Comments Add Comment

श्रीकृष्णको जन्मदिनमा श्वेताको कारुणिक पत्र-‘जीवनभर हजुरकै यादमा बाँचिरहने छु’

shree swaita 1
फाइत तस्वीर

स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिनका अबसरमा आज उनकी पत्नी श्वेता खड्काले लामो पत्र लेख्दै आफ्नो बह पोखेकी छिन् ।
श्वेताले बुधबार आफ्नो फेसबुक वालमा पत्र लेख्दै जीवनभर उनकै यादमा बाँचिरहने र माया बढिरहने बताएकी छिन् । आफु केही समयदेखि अस्वस्थ्य रहेको भन्दै उनले आफ्नो स्वास्थ्यलाभका लागि भिख माग्ने बताएकी छिन् ।
श्वेता खड्काले फेशबुकमा लामो स्टाटस लेख्दै श्रीकृष्णले केक काट्दै गरेको तस्बिर पोष्ट गरेकी छिन् । साथै उनले सुटिङको क्रममा खिचिएका अन्य केही तस्बिर समेत पोष्ट गर्दै लेखेकी छिन् । जुन तस्बिरमा श्री र श्वेता रमाएको देखिन्छ । उनले स्टाटस लेखेकी छिन् ‘यो जीबनमा हजुर र म यति छिटो अलग हुनुपर्छ भनेर मैले कहिल्यै सोचेकी थिइन् ।’
मृत्यु कसैको बसमा नहुने भन्दै उनले अगाडी लेखेकी छिन् ‘मलाई पुरा विश्वास छ हरेक दिन हजुरले मलाइ नजर लगाइरहनु भएको छ र मलाई सँधैभरि आशिर्वाद दिनुहुने छ ।’

shree swaita 2

श्वेताले लेखेको पत्र भाषिक सम्पादनसहित जस्ताको त्यस्तै

यो जीवनमा हजुर र म शारीरिक रुपमा यति छोटो समयमा अलग हुनपर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईन । हजुरले बारम्बार भनेको कुरा – जीवनमा लेखेको कुरा जसरी पनि भएरै छाड्छ, अनेकौं कोशिश गरेपनि जन्मिदा लेखेर आएको कुरा कसैले मेट्न सक्दैन । हजुरले बोलेको कुरा प्रामाणित त गर्नु भयो तर मैले अझैपनि वास्तविक स्विकार्न सकेको छैन । बिहान उठ्दा सबै कुराहरु ठिकै भएपनि दिनभरीको यात्रामा के के घटना घट्छ कसैलाई केहि थाहा नहुँदो रहेछ ,त्यो त मात्र रात परेपछि थाहा हुने रहेछ अर्थात राती सुत्ने बेलामा सबै कुराहरु ठिकै भएर सुत्न गएपनि अचानक बिहान उठ्दा के हुन्छ , यो जीवनमा कसैले कहिल्यै ठोकुवा गरेर भन्न नसकिने रहेछ ।
लामो समयको मिहेनत, मायाँ नै मायाँले भरिएको बिश्वास , हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन , आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको मायाँ प्रेमलाई जुनिभरि संगै हाँश्ने खेल्ने बाचा कसमका साथ बैबाहिक जीवनमा गाँस्न पुगियो । हजुरले म प्रति गरेको माया , बिस्वास , साथ र त्याग म मेरो मन मस्तिष्क जीवनभरि बोकेर हिंड्नेछु र त्यहि मायालाई एउटा मेरो जिउने आधार बनाउने छु । मलाई पुरा बिस्वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आर्शिवाद दिईरहनुहुनेछ । मेरो मायाँ सधैभरि केवल हजुरलाई नै थियो र अबको बाँकि जीवनमा पनि हजुरकै नाममा रहिरहनेछ ।

तस्बिर चलचित्र 'कोहिनुर'मा श्रीकृष्ण र स्वेताले अभिनय गर्दै गरेको समयको हो ।
तस्बिर चलचित्र ‘कोहिनुर’मा श्रीकृष्ण र स्वेताले अभिनय गर्दै गरेको समयको हो ।

किनकि मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छ । आजको यो महत्वपूर्ण दिन , हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान , मेरो जिन्दगी , मेरो ढुकढुकी हजुरलाई सम्झेर – केवल हामीले संगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छु । एकै छिनमा हाँश्न थाल्छु , छिनमै रुन अनि आत्तिन पुग्छु तर फेरि हिम्मत गरेर अघि बढ्ने अनेक कोशिश गरेको छु । किनकि मलाई पुरा बिस्वास छ हाम्रो मायाँ सधै अमर रहिरहने छ र यो मायाँ कहिल्यै घट्ने छैन केवल बढिरहने छ ।
आज भन्दा पहिलाको जन्मदिनहरुमा म हजुर सामु उपहारहरु लिएर उपस्थित हुन्थे तर माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनु को सट्टा उल्टै हजुरसंग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थको भिक माग्ने आँट गरेको छु । हेर्नुस न मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन , म रातदिन सुत्न परेको छ , मलाई सन्चो भएको छैन , मैले जति कोशिश गरेपनि म उठ्न सकेको छैन ।
प्लिज मलाई हजुरले शक्ति दिनुहोला, छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला, हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन, मलाई छिटो निको भएर हजुरको सारा योजना र सपना सफल बनाउने ठूलो इच्छा जागेको छ तर राम्रोसँग आफ्नै शरीर सम्हाल्न सकेको छैन । प्लिज मलाई साथ दिनुहोस् र छिटै निको बनाएर अघि बढाईदिनुहोस् । यहि उपहार मागे मैले हजुरको यो जन्मदिनमा ।
हजुर जहाँ हुनुहुन्छ म सधैं हजुरको साथमा रहिरहने छु र केवल हजुरको नाममै बाँचिरहनेछु । यहि छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको शुभकामना । हामी दुवैले नचाहँदा नचाहँदै पनि आज भौगोलिक दृस्टीकोणले हामी टाढा हुन बाध्य भएपनि आत्मिय रुपमा हामी सधैंभरि नजिकै रहिरहने छौँ र म जीवनभरि हजुरको यादै यादमा बाँचि रहने छु । यहि बचन छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको बचन कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment