Comments Add Comment

राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा, बादल र देवकोटा हेटौंडामा

५ जेठ, हेटौंडा । बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा हुने मतदानको लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बिहीबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि तीनवटा बुथ राखिने भएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्नेछन् । यस्तै कोरोना भाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथ राखिनेछ ।

यस्तै निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीहरुको पनि अनिवार्य पीसीआर परीक्षण गरिएको श्रेष्ठले बताए ।

बादल र देवकोटा हेटौंडामा

बिहीबारको उपनिर्वाचनको लागि गृहमन्त्री रामबहादुर थापा बादल हेटौंडा आइपुगेका छन् । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि बिहीबार हेटौंडा–४ स्थित भुटनदेवी माविमा हुने मतदानअघि छलफलका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका बादल हेटौंडा आएका हुन् । बादल बुधबार दिउँसो १ बजे हेटौंडा आइपुगेका हुन् ।

अर्का उम्मेदवार डा. खिमलाल देवकोटा यसअघि नै हेटौंडा आइसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटा मंगलबारदेखि हेटौंडामै रहेर चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।

देवकोटालाई निर्वाचन आयोगले कलम चुनाव चिन्ह दिएको छ भने बादल सूर्य चिन्हबाट चुनाव लड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment