Comments Add Comment

कमल थापाले राजतन्त्र छाड्ने, सूर्यबहादुरले धर्म सापेक्ष मान्ने ?

२७ फागुन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपतिसमशेर जबरा नेतृत्वको राप्रपावीच पार्टी एकताका लागि औपचारिक वार्ता सुरु भएको छ । तर, दुई पार्टीवीच राजतन्त्र र हिन्दु धर्मलाई हेर्नेबारे मतभेद रहेकाले पार्टी एकता निकै चुनौतीपूर्ण छ ।

तर, मालीगाउँमा हालै सम्पन्न सूर्यबहादुर थापा र कमल थापावीचको छलफलले पार्टी एकताको वातावरण बनाएको दाबी राप्रपा नेताहरुले गरेका छन् ।

राजनीतिक हिसाबमा कमल थापाले राजतन्त्र पुनःस्थापनाको एजेण्डा छाड्ने र सूर्यबहादुर थापाले धर्म सापेक्षता मान्ने सम्भावनालाई एकताको मुख्य आधार मानिएको छ ।

सुरुमा वार्ताको प्रस्ताव कमल थापा आफैंले बढाएका हुन् । थापाले राप्रपा अध्यक्ष पशुपतिसमशेर राणासँग भेटेपछि राणाले सूर्यबहादुरलाई भेट्न भनेका थिए ।

RPP and RPP NEPAL

सूत्रहरुका अनुसार भेटमा सूर्यबहादुर थापाले कमल थापालाई राजतन्त्रको नारा परित्याग गर्न भनेका छन् । ‘राजाले आफैं गणतन्त्रलाई स्वीकार गरेर नागार्जुन गएका हुन्, त्यसैले हामीले किन गणतन्त्रलाई आत्मसाथ नगर्ने ?’ सूर्यबहादुर थापाको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो ।

त्यसैगरी हिन्दु राष्ट्रको नारामा पनि राप्रपा नेता थापाले कमल थापासँग असहमति जनाएका छन् । हिन्दु राष्ट्रको मागले आदिवासी एवं जनजाति समुदायमा राप्रपाप्रति वितृष्णा बढ्ने सूर्यबहादुर थापाको विश्लेषण छ ।

स्रोतका अनुसार आफ्नै पार्टीभित्रका आदिवासी जनजाति समुदायको दबावका कारण राप्रपा अध्यक्ष पशुपतिसमशेरले समेत आफ्नो पार्टीबाट ‘हिन्दु राष्ट्र’ पारित गराउन सकेका छैनन् ।

तर, सूर्यबहादुर थापा र कमल थापावीचको छलफलपछि हिन्दु राष्ट्रको साटो ‘सर्वधर्म सापेक्ष राष्ट्र’ मा सहमति हुन सक्ने संकेत देखिएको स्रोतले बतायो । सर्वधर्म सापेक्षभन्दा हिन्दुका साथै किरात, मुस्लिमलगायत नेपालका अन्य जातजाति र समुदाय पनि समेटिने दाबी राप्रपा नेताहरुको छ ।

दुई पार्टीवीच मिल्न नसकेका विषयमध्ये अन्तरिम संविधान र गणतन्त्रमा टेकेर अघि बढ्ने कि ०४७ सालको संवैधानिक राजतन्त्रतात्मक व्यवस्थातिर फर्कने भन्नेमा राप्रपा र राप्रपा नेपालवीच वैचारिक भिन्नता छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजतन्त्र सहितको हिन्दु राष्ट्र भन्दै आएको छ भने राप्रपाको महाधिवेशनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल पारित गरेको छ । यसमा कमल थापाले राप्रपाको राजनीतिक नारामा आफूलाई अपग्रेड गर्नुपर्ने सूर्यबहादुर थापा पक्षको माग छ ।

विगतमा तत्कालीन राजा ज्ञानेन्द्रले ०४७ सालको संविधान मिचेका कारण राजतन्त्र अन्त्य भएको सूर्यबहादुरको बुझाइ छ । यसमा कमल थापाले पनि ज्ञानेन्द्रलाई साथ दिएका कारण ०४७ सालको संविधान बचाउन नसकिएको विश्लेषण राप्रपाका नेताले गरेका छन् ।

‘एकातिर कांग्रेस र एमालेले माओवादीसँग सम्झौता गर्दा ०४७ को संविधानको रक्षा गर्न सकेनन्’ राप्रपा नेताको भनाइ उधृत गर्दै स्रोतले भन्यो-‘अर्कातिर अर्कातिर कलम थापाले संविधान मिच्ने ज्ञानेन्द्रको कदमलाई सहयोग गरेर अर्को गल्ती गरे ।’

धर्मको होइन, विकासको नारा

राप्रपाका वरिष्ठ नेता सूर्यबहादुर थापाले कमल थापासँगको छलफलमा धर्मको साटो विकासको नारा लिएर वैकल्पिक शक्ति बनाउनुपर्ने बताएका छन् ।

‘देशमा गरीवी र भ्रष्टाचार बढेको छ, यस्तो बेलामा धर्मका नाममा राजनीति गरेर जनतालाई समेट्न सकिँदैन’ सूर्यबहादुर थापाको विश्लेषण छ, हामीले धर्मको होइन, विकासको नारालाई अगाडि सार्नुपर्छ ।’

कांग्रेस र कम्युनिष्टको विकल्प बनाउने सहमति

दुई थापावीचको भेटमा राप्रपालाई कांग्रेस र कम्युनिष्टको विकल्प बनाउने सहमति भएपछि दुई पार्टीवीच एकताको पहलले सार्थकता पाएको स्रोतले बतायो ।

‘नेपालमा तेस्रो वैकल्पिक कन्जरभेटिभ प्रजातान्त्रिक जनमत ठूलो छ, त्यसैले राप्रपालाई कांग्रेस र कम्युनिष्टको विकल्पमा तेस्रो लोकतान्त्रिक शक्ति बनाउन सकिन्छ’ स्रोतले भन्यो-‘यही आधारमा राप्रपा र राप्रपा नेपालवीच एकता हुन लागेको हो ।’

बुधबार दुई वार्ता टोलीबीच भएको छलफलमा बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि पार्टी एकता आवश्यक भएको निष्कर्ष निकालिएको छ ।

अब बन्ने एकीकृत पार्टीले राजतन्त्र पुनःस्थापनाको माग नगर्ने र लोकतान्त्रिक गणतन्त्रको प्रक्रियाभित्र रहेर आफूलाई अगाडि बढाउने राप्रपा नेताहरुले बताए ।

नेतृत्वमा को ?

स्रोतका अनुसार दुई पार्टीवीच एकता भएपछि कमल थापालाई एकीकृत पार्टीको नेतृत्व गर्ने अवसर प्राप्त हुने छन् । तर, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, डा. प्रकाशचन्द्र लोहनीजस्ता नेताहरुका अगाडि कमल थापाको पालो अलि पछि आउन सक्ने स्रोत बताउँछ ।

Kamal-thapa-And-Surya-Bdr-thapa

यस्तो अवस्थामा सुरुमा सूर्यबहादुर थापाले नै एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने र त्यसपछि कमल थापा आउने कतिपय नेता बताउँछन् ।

तर, राप्रपा नेपाललाई चौथो शक्ति बनाउन सफल भइसकेका कमल थापाको भविश्य पार्टी एकतापछि झनै सुरक्षित हुने विश्लेषण राप्रपा नेपालका नेताहरुको छ । ‘कमल थापाको उमेर पनि छ, उनी लगनशील पनि छन्, राप्रपा नेपालका एक नेताले भने, ‘त्यसैले पार्टी एकतापछि सबैलाई मिलाएर अघि बढेको खण्डमा कमल थापाको भविश्य झनै सुरक्षित हुनेछ ।’

लावती एक्लिने दाबी

यसैवीच कमल थापाले राजतन्त्र छाडेको भन्दै पदमसुन्दर लावती खेमाले राप्रपा नेपालको समानान्तर कमिटी बनाइसकेको छ । तर, कमल थापा र सूर्यबहादुर थापा मिलेपछि राजतन्त्रको माग गर्ने लावती समूह कमजोर बन्ने दाबी नेताहरुले गरेका छन् ।

यसवीचमा लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी, राजेश्वर देवकोटा र शपुपति समशेरलाई समेत मिलाएर नयाँ राजावादी शक्ति बनाउने लावतीको अभियान अहिलेसम्म सफल हुन सकेको छैन । स्रोत भन्छ-‘चन्द, लोहनी र राणा राजतन्त्र फर्काउने नारामा सहमत हुँदैनन् ।’

एकतामा अझै आशंका

दुई पार्टीवीच एकताको प्रयास सुरु भए पनि पूर्वपञ्चवीच जुँगाको लडाइँकै कारण एकता हुन गाह्रो रहेको बताउनेहरु पनि छन् ।

एजेन्डामा कुरा मिले पनि नयाँ पार्टीको अध्यक्षता कसले गर्ने भन्नेमा कुरा मिल्न कठिन रहेको विश्लेषण केही नेताहरुले गरेका छन् । यसअघि पनि पटक-पटक भएको एकता प्रयास असफल हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment