Comments Add Comment

लागूऔषधको अभियोगमा कुवेतमा नेपाली चेली पक्राउ

३ चैत, नवलपरासी । लागुऔषध कारोबारको अभियोगमा कुवेतको एक अदालतले घरेलु कामदारका रुपमा कार्यरत एक नेपाली चेलीलाई २५ बर्षको जेल सजायँ सुनाएको छ ।

Goma-Daraiनवलपरासीको कावासोती नगरपालिका-८ निवासी गोमा दराईलाई त्यहाँको अदालतले लामो जेल सजायँ सुनाएको हो । दराई गत बर्ष असोजमा घरेलु कामदारका रुपमा कुवेत गएकी हुन् ।

घर चलाउन गाह्रो भएको भन्दै उनी २ छोरा र २ छोरीलाई श्रीमानको जिम्मामा छोडेर कुवेत गएकी हुन् ।
घरेलु कामदारका रुपमा काम गर्दै आएकी गोमा कतार गएलगत्तै ४ महिनादेखि लागु औषध कारोबारको अभियोगमा जेलमा छिन् । उनी जेल परेको खबर गत आइतबार सार्वजनिक भएको हो । गोमा जेलमा परेको खबरले परिवारका सदस्य चिन्तित छन् ।

‘गाउँकै एक जनाले भनेपछि मात्रै हामीले थाहा पायौं,’ आमालाई उद्दारको पहल गरिदिन भन्दै सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोती आएकी गोमाकी छोरी आकृतिले भनिन्, ‘आजभोलि किन फोन गर्नुहुन्न भनेको त जेलमा पो हुनुहुँदो रै’छ ।’

उनले आमालाई २५ बर्ष जेल सजायँ सुनाइएको भन्दै छिटो उद्दारको पहल गरिदिन आग्रह गरिन् । ‘कुवेतको १ हजार बुझाए छुट्नुहुन्छ रे,’ आकृतिले भनिन् ।

पक्राउ परेकी गोमाले नवलपरासी रजहरका एक व्यक्तिमार्फत् घरमा पत्र पठाएकी थिइन् । सोही पत्रका आधारमा परिवारका सदस्यहरुले उनी जेलमा रहेको पत्तो पाएका हुन् ।

गोमाले फेब्रुअरी २ तारिखमा लेखेको दुई पेज लामो पत्रमा आफ्नी साथी मायाको भनेर दुईवटा नम्बर लेखेर त्यसैमा फोन गर्न भनेकी छन् । त्यही नम्बरमा फोन गरेपछि आमा जेलमा परेको खबर पाएको आकृतिले बताइन् ।

सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीले गोमाको अवस्था बुझ्ने काम भैरहेको बताएको छ ।

उनलाई विदेश पठाउने एजेन्ट र दूतावासमा सम्पर्क गरी यथार्थ पत्ता लगाउने र उद्दार गर्ने केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिइन् ।

गोमालाई विदेश पठाउने एजेन्ट लीला गुरुङले गोमा बसेको घरबाट आधा किलो ड्रग्स बरामद भएको जानकारी आफूले पाएको बताएका छन् ।

गुरुङका अनुसार बंगलादेशकी एक महिलाले गोमालाई धेरै पैसा दिने प्रलोभनमा ड्रग्स राख्न दिएकी थिइन् । ती बंगलादेशी महिलासँग गोमाको धेरैपटक फोन सम्पर्क भएको आधारमा विशेष प्रहरीले घरमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको गुरुङले बताए ।

गोमाले छोरीहरुलाई लेखेको पत्रमा आफू जेल परेको कुरा लेखेकी छैनन् । तर, आफूलाई फोनमा सम्पर्क गर्न भनेकी छिन् । फोन गरेपछि उनी जेल परेको थाहा पाएको परिवारका सदस्यले बताएका छन् । पत्रमा उनले छोरीहरु, पति, आमा, भाउजू र दाजुभाइलाई समेत सम्झेकी छिन् ।

गोमाले लेखेको पत्र यस्तो छ-

प्यारो छोरा, छोरीहरुमा शुभ आशिर्वादका साथै मुटुभरीको माया म पर्देसि आमाबाट ।

विशेषः आराम छु, आराम रहि, आरामको कामना गर्दछु । त्यहाँ सबै घरपरिवारमा पनि आरामको कामना गर्दछु । आज धेरै दिन र अनगन्ति समय पछि यि २/४ शब्द पत्रहरु लेख्ने मौका पाईरहेको छु । विछोडको व्यथाहरु समेटी ।

अनि छोराछोरीहरु खासै आज म कसरी भनौं-हेर मेरो अवस्थाहरु के गर्नु, हर सपनाहरु बाँकी छ, आज यहाँसम्म आइपुगे आफ्नै घर परिवारको लागि भनि तर, दैव संयोजकको परिस्थितिले गर्दा धेरै असम्भवमा छु । आज त्यही कारणले तिमीहरुसँग कन्ट्याक्ट हुन असफल छु । तिमीहरुको फोन नम्बर केही याद छैन । तिमीहरुको मायामा दिनरात छट्पटाइ निसासिएर बितेको छ ।

तिमीहरुसँग भेट्ने अनि बोल्ने कति चाहाना छ, तर कुन आधारले सुरुवात गरुँ यि अधुरा गोरेटोलाई । बस… । अब यहि एक आसा गरि छ कि, जसरी भए पनि तिमीहरुले यो पत्र पाउँछौं भन्ने ।

छोराछोरीहरु हो अरु त म सबै भन्न सक्दिन बस् यो नम्बरमा कल गर जसरी भए पनि भेट हुनेछ । तिमीहरुसँगै सबै कुरा गरौंला खास के हो मलाई वास्तविक अवस्था । यो नम्बर मेरो साथी मायाको हो ।
अनि यत्रो महिना आमाको केही खबर छैन भनेर दुःखमन नगर, के गर्नु छोराछोरीहरु हो आफूले आफैंलाई समाल्ने सोच अनि उद्देश्य गर । म तिमीहरुको आमा जहाँ भएपनि आर्शिवाद अनि माया सँधै गरिरहने छु ।

बाबालाई सम्झाउ जे जस्तो भएपनि । अनि तिमीहरुलाई जन्मदेखि हुर्काएथें तर, कर्म दिने अवस्थामा यो हाल छ । केही छैन केहि दिन धैर्य गरेर बसिदेउ, एकदिन फर्कने छु आफ्नै भूमि अनि तिमीहरुको प्राणमा ।

ल त अरु के लेखौं आजलाई यति नै । चलिरहेको कलमलाई बन्द गर्छु, भूल भए क्षमा प्राप्तिसँगै समालि पढ्नुहोला ।

फेरि भेटौंला ।
उही परदेशी आमा
गोमा दराई

गोमाले छोरा छोरीलाई सम्वोधन गरी पत्र लेखिसकेपछि पुनः आमालाई सम्वोधन गरी पत्र लेखेकी छन् । तर उनले पत्रमा लेखेका फोन नम्बर भने यहाँ उल्लेख गरिएको छैन ।

हेर्नुहोस् गोमाको पत्र-

Goma-Letter-1Goma-Letter-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
विनोद घिमिरे

ट्रेन्डिङ

Advertisment