Comments Add Comment

नेपालीले बनाए नयाँ सामाजिक सञ्जाल ‘सगुन’

sagoon-soft-launch-nepal-fi
१३ फागुन, काठमाडौं । नेपाली यूवाहरुले विकास गरेको नयाँ सोसियल साइट ‘सगुन डटकम’ बुधबार विश्वव्यापी सार्वजनिक गरिएको छ । सगुन डटकम अमेरिका, भारत र नेपालबाट एकसाथ सार्वजनिक गरिएको हो ।

अमेरिकाको पेन्टागनमा सिष्टम इञ्जिनियरको रुमा काम गर्दै आएका गोविन्द गिरीले साइट विकास गरेका हुन् । सुरुमा सगुनलाई गुगलजस्तै सर्च इञ्जिन बनाउने प्रयास गरेका गिरीले सोसियल साइटका रुपमा विकास गरेका हुन् ।

सगुनमा चलनचल्तीमा रहेका फेसबुक, ट्वीटर, हृवाट्स एप, स्न्याप च्याट, इन्स्टाग्राम लगायतका म्यासेजिङ साइटहरुको विशेषता रहेको छ । यो साइटमा परिवारका सदस्य तथा साथिहरुसँग फोटो तथा सूचनाहरू आदान प्रदान गर्न सकिन्छ ।

तत्काललाई सगुनमा लाइभ कुराकानी तथा च्याट गर्न नसकिने भएपनि सूचनाहरू सेयरिङ गर्न सकिने इन्फरमेन कम्युनिकेशन टेक्नोलोजी (इआइसीटी) नेपालका को-फाउन्डर राजु कट्टेलले जानकारी दिए । आफ्ना व्यक्तिगत फोटोहरु ग्रुप बनाएर सगुनमा सेयरिङ समेत गर्न सकिन्छ ।

यसका लागि प्रयोगकर्ताहरुले आफै ग्रुप खडा गरी सूचना तथा फोटोहरु सेयर गर्न सक्नेछन् । सबैभन्दा आकर्षक सुविधा भनेको सगुनमा गोप्य डाटा तथा सूचनाहरु स्टोर गरेर राख्न सकिन्छ ।

सगुनमा साथीहरु बनाउन पनि निकै सजिलो रहेको छ । अहिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा रहेका साथीहरुलाई सिधै सगुनमा कनेक्ट गर्न सकिन्छ । साथै, छुट्टै आफुले चाहेको मानिसलाई पनि साथी बनाउन सकिन्छ ।

सगुनमा खाता खोल्दा, साथी बनाउँदा, गोप्य म्यासेज पठाउँदा तथा अन्य गतिविधि गर्दा प्रयोगकर्ताले नगद उपहार पाउनेछन् । कट्टेलका अनुसार प्रयोगकर्ताले खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्नेछन् ।

यसरी जम्मा भएको रकम निश्चित समयपछि सगुन इंकले आधिकारिकता प्रदान गरेका खुद्र बिक्रेतासँग सगुन सोसल स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिने छ । कार्ड प्रयोगकर्ताको प्रोफाइल सगुन एप्समा समावेश गरिएको हुने छ । कम्पनीले नगद रकम भने नदिने जनाएको छ ।

sagoon-site-layout-Final-1

सगुनले आगामी तीन महिनाभित्र साइटको अपग्रेडेड भर्सन सार्वजनिक गर्नुका साथै मोबाइल भर्सनमा समेत जाने जनाएको छ । ‘अन्य सोसियल साइटले हामीबाट कमाउने मात्र गरेका छन्, आम्दानी सेयर गर्ने गरेका छैनन्’ कट्टेलले भने- ‘हामी आम्दानीलाई प्रयोगकर्तासँग सेयर गर्न चाहान्छौं ।’

अहिले लाइभ च्याटिङ, अडियो भिडियो कल सुविधा नभएपनि अपकमिङ भर्सनमा त्यो सुविधासमेत उपलब्ध गराउँदै जाने सगुन इंकले जनाएको छ । आगामी ६ महिनाभित्रमा नेपालमा ५ लाख प्रयोगकर्ता बनाउने लक्ष्य सगुनको छ ।

यसअघि सगुनले सेक्रेट र ओकाइजन एप्लिकेशन सार्वजनिक गरिसकेको छ । जसमा प्रयोगकर्ताले तस्वीरमार्फत व्यक्तिगत क्षण एक अर्कामा साटासाट गर्न सक्छन् । अहिलेसम्म सगुनमा एक लाख १६ हजार प्रयोगकर्ता रजिष्ट्रर्ड भइसकेका छन् ।

सगुनका फेसबुक तथा ट्वीटरसँग केही फिचरहरु मिलेपनि यसमा आफ्नै किसिमका विशेषताहरु रहेको बताइएको छ । यसले फेसबुकले जस्तै प्रयोगकर्तालाई एकाग्र नबनाउने दाबी गरिएको छ ।

यसमा कसैबाट प्राप्त गरेको म्यासेज सजिलै डिलिट गर्न सकिने कट्टेलले जानकारी दिए । गोप्य सूचना आदान प्रदान गर्न पनि सगुन निकै भरपर्दो माध्यम हुने उनले बताए ।

सगुनले तीन महिनाभित्रमा आफ्नै ल्याब स्थापना गर्ने जनाएको छ । भारतमा आफ्नो छुट्टै कार्यालय खोल्न भारतकै अग्रणी प्राविधिक शिक्षालय इन्डियन इन्स्िटच्यूट अफ टेक्नोलोजीसँग सहकार्य गर्दैछ । सगुन इंकका अनुसार अहिले भारतमा दश जना दक्ष व्यक्तिले काम गरिरहेका छन् ।

सगुन इंकका संस्थापक गोविन्द गिरीले नेपाली जनता र सिंगो विश्वका लागि नयाँ प्रविधिको प्रयोग गर्ने अवसर दिन पाउँदा आफू निकै उत्साहित भएको बताए । फेसबुक, गुगल, ट्वीटरले जस्तै सगुनले पनि नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा रामारोशन गर्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment