Comments Add Comment

सल्यानमा अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आशंका, लेखा समितिले माग्यो कागजात

५ जेठ, सुर्खेत । कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितताको आशंकामा जिल्ला अस्पताल सल्यानसँग खरिदसम्बन्धी कागजात माग गरेको छ ।

समितिका सचिव उपेन्द्रकुमार गुरुङका अनुसार ७ दिन भित्र खरिदसम्बन्धी कागजात समितिलाई उपलव्ध गराउन भनिएको छ । सामाजिक विकास मन्त्रालयले सल्यान अस्पतालका लागि अक्सिजन प्लान्ट राख्न विनियोजन गरेको बजेटबाट ठेकेदारले आफूखुसी अक्सिजन सिस्टम जेनेटर ल्याइदिएपछि खरिद प्रक्रियामा अनियमितताको आशंका गरिएको सचिव गुरुङले बताए । जसले गर्दा संसदीय समितिले समेत चासो देखाएको हो ।

सचिव गुरुङका अनुसार कोरोना महामारी रोकथाम तथा उपचारका लागि जिल्लामा विनियोजित बजेटको खर्च विवरण पनि मन्त्रालयसँग मागिएको छ । ‘समितीले मन्त्रालयसंग जिल्लामा विनियोजित बजेटको खर्च विवरण र सल्यान अस्पतालका लागि खरिद गरिएको अक्सिजन सिस्टम जेनेटर खरिद सम्बन्धीका कागजात ७ दिनभित्र सचिवालयलमा पठाउँन पत्र काटेका छौं,’ सचिव गुरुङले भने ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुसमा अक्सिजन प्लान्ट जडानको लागि ४० लाखको टेन्डर आह्वान गरेको थियो । प्रतिस्पर्धी ३ कम्पनीमध्ये सुर्खेतस्थित ड्रागन मेडिकलले ३८ लाख ९९ हजारमा उक्त मेसिन खरिदको जिम्मा पाएको थियो ।

जडानसहित ५१ लाख लागतमा बनेको भनिएको अक्सिजन सिस्टम जेनेटर भएको भन्दै चिकित्सकसहित केही अगुवाहरुले सामाजिक सञ्जालमा समेत चर्को विरोध गरेका थिए ।

मिडियामा आएका कुराहरुलाई नजिकबाट नियालिरहेको र आवश्यक छानविन गर्नुपर्ने देखेपछि ७ दिनभित्र कागजात पठाउन निर्देशन दिएको समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले बताए । ‘खरिदभित्रको वास्तविकता के हो भन्ने समितिले अध्ययन गर्नेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment