Comments Add Comment

प्राध्यापकहरुले एक बर्षदेखि तलव पाएनन्

१३ पुस, सल्यान । सल्यानको त्रिभुवन जनता उच्च मावि प्राङ्गणमा सञ्चालित शिक्षा क्याम्पसका प्राध्यापकहरुले गएको एकवर्षदेखि तलब पाएका छैनन् । क्याम्पसमा आम्दानीको कुनै स्रोतबिना नै सञ्चालन गरेपछि क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीले तलब खान पाएका छैनन् ।

क्याम्पसको स्रोत नभएको, भएका विद्यार्थीसमेत कम हुँदा मासिक शुल्क धेरै नउठ्ने र कसैले सहयोग नगर्दा तलब खानबाट वञ्चित भएको प्राध्यापक गणेशबहादुर चन्दले बताए । विद्यार्थीलाई पढाउँदा मुख सुकेर बोल्न गाह्रो हुन्छ, तर समयमा तलब खान नपाउँदा पढाउनै छाडौं जस्तो लाग्छ,’ चन्दले भने, ‘यसले गर्दा जीविकोपार्जनमा समेत समस्या भएको छ ।’

क्याम्पसमा अहिले चारजनाले पढाउँदै आएका छन् । एक विषय पढाएबापत उनीहरुको मासिक पारिश्रमिक तीन हजार रुपैयाँ तोकिएको छ ।

सल्यानको देवस्थल, मुलखोला, घाँजरिपिपल, बामे, चाँदेकरेन्जी, माझकाँडा, सुर्खेतको राकम र रुकुमको चौरजहारीलगायत आसपासका विद्यार्थीहरुलाई लक्षित गरी ०६८ सालमा शिक्षा सङ्कायतर्फ क्याम्पस सञ्चालन गरिएको थियो ।

पढ्ने विद्यार्थी कम हुँदा विद्यार्थीबाट उठाएको शुल्कले सबै किसिमको व्यवस्थापन मिलाउन नसक्दा प्राध्यापकलाई नियमित तलब खुवाउन नसकेको क्याम्पस प्रमुख वीरेन्द्रकुमार शाहीले स्वीकार गरे । क्याम्पस उद्घाटनका क्रममा सबैले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सोचेअनुसारको सहयोग नपाएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment