्सा ९५.५८ %  

इन्टरनेटमा टेलिकम पहिलो

इन्टरनेट/डाटा प्रयोगकर्ता अशोज महिनासम्म साढे ९३ लाख पुगिसकेका छन् । जसमध्ये टेलिकमको हिस्सा ५४ प्रतिशत र एनसेलको हिस्सा ४४ प्रतिशत रहेको छ । इन्टरनेट/डाटा सेवामा टेलिकम पहिलो सेवा प्रदायक बन्न सफल भएको छ ।

टेलिकमले एडीएसएल, जीपीआरएस, इडीजीइ, डब्लूसीडीएमए, इभिडियो, वाइम्याक्स लगायतका इन्टरनेट/डाटा सेवा उपलब्ध गराइरहेको छ । त्यस्तै, दोस्रोमा रहेको एनसेलले जीपीआरएस, इडीजीइ, डब्लुसीडीएमए सेवा उपलब्ध गराउँदै आएको छ ।

आइएसपीको बजार खोसिँदै

युटिएलको इन्टरनेटले ०.६०६ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । तर, अन्य इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी)को इन्टरनेट/डाटा प्रयोगकर्ताहरु भने खासै बढेको देखिँदैन । सुबिसु, केबुल जुम, वाल्र्डलिंक लगायतका आधा दर्जन बढी कम्पनीले इन्टरनेट सेवा दिए पनि यी कम्पनीको हिस्सा १.१६३ प्रतिशत रहेको देखिन्छ ।

voice service user data

ग्राहकहरुलाई ठूला सेवा प्रदायक नेपाल टेलिकम र एनसेलले तान्न थालेको प्राधिकरणको तथ्यांकले स्पष्ट पार्छ । पछिल्लो समय टेलिकमले ‘फाइबर टु होम’ सेवा सुचारु गरेपछि आइएसपीका ग्राहक झनै घट्ने टेलिकमका इञ्जिनियरहरु बताउँछन् ।

भ्वाइसमा एनसेल अगाडि

असोज महिनासम्मको ग्राहकसंख्या हेर्ने हो भने एनसेल भ्वाइस सेवामा अगाडि देखिन्छ । सो अवधिसम्म एनसेलले १ करोड २० लाख ६४ हजार ४ सय २४ ग्राहकलाई भ्वाइस सेवा पुर्‍याएको छ । जुन कुल भ्वाइस सेवा लिने ग्राहकहरुमध्ये ४७ प्रतिशत हो ।

दोस्रोमा टेलिकम देखिन्छ । टेलिकमले यस अवधिसम्म १ करोड १३ लाख ९० हजार ६ सय १८ जनालाई भ्वाइसेवामा आवद्ध गरिसकेको छ । जुन कुल भ्वाइस सेवा लिने ग्राहकहरुमध्ये ४४.९७ प्रतिशत हो ।

एनसेलले जीएसएम मोबाइल सेवामात्र उपलब्ध गराउँदै आएको छ भने टेलिकमले फिक्स्ड र सीडीएमए र जीएसएम मोबाइल सेवा उपलब्ध गराउँदै आएको छ ।

एसटीएम टेलिकमका ग्राहकहरु ३ हजार ९५ जना रहेका छन् भने नेपाल स्याटेलाइट टेलिकमका १ लाख ५० हजार, स्मार्ट टेलिकमका १२ लाख १० हजार ३ सय १७ र अन्य सेवा प्रदायकका १ हजार ७ सय ४२ ग्राहक रहेका छन् ।

असोजसम्म इन्टरनेट/डाटा प्रयोगकर्ताको संख्या

इन्टरनेट सेवा प्रदायक ग्राहक संख्या हिस्सा (प्रतिशतमा)
नेपाल टेलिकम ५०,४९,५५६ ५४.०१२
युटिएल ५६,७४४ ०.६०६
एनसेल ४१,३३,८२६ ४४.२१७
इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) १,०८,७३० १.१६३
कुल संख्या ९३,४८,८५६  
जनसंख्या हिस्सा ३५.२८  

इन्टरनेट सेवा विस्तारमा एनसेल अन्य सेवा प्रदायकहरु भन्दा निकै आक्रमक ढंगले  लागेको देखिन्छ । विभिन्न तीन महिने आकर्षक योजना ल्याएर मानिसलाई एनसेलको इन्टरनेट सेवामा आवद्ध गर्ने रणनीति एनसेलले लिएको छ ।

टेलिकम पनि डाटामा बजार देखेर यसको विस्तारमा लागेको प्रबन्ध निर्देशक आचार्यको भनाई छ । उनी भन्छन्, अबको बजार भनेको डाटा हो, भ्वाइस सेवा अब बन्दजस्तै भइसकेको छ, हामी डाटामै आक्रमक रुपले प्रस्तुत हुन्छौं ।

भ्वाइस सेवाका ग्राहक घट्दै

सामाजिक सञ्जालहरु गुगल, स्काइप, फेसबुक, भाइवर लगायतमा निःशुल्क कल गर्न पाइने हुँदा दूरसञ्चार सेवा प्रदायकहरुको भ्वाइसेवाका ग्राहकहरु घट्न थालेका हुन् । टेलिकमले पनि सन् २०१५ भित्रमा भ्वाइस सेवालाई निःशुल्क बनाएर डाटा सेवाको विस्तारमा लाग्ने योजना बनाइरहेको केही समय अगाडि अनलाइनखबरसँगको अन्तरवार्तामा प्रबन्ध निर्देशक आचार्यले बताएका थिए ।

भ्वाइस सेवा : कुनको कति हिस्सा ?

सेवाहरु सेवाग्राही (प्रतिशतमा)
फिक्स्ड ३.१४
मोबाइल ८५.५८
अन्य (एलएमएस, जीएमपीसीएस) ६.६८
जनसंख्या हिस्सा ९५.५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment