२५ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला एमाले अध्यक्ष केपी ओलीको लाचार छायाँ बनेको र पार्टी नेतृत्व एमालेको पिछलग्गु देखिएको भन्दै कांंग्रेस नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारको नेतृत्व गर्ने कांग्रेस पहिलो पार्टी भए पनि एमालेले कांग्रेसलाई पछि-पछि हिँडाइरहेको भन्दै प्रभावशाली नेताहरुले नै नेतात्रय कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
‘गरुडको अघि सर्प परेजस्तै केपी ओलीका अगाडि हाम्रा नेताहरु नतमस्तक हुन थाले, जसले गर्दा विपक्षीहरुले पनि प्रधानमन्त्रीलाई विश्वास गर्न छाडे’ कांग्रेस केन्द्रीय सदस्य तथा सभासद प्रदीप गिरीले केही पत्रकारसँग भनेको यो कुराले पनि कांग्रेसको मनोदशा प्रष्ट हुन्छ ।
तत्काल केन्द्रीय कार्य समिति बैठक बोलाएर पार्टीले संविधानका अन्तरवस्तुमा लिने अडान र नेतृत्वदायी भूमिका प्रष्ट पार्न अर्जुननरसिंह केसी, चन्द्र भण्डारीलगायतका नेताहरुले दबाव दिएका छन् ।
तर, पार्टी नेतृत्वले भने सोमबारका लागि बोलाइएको कार्य समिति बैठकसमेत अनिश्चितकालसम्मलाई स्थगित गरेको छ । ‘नेतृत्व बैचारिक बहसबाट भाग्न खोज्दैछ, कांग्रेसको भूमिका देखिन छाडेको छ, जसले गर्दा विपक्षीहरु झन् टाढिँदै छन्’ केसीले भने ।
संविधानसभा र सिंहदरवार दुबैतिर एमाले हाबी भएको कांग्रेस नेताहरु बताउँछन् । ‘एमालेका मन्त्रालयबाट भटाभट राजनीतिक नियुक्ति, सरुवा बढुवा भइरहेका छन्’ एक सभासदले भने ‘कांग्रेसका मन्त्रीले कामै गरेका छैनन्, गरेका ठाउँमा पार्टीका होइन पैसाका मान्छे नियुक्ति हुन्छन्’ ।
मन्त्री र सरकारका कामकारवाही बारे छलफल गरौं भन्दा संसदीय दलको बैठकमा पनि बोल्न नदिने र कार्य समिति बैठक नै नबोलाउने संस्कार पार्टीमा विकसित भएको सभासद रामहरी खतिवडा बताउँछन् ।
पार्टी सभापति तथा प्रधानमन्त्री कोइरालामा कुरा बुझ्ने धैर्यता र क्षमता पनि नदेखिने र अरुलाई विश्वाससमेत नगर्ने शैली रहेकाले कांग्रेसको भूमिका कमजोर बनेको आरोपसमेत नेताहरुले लगाएका छन् ।
‘यसपटक जसरी सहमति भत्किने र विपक्षीहरु भड्किने अवस्था आयो, यसमा कहिँ न कहिँ प्रधानमन्त्रीको स्वाभाव र कांग्रेस नेतृत्वको कमजोर भूमिका पनि कारक हो’ कांग्रेसका एक प्रभावशाली नेताले भने ‘एमाले र माओवादी भिडुन्, हामीलाई फाइदा हुन्छ भन्ने सोच पनि देखियो’ ।
केन्द्रीय कार्यालयबाट बैठक स्थगनको सूचना आएपछि प्रधानमन्त्री कोइरालालाई भेटेरै तत्काल वार्ताको पहल थाल्न, विपक्षीलाई मनाउने गरी सम्बोधन गर्न र एमालेको छायाँबाट मुक्त हुन सुझाव दिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4