अमेरिका । अमेरिकास्थित बौद्धिक संसार शैक्षिक प्रतिष्ठानले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नारी हित कल्याण कोषको स्थापना गर्ने निर्णय गरेको छ । महिला हक, हित र कल्याणका विविध क्षेत्रमा खर्च गर्न सके उनीहरूको जीवनस्तर वृद्धिमा सहयोग पुग्ने विश्वसका साथ कोषको स्थापना गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको तर्फबाट १०१ डलरबाट शुरू गरिएको कोषमा २० डलरदेखि पाँच सय डलरसम्म सहयोग प्रदान भएको छ । उक्त कोषमा आगामी मे महिनासम्म सहभागी हुन सकिने प्रतिष्ठानले जनाएको छ ।
विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूलाई एकै सूत्रमा बााधी शैक्षिक उत्थानमा शसक्त अभियानको थालनी गर्ने उद्देश्यका साथ स्थापना भएको प्रतिष्ठानले सन् २०१२ बाट संयुक्त राज्य अमेरिकाको लस एन्जलस क्षेत्रलाई आधार बनाएर पुस्तकालय व्यवस्थापन, छात्रवृति वितरण तथा नेपाली भाषामा छापा पत्रिका प्रकाशन गर्दै आएको छ ।
लस एन्जलस काउन्टी अन्तर्गत आर्टेशिया सामुदायिक पुस्तकालयसागको सहकार्यमा नेपाली भाषाका तथा नेपाल सम्बन्धी अंग्रेजी भाषाका पुस्तकहरू पुस्तकालयमा उपलब्ध गराएको नेपाली भाषामा समुदाय नामक नेपाली छापा मासिक पत्रिका विगत तीन वर्षदेखि निरन्तर रूपमा प्रकाशन गरी अमेरिकाका १८ वटा राज्यका सात सय ग्राहकहरूमा निःशुल्क वितरण गर्दै आएको प्रतिष्ठानले आगामी दुई महिना भित्रमा अन्य दुई स्थानमा पुस्तकालय विस्तार गर्ने जनाएको छ ।
यस्तै, प्रतिष्ठानले घर आँगन जेहनदार छात्रवृति कार्यक्रम अन्तर्गत संखुवासभाका तीनवटा विद्यालयहरूमा २२ जना विद्यार्थीहरूलाई छात्रवृद्धि उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4