Comments Add Comment

यसरी फेरिन लाग्यो ठमेलको मुहार

Thamel-Finala
नविन अर्याल

२० पुस, काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको मुहार परिवर्तन हुने भएको छ । ठमेल विकास परिषदको सक्रियतामा ठमेललाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य स्थल बनाउन लागिएको हो ।

रातभरि झिलिमिली गरार्इ पर्यटकलाई सेवा दिनुपर्ने ठमेल अहिले लामो लोडसेडिङबाट ग्रसित छ । अब यस क्षेत्रलाई उज्यालो बनाउन सौर्य लाइट जडान गरिने भएको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा सौर्य वत्ती बालेर नयाँ वर्षलार्इ स्वागत गरिएको थियो । ठमेलमा साैर्य वत्ती जडान सुभारम्भसँगै बाटो पिच गर्ने, छरपष्ट तारहरु व्यवस्थित गर्ने, पार्किङ स्थल बनाउने, ठमेलको प्रवेशद्धार केशरमहलमा गेट बनाउने, सुरक्षा व्यवस्था चुस्त बनाएर अन्तर्राष्ट्रियस्तरको पर्यटकीय स्थल बनाउने काम अगाडि बढाइएको छ ।

यो पनि पढ्नुहोस् : सार्क सम्मेलनलाई गिज्याउँदैछ ठमेल (फोटो कथा)

ठमेल अहिले छरपष्ट तारहरु, सवारी जाम, पेटीसम्म ढाकेर राखिएका पसल, अव्यवस्थित होर्डिङ बोर्ड, भत्किएको सडक लगायतका समस्याबाट प्रताडीत छ ।

पछिल्ला दिनमा ठमेलको मुख्य सडक कालोपत्रे गरिएको छ भने बाँकी फागुनसम्म सम्पन्न गर्ने ठमेल विकास परिषदले जनाएको छ ।

दुई करोडमा २ सय वत्ती

अँध्यारो ठमेललाई उज्यालो बनाउन दुई सयवटा बत्ती जडान गर्न लागेको परिषदका अध्यक्ष रामशरण थपलियाले अनलाइनखबरसँग बताए । यसका लागि करिव २ करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।

यतिबेला रातिको समयमा पर्यटकलाई ठमेल निर्वाध रुपमा घुम्न तथा रमाउन असहज भइरहेको छ । यही कारण पर्यटकहरु लुटिने, दुर्घटनामा पर्ने घटना हुने गरेका छन् । याे समस्या समाधानका लागि ठमेलका भित्री तथा बाहिरी दुबै क्षेत्रमा सौर्य बत्ती जडान गर्ने थपलियाले जानकारी दिए ।

thamel  (3)
एउटा सौर्य वत्ती जडान गर्नका लागि पोल र ब्याट्रीसहित १ लाख १ हजार ३ सय रुपैयाँ लाग्ने थपलियाले बताए । सडकमा वत्ती राख्न  छाँया सेन्टर, बैंक तथा वित्तीय संस्थाहरु,  ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान), पर्यटन बोर्ड, विद्युत प्राधीकरण, स्थानीय व्यवसायीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

परिषदले वत्ती जडान गर्नका लागि आकर्षक प्रस्ताव गरेको छ । जसले जुन ठाउँमा वत्ती राख्न सहयोग गर्छ, त्यसमा उसको पहिचान हुनेछ । अर्थात, वत्तीमा आफ्नो, व्यवसायिक फर्मको नाम राखेर स्पोन्सर गर्न पाइनेछ ।

‘हामीलाई नगद पैसा सहयोग मागेका छैनौं, यतिवटा वत्ति तिमीहरुले जडान गर्न सहयोग गर्नुपर्छ भनेका छौं’ थपलियाले भने- ‘स्पोन्सर गरेर वत्ती राख्दा कर्पोरेट हाउसको विज्ञापन पनि हुने र सहयोग गरेजस्तो पनि हुन्छ ।’

थपलियाका अनुसार टानले १५ वटा वत्ती जडान गर्ने प्रतिवद्धता जनाएको छ भने छायाँ सेन्टरले ५ वटा जडान गरिदिने भएको छ । ठमेलमा १६ वटा बैंकका शाखाहरु रहेका छन् । उनीहरुलाई प्रतिशाखा ५ वटाका दरले ८० वटा लाइटको जिम्मा लिन आग्रह गरेको थपलियाले बताए ।

नक्सामा लाइट राखिने स्थान

thamel map-650

बैंकका प्रतिनिधिहरुसँग दुई पटक भएको बैठकमा उनीहरुले ५० वटासम्म वत्तीको जिम्मा लिने संकेत देखाएको उनको भनाइ छ । त्यस्तै, पर्यटन बोर्डबाट वत्ती र सीसी क्यामेराका लागि ३० लाख रुपैयाँ स्वीकृत भइसकेको छ । विद्युत प्राधिकरण पनि सडकमा पोल राखेर बत्ती राखिदिन सहमत छ ।

ठमेलको सडक साँघुरो ठाउँ भएको हुँदा पोल र घरका छत दुबैमा वत्ती राख्नुपर्ने अवस्था छ । अँध्यारो सडकलाई उज्यालो बनाउन वत्ति राख्ने काम छिट्टै पूरा गर्ने परिषदको तयारी छ ।

दुई करोडभन्दा बढीको परियोजना टेन्डर आहृवान गरेर गर्नुपर्ने हुँदा छिट्टै टेन्डर आहृवान गरेर ठेकदार छनौट गरी बत्ती जडान कार्य सुरु गर्ने परिषदका अध्यक्ष थपलियाले जानकारी दिए । बत्ती जडान गरेपछि ठमेल २४सै घण्टा खुला राख्नका लागि समेत सहजता मिल्ने उनको भनाइ छ ।

पर्यटन बोर्डको १ करोड सहयोग

ठमेलको विकासका लागि पर्यटन बोर्डले एक करोड रुपैयाँ रकम निकासाका लागि स्वीकृत गरिसकेको छ । थपलियाका अनुसार सुरक्षा भवन, सूचना केन्द्र र बाथरुम बनाउन ५० लाख रुपैयाँ खर्चिने भएको छ । अहिले ठमेल घुम्न जाने पर्यटकका लागि ट्वाइलेट तथा बाथरुमको व्यवस्था छैन ।

त्यसैगरी, ठमेलमा रहेका मन्दिरको जिर्णोद्धार गर्न ५ लाख रुपैयाँ, सोलार बत्ती र सीसी क्यामेराका लागि ३० लाख रुपैयाँ र मेला महोत्सवका लागि ५ लाख रुपैयाँ खर्च गरिने भएको छ ।

पर्यटन महायज्ञ गरिँदै

परिषदले ठमेलको समग्र विकासका लागि रकम जुटाउन ठमेलमा पर्यटन महायज्ञ आयोजना गर्ने भएको छ । फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना हुने महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष परिषदको छ ।

महायज्ञको संयोजकमा दीपक महत रहेका छन् । केही दिनमा सबै क्षेत्रका प्रतिनिधिहरुलाई समेटेर ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिने बताइएको छ ।

thamel  (17)केशरमहलमा आकर्षक गेट

यस रकमबाट ठमेल प्रवेशद्धार केशर महलनेर ठमेल चिनाउने आकर्षक गेट निर्माण गरिने भएको छ । अहिले प्रवेशद्धारमा गेट नहुँदा ठमेल पुगिसक्दा समेत ठमेल आइपुगेको महशुस हुँदैन ।

गेट निर्माण गर्नका लागि ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थपलियाले जानकारी दिए । यसको साथै ठमेलको सडक पिच गर्ने, अस्तव्यस्त तारहरु व्यवस्थित गर्ने, पार्किङ स्थल निर्माण गर्ने कार्यमा पनि यो रकम खर्च गरिने छ । फागुनसम्म सबै बाटो पक्की भइसक्ने बताइएको छ ।

ठमेलमा अहिले समस्याका रुपमा रहेको अस्तव्यस्त सवारी हो । ठमेल हुँदै बाहिर जाने गाडीका कारण ठमेलमा सवारी जाम हुने गरेको देन्छि । यो कार्य रोक्न आवश्यक पहल गरिने थपलियाले बताए ।

ठमेललाई कमर्सियल एरियाका रुपमा विकास गर्न परिषद तातेको थपलियाको दाबी छ । अब सरकारको बाटो हेरेर नबस्ने बताउँदै उनले व्यवसायीहरुसँग मिलेर ठमेलको विकासमा अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment