Comments Add Comment

सामसुङका कर्मचारीको तलब वृद्धि रोक्का

samsung-2

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले यो वर्ष सन् २०१५ मा आफ्ना कर्मचारीको तलब नबढाउने घोषणा गरेको छ ।

वर्षेनी कर्मचारीको तलबमा वृद्धि गर्ने गरेको सामसुङले ६ वर्षमा पहिलोपटक तलब वृद्धि रोक्का गर्ने निर्णय गरेको हो । यसअघि सन् २००९ मा पनि सामसुङले आफ्ना कर्मचारीको ‘तलब पि|mज’ गरेको थियो ।

तलब वृद्धि रोक्का गर्ने पछिल्लो निर्णय दक्षिण कोरियाभित्र कार्यरत सामसुङका कर्मचारीहरुको हकमा मात्र लागु हुनेछ र सामसुङ कम्पनीको विश्वका अन्य देशमा कार्यरत कर्मचारीहरुको हकमा भने यो लागु नहुने बताइएको छ । कम्पनीका कार्यकारी तहमा रहेका उच्चपदस्थ कर्मचारीहरुको तलब वृद्धि रोकिसकेको सामसुङले देशभित्र कार्यरत सबै तहका कर्मचारीको समेत तलब भत्ता फ्रिज गर्ने निर्णय गरेको हो ।

बजारमा बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीको मुनाफामा गिरावट आएसँगै खर्च कटौतीको उपाय स्वरुप सामसुङले यस्तो कदम चालेको रोयटर्सले उल्लेख गरेको छ ।

जनवरीमा एप्पलले सार्वजनिक गरेको तथ्यांकले सन् २०११ यता पहिलोपटक कम्पनीको वाषिर्क मुनाफा घटेको देखाएको थियो । सामसुङले स्मार्टफोन बजारमा एप्पलका साथै चिनिया कम्पनी शाओमीसँग तिब्र प्रतिस्पर्धा गर्नु परिरहेको छ भने एप्पल र शाओमीले सामसुङको बजार खोसिरहेका छन् ।

आउँदो मार्च १ तारेखमा ग्यालेक्सी एस सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको सामसुङले उक्त नयाँ स्मार्टफोनले बजार तताउने र कम्पनीको नाफामा बढोत्तरी हुने अपेक्षा गरेको छ ।

कोरिया एडभान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक तथा लेखक चांग सि जिनका अनुसार तलब वृद्धि रोक्का गर्ने सामसुङको कदमले कर्मचारीहरुमा संकटको अनुभुति गराउनेछ । पछिल्ला वर्षहरुमा कम्पनीको उच्च नाफासँगै सामसुङका कर्मचारीहरुले उच्च तलब वृद्धि तथा बोनसको आनन्द लिइरहेका थिए ।

सामसुङका प्रवक्ताले तलब वृद्धि रोक्का गरिएको पुष्टि गरेपनि यसको कारण भने नखुलाएको रोयटर्सले जनाएको छ । सन् २०१३ को तथ्यांक अनुसार सामसुङ कम्पनीका दक्षिण कोरियामा मात्रै ९३ हजार ९२८ जना कर्मचारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment