Comments Add Comment

प्रदीप गिरीले भने- सभाध्यक्षज्यू म जीवितै छु

Pradeep-giri-and-Ram-karki

१४ पुस, काठमाडौं । संविधानसभा बैठकमा बैचारिक बहस कमै हुने गर्छन् । आरोप-प्रत्यारोप र आ-आफ्ना दलका अडान राख्दैमा सभासदको बोल्ने पालो सकिन्छ ।

सोमबारको बैठकमा एमाओवादीका बैचारिक नेता राम कार्की र कांग्रेसका बैचारिक नेता प्रदीप गिरीबीच यस्तै रोचक सवाल-जवाफ चल्यो ।

संवाद समितिको प्रतिवेदनमाथि छलफल गर्न उभिएका कार्कीले विवादका बारेमा केही बोलेनन् । बरु उनले दार्शनिक कुरा गर्दै कांग्रेसको प्रजान्त्रिक समाजवादको व्याख्या गर्ने मान्छेसमेत नभएको बताए ।

‘हुन त वीपी कोइराला, भीमबहादुर तामाङहरु बितिसक्नुभयो, प्रदिप गिरीजी पनि यहाँ हुनुहुन्नजस्तो छ’ कार्कीले भने । उनी आफ्नो भनाइ सकेर रोष्टमबाट हिँडेपछि सभाध्यक्ष नेम्वाङले राप्रपाका विक्रम पाण्डेलाई बोल्ने समय दिए ।

तर, पाण्डे रोष्टममा पुगेर उभिन नपाउँदै कांग्रेस सभासद बस्ने स्थानको अन्तिम लहरमा बसेका प्रदिप गिरीले उठेर नियमापत्ति गरे ।
सभाध्यक्ष नेम्वाङले माननीय सदस्यको नियमापत्ति हो कि के हो ? भन्दै सोधे । गिरीले बोल्नका लागि माइक खोजे । सभाध्यक्षले भने-छेउको माइक प्रयोग गर्नुस् माननीय सदस्य ।’

त्यसपछि गिरीले एमाओवादी नेता राम कार्कीले बोल्दाबोल्दै नियमापत्ति गर्न मन लागे पनि उनको बौद्धिक कुराले आफू मन्त्रमुग्ध भएको बताए । तर, आफूलाई पनि मृत नेताको लाइनमा राखिदिएकोमा उनले नियमापत्ति जनाए ।

गिरीले भने-‘माननीयजीले वीपी, भीमबहादुर तामाङ लगायतका नेताहरुसँगै मलाई पनि उहाँ हुनुहुन्न भन्नुभयो, तर उहाँको जानकारीका लागि म यहाँ जीवितै छु भन्ने स्पष्ट पार्न चाहान्छु ।’

त्यसपछि बैठक हलमा हाँसो चल्यो । सभाध्यक्ष नेम्वाङले रुलिङ गर्दै भने-‘माननीय सदस्यको यो कुरा माननीय राम कार्कीसहितको ध्यानाकर्षण भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment