+
+

बेनी आक्रमणका मृतकका परिवारलाई ३ लाख रूपैयाँ दिन सरकारलाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २० गते १५:३६

२० पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकोबेला म्याग्दी सदरमुकाम वेनी आक्रमणमा मारिएकाको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ ।

human_rightsस्वविवेकीय आधारमा ग्रहण गरेको उजुरीका सम्बन्धमा प्रत्येक मृतकको हकवालालाई ३ लाख क्षतिपूर्ति उपलव्ध गराउन आयोगले निर्देशन दिएको हो ।

सोही घटनामा परी घाइते भएका व्यक्ति र त्यहाँको भौतिक क्षतिबारे कार्यदल गरी त्यसले उपलब्ध गराएको तथ्यांक बमोजिम सम्वन्धित व्यक्तिहरूलाई पर्याप्त र उचित क्षतिपूर्ति दिन सिफारिस गरिएको छ ।

मानवीय कानून उल्लंघन

बेनीमा २०६० साल चैत ७ गते तत्कालीन विद्रोही नेकपा माओवादीले आक्रमण गरेको थियो । माओवादीले वेनी सदरमुकाम कब्जालाई युद्धकालको ठूलो सफलतामध्येको एक मान्दै आएको छ ।

तर, सो घटनामा द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको पाइएको आयोगले ठहर गरेको छ । आयोगले दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न पनि सिफारिस गरेको प्रवक्ता मोहना अन्सारीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्षतिपूर्तिको लागि सिफारिस

रामेछापको सालु गाविस ६ को एक होटलमा कार्यरत टेकराज घिसिङलाई सुरक्षाकर्मीले २०६० साल पुस २७ गते गोली हत्या गरेको भन्ने उजुरीको सम्बन्धमा मृतकको हकवालालाई तीन लाख क्षतिपूर्ति उपलव्ध गराउन र दोषी सुरक्षाकर्मीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न पनि सिफारिस गरिएको छ ।

यस्तै काभ्रेको पोखरीचौंरी गाविस बस्ने बद्री तिवारीलाई सुरक्षाकर्मीले २०५९ माघमा गोली हानी हत्या गरेको भन्ने उजुरीको सम्बन्धमा मृतकका हलवालालाई तीन लाख क्षतिपूर्ति उपलव्ध गराउन र दोषी सुरक्षाकर्मीको पहिचान गरी कानुनी कारबाही अघि बढाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।

सोही घटनामा तत्कालीन बिद्रोही पक्ष नेकपा माओवादीका कार्यकर्ताहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघनकर्ताको रूपमा अभिलेख राखी कानुनी कारबाही गर्न-गराउन सिफारिस गरिएको आयोगले जनाएको छ ।

यस्तै मोरङको विराटनगर उपमहानगरपालिका घर भई काठमाडौ डेरा गरी बस्ने रुद्र चापागाईंको हकवालालाई पनि तीन लाख क्षतिपूर्ति उपलव्ध गराउन र दोषी सुरक्षाकर्मीकोे पहिचान गरी कानून बमोजिम कारबाही गर्न सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ । चापागाईंलाई सुरक्षाकर्मीले २०६२ साल वैशाख ७ गते गोली हानी हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?