Comments Add Comment

मर्यादापालकमाथि संसद सचिवालयको ‘सौतेनी’ व्यवहार

२६ माघ, काठमाडौं । संविधानसभाभित्र तोडफोड र आक्रमण हुँदा सबैभन्दा दुःख पाउने मर्यादापालक थिए । माघ ५ गते कतिपय मर्यादापालक घाइतेसमेत भएका थिए भने धेरैलाई सभासदले दागा समेत धरे ।

तर, तिनै मर्यादापालकले संविधानसभाको व्यवस्थापन पक्षबाटै भेदभाव झेलिरहेको गुनासो गरेका छन् । सचिवालयका कर्मचारीभन्दा आफूहरुमाथि दोस्रो दर्जाको व्यवहार हुने गरेको  गुनासो गर्छन् उनीहरु ।

CA-MEETING-Magh-8

संविधानसभा संसद सचिवालयका कर्मचारीभन्दा बढी खटिनुपर्ने सुरक्षाकर्मी र अन्य कर्मचारीमाथि सचिवालयबाट सौतेनी व्यवहार भएको भन्दै गुनासो बढ्न थालेको छन् ।

संविधानसभा सदस्य तथा सचिवालयको सुरक्षार्थ खटिएका मर्यादापालकहरुले सचिवालयका कर्मचारी सरह ८० प्रतिशत भत्ता माग गरिरहेका बेला कतिपय सुरक्षाकर्मीले एक पैसा पनि भत्ता नपाएको गुनासो गरेका छन् ।

अर्थ मन्त्रालयबाट स्वीकृत भइसक्दा पनि सचिवालये विभेद गरेको उनीहरुको गुनासो छ । संविधानसभामा खटिएको बम डिस्पोजल टोली, सुरक्षा कुकुर परिचालन टोली र ट्राफिक प्रहरीले भत्ता पाएका छैनन् ।

त्यस्तै वीर अस्पतालको एम्बुलेन्स संविधानसभामा चौबिसै घण्टा तैनाथ हुन्छ, तर त्यसका चालक तथा कर्मचारीले पनि सचिवालयबाट भत्ता नपाएको गुनासो गरेका छन् ।

यसअघि कानुन न्याय तथा संविधानसभा व्यवस्था मन्त्रीका सुरक्षाकर्मी र चालकले पनि भत्ता पाएका थिए । तर, दोस्रो संविधानसभापछि उनीहरुले समेत पाएका छैनन् ।

संविधानसभा अध्यक्ष र उपाध्यक्षको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा चालकले सचिवालयका कर्मचारीसरह ८० प्रतिशत भत्ता र खाना खाजा पनि पाउने गरेका छन् ।

‘कतिपय कर्मचारीले त घरमा समेत प्याकिङ लिएर जान्छन्, उनीहरुभन्दा खटिने मर्यादापालक पुर्पुरोमा हात राखेर उनीहरुको मोजमस्ति हेर्न बाध्य छन’ एक अधिकृतले भने ‘सबैभन्दा दुःख जसले गर्छ उनीहरुमाथि नै विभेद छ यहाँ’ ।

एकै प्रकृतिका कर्मचारी र सुरक्षाकर्मीमाथि सचिवालयबाट बिभेद भएको गुनासो पटक-पटक राख्दा पनि सुनुवाइ नभएको एक सुरक्षा कर्मचारीले बताए । उनले भने-अरु कर्मचारीजस्तो हामीले आन्दोलन गर्न मिल्दैन भनेर हाम्रो कुरा कतै सुनुवाइ भएन ।

अर्थ मन्त्रालयले पुस महिनामै निर्णय गरेर बम डिस्पोजल टोली, कुकुर युनिट, अस्पताल कर्मचारी, ट्राफिक प्रहरी र संविधानसभा सम्बन्धी मन्त्रीका सुरक्षाकर्मी र चालकलाई ३५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयको निर्णय अहिलेसम्म कार्यन्वयन नभएको उनीहरुले बताए । उनीहरुले ८० प्रतिशत भत्ता माग्दै आएका छन् । सचिवालयले अघिल्लो वर्षको माघ महिनादेखिकै भत्ता दिनुपर्ने माग उनीहरुको छ ।

अर्थले निर्णय गरे पनि सचिवालयले घुमाइरहेको उनीहरुको आरोप छ । सचिवालयका एक उच्च अधिकारीले भने सो निर्णय बमोजिम सचिवालयलाई थप निकासा भए दिन सकिने बताए ।

संसद सचिवालयका कर्मचारीले भने तलबको ८० प्रतिशत भत्ताका साथै बैठक चलेका बेला दैनिक ६ सय भत्ता र तीन साँझ खाना खाजा पाउने गरेका छन् ।

संसद सचिवालयमा सुरक्षा महाशाखाबाट खटिएका मर्यादापालहरुले ३५ प्रतिशत मात्र पाएका छन् । उनीहरुले पनि कर्मचारी सरह ८० प्रतिशत पाउनुपर्ने माग आफ्नो च्यानलबाट राखिरहेका छन् ।

सचिवालयका केही कर्मचारीले मर्यादापालकको नाममा खाना र खाजा भत्ताको बिल बनाएर अनियमितता गरेको आरोपसमेत लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment