Comments Add Comment

फेरि सुरु भयो वायु सेवा निगममा राजनीतिक चलखेल

NAC

नविन अर्याल

२ चैत, काठमाडौं । विगत ०४६ सालको परिवर्तनसँगै नेपाल वायु सेवा निगममा (एनएसी) देखा परेको बेथिति, र राजनीतिक हस्तक्षेप पुनः यतिबेला कांग्रेस र एमालेको संयुक्त सरकारसँगै देखा परेको छ । सरकारले महाप्रवन्धक मदन खरेललाई राजीनामा दिन बाध्य बनाएर निगममा राजनीतिक हस्तक्षेप तीव्र पारेको छ ।

नेपाल वायुसेवा निगमको खस्कँदो व्यवसायिक छवि सुधार्ने भाषण निगमका प्रमुखदेखि मन्त्रीसम्म धेरैले गर्दै आए । तर, काम कसैबाट भएको देखिएन । कुनै समय एक दर्जन जहाजबाट हवाइ सेवा प्रदान गरेको निगम चारवटा जहाजमा खुम्चिसकेको थियो ।

झण्डै तीन दशकसम्म निगममा नयाँ जहाज ल्याउने आँट कसैको भएन । भएका जहाजहरु दुर्घटना तथा बिग्रिएर सकिन थालेपछि निगम ग्राउन्ड हृयान्डलिङको आयस्रोतबाट चल्न बाध्य भइसकेको थियो ।

मदन खरेलको सुधार प्रयास

यहीबेला २७ महिना अगाडि मदन खरेल व्यक्ति निगममा महाप्रबन्धकको जिम्मेवारी सम्हाल्न आइपुगे । उनले निगमको खस्कँदो व्यवसायिक साखलाई माथि उठाउने अभियान थालेका थिए । निगममा राम्रो काम गर्न खोज्दा पनि तलमाथि दुबैतिरबाट  असहयोग भएपछि उनले आइतबार राजीनामा दिएका छन् । तर, राजिनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएका छन् ।

मदन खरेल
मदन खरेल

खरेल महाप्रबन्धक भएपछि निगमको इतिहासमै सबैभन्दा बढी जहाजहरु खरिद गर्ने सम्झौताहरु सम्पन्न भए । चारवटा जहाजमा खुम्चिएको निगम केही महिनाभित्रै १२ वटा जहाजमा फड्को मार्दै छ । खरेलकै प्रयासमा निगमले २८ वर्षपछि नयाँ जहाज पाएको छ ।

चिनियाँ सरकारबाट अनुदानमा प्राप्त भएको ५६ सिट क्षमताको एमए ६० जहाजले अहिले आन्तरिक उडान गरिरहेको छ । त्यसलगत्तै अन्तर्राष्ट्रिय उडानका लागि ए ३२० मोडलको न्यारो बडी जहाज ल्याइएको छ ।

चीनले निगमलाई ५६ सीट र १९ सिटका गरी दुईवटा जहाज अनुदानमा दिन लागेको छ भने भने एउटा ५६ सिटको र ३ वटा १९ सिट क्षमताका जहाज सहुलियत ऋणमा उपलब्ध गराउन लागेको छ ।

अहिले अनुदानका जहाज आइसकेका छन् भने ऋण सहयोगका जहाजहरु आउने क्रममा छन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि एयर बससँग दुईवटा ए ३२० जहाज ल्याउने सम्झौता पनि खरेलको सक्रियतामा भएको थियो । जसमध्ये एउटा जहाज आएर दिल्लीमा व्यवसायीक उडान गरिरहेको छ भने अर्को जहाज डेढ/दुई महिनाभित्रमा आउँदैछ ।

महाप्रबन्धमा नियुक्त भएको छोटो अवधिमा खरेलले विगतमा गिरेको निगमको साख उठाउन महत्वपूर्ण कार्यसम्पादन गर्न सफल भएको देखिन्छ । निगममा जहाजको संख्या बढाएर व्यवसायिक साखलाई माथि उठाउन खरेल खरो निर्णय गर्दै अगाडि बढिरहेका थिए ।

खरेलकै कार्यकालमा लामो समयदेखि सञ्चालनमा नरहेका दुईवटा ट्वीनअटर जहाज मर्मत गरी सञ्चालनमा ल्याउने काम भयो ।

खरेलले विभिन्न तहमा कर्मचारी थप्ने काम गरे । निगमको इतिहासमै पहिलोपटक ८ र ९ तहका १९ जना विमान चालकलाई खुल्ला प्रतियोगिताबाट लिइएको छ । १५ जना विमान परिचारिका र २० जना परिचारक पनि उनकै अवधिमा स्थायीरुपमा नियुक्त भएका छन् ।

विगत १५ वर्षयता निगमको कर्मचारी सेवा विनियमावलीमा समसामयिक संशोधन भयो । आर्थिक विनियमावली र खरीद विनियमावली छुट्टाछुट्टै बनाउने प्रयास भए पनि सञ्चालक समितिमा विचाराधीन अवस्थामा छन् ।

खरेलकै कार्यकालमा निगमले एनसीएआर १४५ बमोजिम एमआरओको मान्यता पाएको छ । निगमका उडानहरुको नियमितता तथा तोकिएको समयमा उडान हुने आँकडामा पनि सुधार हुँदै गएको थियो ।

ग्राउन्ड हृयान्डलिङतर्फ स्तर उन्नतिका लागि अन्तरराष्ट्रिय प्रमाणपत्र लिने निर्णय गरी त्यसतर्फ काम अगाडि बढाइएको थियो ।

काम बोलीमा मात्र होइन व्यवहारमै उतार्न खरेलले दश वर्षे व्यवसायिक योजनासमेत तयार पारेका थिए । जुन योजना करिव ९/१० महिनादेखि मन्त्रालयमा स्वीकृतिको पर्खाइमा थियो ।

सन् २०१५ देखि लागू गर्ने भनिएको उक्त योजना अब अनिश्चितातर्फ धकेलिएको छ ।

यस्तो थियो १० वर्षे योजना

योजनामा दश वर्षभित्र निगममा अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा न्यारो बडी र ४ वटा वाइड बडी गरी ९ वटा पुर्‍याउने लक्ष्य राखिएको छ । त्यस्तै, आन्तरिक उडानका लागि ट्रंक रुटमा ४ वटा र स्टुल रुटमा १२ गरी १६ पुर्‍याइने उल्लेख छ । दश वर्षको अवधिमा अन्तर्राष्ट्रिय ९ र आन्तरिक १६ गरी २५ विमान पुर्‍याउने लक्ष्य राखिएको छ ।

निगमले १० वर्षे योजनामा अन्तर्राष्ट्रिय उडानतर्फ सन् २०१५ मा ५ लाख ७८ हजार यात्रुलाई सेवा प्रदान गरी १४ प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ ।

त्यस्तै, सन् २०२० मा ११ लाख ५८ हजारलाई सेवा प्रदान गरी बजार हिस्सा २३ पुर्‍याउने र २०२४ मा १५ लाख ४० हजार यात्रुलाई सेवा प्रदान गरी २७ प्रतिशत बजार हिस्सा पुर्‍याइने छ ।

सन् २०१५ अन्तर्राष्ट्रिय उडानबाट १३४ मिलियन अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य राखिएको छ भने २०२० सम्म आम्दानी बढाएर ३२३ मिलियन डलर र २०२४ मा ४२५ मिलियन डलर पुर्‍याउने लक्ष्य छ ।

दश वर्षे योजनामा आन्तरिक उडानतर्फ सन् २०१५ मा ५ लाख एक हजार यात्रुलाई सेवा प्रदान गरी २३ प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य थियो । त्यस्तै, २०२० सम्म ८ लाख ३९ हजारलाई सेवा प्रदान गर्ने र २०२४ सम्म त्यो संख्या बढाएर ९ लाख ४ हजार पुर्‍याउने लक्ष्य छ ।

सन् २०२४ सम्म आइपुग्दा आन्तरिक बजार हिस्सा ३० प्रतिशत पुर्‍याउने प्रक्षेपण  सो योजनामा गरिएको छ ।
आन्तरिक उडानबाट २०१५ मा २५ मिलियन डलर, २०२० सम्म ४१ मिलियन डलर र २०२४ सम्म ४५ मिलियन डलर आम्दानी गर्ने प्रक्षेपण निगमको छ ।

निगमले ग्राउन्ड हृयान्डलिङ सेवा, क्याटेरिङ, घरभाडा, इञ्जिनियरिङ सेवा लगायतबाट सन् २०१५ मा २६ विलियन डलर आम्दानी गर्ने लक्ष्य योजनामा राखेको छ ।

त्यस्तै, २०२० मा यो आम्दानी बढाएर ३० मिलियन डलर र २०२४ सम्म ३४ मिलियन डलर पुर्‍याउने प्रक्षेपण निगमको छ ।

यसरी निगमले दश वर्षे योजनामा सन् २०१५ मा १८५ मिलियन डलर कुल आम्दानी गर्ने, १७३ मिलियन डलर खर्च हुने र ११ मिलियन नाफा हुने प्रक्षेपण गरेको थियो ।

योजनाअनुसार काम भएमा सन् २०२० सम्म पुग्दा ३९४ मिलियन डलर आम्दानी भई ३२५ मिलियन डलर खर्च हुने र ३१ मिलियन डलर नाफा हुने छ ।

यो आम्दानी सन् २०२४ मा पुग्दा बढेर ५०४ मिलियन डलर पुग्ने छ । यसबाट ४४७ मिलियन डलर खर्च भई ५७ मिलियन डलर आम्दानी गर्ने लक्ष्य निगमको छ ।

किन छाडे खरेलले निगम ?

निगमको वित्तीय अवस्था सुधार्न दीर्घकालिन रणनीति बनाएका खरेललाई काम गर्न दिनप्रतिदिन अवरोध सिर्जना गर्न थालिएको निगम स्रोत बताउँछ ।

निगममा एमालेबाट कार्यकारी अध्यक्षमा नियुक्त भएर आएका शिवसरण न्यौपानेको रवैयाका कारण खरेल राजीनामा दिन बाध्य भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार न्यौपाने अध्यक्ष भएर आएदेखि नै खरेल निराश देखिन थालेका थिए । निगम सहजरुपमा काम गर्ने वातावरण नभएपछि संस्थामा बसिरहनुको औचित्य रहेन भन्दै खरेल बाहिरिएका छन् ।

दैनिक काम गर्ने शिलशिलामा निगम अध्यक्ष न्यौपाने, बोर्ड सञ्चालक समिति, इञ्जिनियरिङ विभागलगायत तलमाथिबाटै असहयोग भएको खरेलको भनाइ छ । १० वर्षे योजना मन्त्रालयबाट स्वीकृत नगरिएका कारण लक्षित समयदेखि लागू गर्न नपाउँदा केही दिनदेखि उनी तनाबमा थिए ।

बोर्डमा राखेका अन्य महत्वपूर्ण कामहरुको पनि तत्काल निर्णय हुँदैनथ्यो । त्यस्तै रेगुलर बिजेनेशका कामहरु पनि समयमा स्वीकृत नहुने गरेको बताइन्छ । त्यस्तै, अन्तर्राष्ट्रिय गन्तव्य बनाउन लागेको चीनको ग्वान्झाओ र दुबईमा एजेन्ट नियुक्त गर्ने कुरा पनि लामो समयदेखि बोर्डमा रोकिएको छ ।

निगममा उनी संस्थागत सुधारमा लागेका थिए । तर, निगमलाई सवल बनाउन अहिलेको संरचनालाई सुधार गर्न खोज्दा खरेललाई मन्त्रालयबाट समेत अवरोध आउने गरेको थियो । मन्त्रालय एमालेको नेतृत्वमा छ ।

यद्यपि खरेलले आफ्नो राजीनामा पत्रमा स्वास्थ्यमा केही समस्या आएको र चिकित्सकले स्ट्रेसमा काम गर्न नहुने सल्लाह दिएको उल्लेख गरेका छन् ।

सार्वजनिक संस्थान निर्देशन बोर्डको सिफारिसमा उनी २७ महिना अगाडि महाप्रबन्धकमा नियुक्त भएका थिए । उनको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्र लागू हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment