नवल खड्काको प्रस्तुतीमा तयार भएको चलचित्र ‘भिमदत्त’को आज काठमाण्डौको कुमारी हलमा विशेष च्यारेटी शो गरिएको छ । यो चलचित्रको च्यारेटी ८३ औं पटक गरिएको हो ।
प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको च्यारेटी शोमा विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी थिए । उनीहरुले, भिमदत्तको कथा रोचक लागेको सुनाए ।
सुदुरपश्चिमाञ्चलको किसान आन्दोलनका नेता भिमदत्तको जीवनीमा आधारित यो चलचित्रलाई हिमग्याप टाँसीले निर्देशन गरेका हुन् । उनको निर्देशकिय पाटोलाई उपस्थित दर्शक र रंग पत्रकारहरुले तारिफ गरेका छन् ।
चलचित्रको शिर्ष भूमिकामा नवल खड्का देखिएका छन् । चलचित्रमा सुमिना घिमिरे, निशा अधिकारी, सन्जय खतिवडा, कविता शर्मा, रमेश वुढाथोकी लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको प्रदर्शन भने फागुन २२ गतेबाट गरिदैछ । चलचित्रले भिमदत्तको आन्दोलनको कथासँगै अहिलेका युवापुस्तामा देखिएको राजनीतिक दलका नेताप्रतिको आक्रोशलाई देखाएको छ ।
नेताहरु मन्त्री बन्नका लागि कसरी भारतको शरणमा पुग्छन् र देश कसरी बर्बादीको दिशातर्फ गइरहेका छन् भन्ने देखाएको छ ।