५ फागुन, काठमाडौं । यात्रुमाझ लोकप्रियता कमाउँदै आएको साझा बस स्वम्भुबाट गौशाला हुँदै एयरपोर्टसम्म सञ्चालन हुने भएको छ ।
साझा यातायातले कलंकी, त्रिपुरेश्वर हुँदै एयरपोर्ट पुग्ने रुट परिवर्तन गरेर स्वयम्भु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपर्का, जमल, कमलपोखरी, गौशाला हुँदै एयरपोर्टसम्म सञ्चालन गर्ने जनाएको छ ।
बुधबारदेखि नयाँ रुटमा साझा बस सञ्चालन हुनेछन् । २०७० बैशाख देखी काठमाडौं उपत्यकाका उत्तर दक्षिण र पूर्व पश्चिमका दुईवटा ट्रंक रुटमा साझा यातायातले सेवा पुर्याउँदै आएको छ ।
कमलपोखरी-गौशाला सडक खण्डबासी यात्रुहरुको सुविधाको लागि र धार्मिक एवम पर्यटकीय महत्व बोकेका स्वयम्भुनाथ र पशुपतिनाथलाई आपसमा जोड्नु यो रुटको मूख्य उद्देश्य हो ।
हालको परिमार्जित रुटबाट त्रिपुरेश्वर देखी तिनकुने खण्डमा रहेका सेवाग्राही यात्रुहरुमा पर्न गएको असुविधा प्रति साझा यातायातले क्षमा मागेको छ । निकट भविष्यमा साविक रुटका साथै उपत्यकाका अन्य शहरी रुटहरुमा समेत सेवा विस्तार गर्ने योजनामा रहेको साझाले जनाएको छ ।