पुष्प दुलाल
५ चैत, काठमाडौं । दश वर्षअघि सेयरमा लगानी गर्नेहरुको संख्या अत्यन्त्यै कम थियो । त्यसो त सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने कम्पनीहरु पनि तीन दर्जनको हाराहारी मात्रै थिए । अहिले जलविद्युत आयोजनाहरुमा समेत सेयर लगानी गर्नेहरुको भीड लाग्न थालेको छ ।
एउटा जमाना थियो, घडेरीमा लगानी गर्नेहरुको । टाठाबाठाहरुले आफ्नो लगानी घडेरीतर्फ लगाएर करोडौं कमाए । परिणामस्वरुप घरजग्गाको भाउ अस्वभाविकरुपमा आकासियो । तर, पाँच वर्षदेखि घरजग्गा कारोबारमा एकाएक मन्दी आएको छ । जग्गामा लगानी गर्ने कतिपय व्यापारीहरु फसेका छन् ।
पछिल्लो समय सेयरमा लगानी गरेर सम्पत्ति बढाउन सकिन्छ भन्नेहरुको संख्या बढेको छ ।
जसले सेयर बजारको महत्व बुझेर लगानी गरेका छन्, उनीहरुले मनग्ये कमाएका पनि छन् । उनीहरुका लागि सेयरको लगानी सुनको अण्डा पार्ने कुखुरामा गरिएको लगानीजस्तै भएको छ ।
पछिल्लो समय सेयरमा सर्वसाधारणको आकर्षण अत्यधीक बढेको छ । केही समय अघि बरुण हाइड्रोले सर्वसाधारणका लागि चार करोड रुपैयाँको सेयर निष्काशन गरेकोमा सय गुणा बढी अर्थात ४ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो ।
त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले ९० लाख रुपैयाँको साधारण सेयर माग गरेकोमा ३ सय २७ गुणा बढी अर्थात ३ अर्ब रुपैयाँको आवेदन परेको छ ।
चिलिमेको लगानी, सुनको अण्डा !
सेयरमा लगानी गर्दा कसरी र कस्तो प्रतिफल पाइन्छ ? यसबारे धेरैमा कौतुहल छ । सेयर लगानीबारे ‘केस स्टडी’का रुपमा चर्चित जलविद्युत आयोजना चिलिमेलाई लिन सकिन्छ । चिलिमे राम्रो प्रतिफल दिने विद्युत आयोजना हो ।
सन् १९९५ मा स्थापना भएको चिलिमे आयोजनामा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर लगानी छ । सर्वसाधारणको लगानीमध्ये स्थानीयको १० प्रतिशत इक्विटी सेयर लगानी पनि छ । चिलिमेको यो मोडल धेरै जलविद्युत आयोजनाहरुले पछ्याइरहेका छन् ।
दश वर्षअघि चिलिमे जलविद्युत आयोजनामा एक लाख रुपैयाँ सेयर लगानी गर्ने लगानीकर्ताले हालसम्म ३५ लाख २६ हजार रुपैयाँ प्रतिफल हात पारेका छन् ।
त्यसबेला सय रुपैयाँ दरका एक हजार कित्ता सेयर किन्ने लगानीकर्तासँग अहिले १९ सय ७३ कित्ता सेयर छ ।
अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चिलिमेको प्रतिकित्ता सेयर १६ सय रुपैयाँमा बिक्री भइरहेको छ । जसअनुसार १९ सय ७३ कित्ता सेयर ३१ लाख ५६ हजार ७ सय रुपैयाँमा बेच्न सकिन्छ ।
गत साउनमा चिलिमेको सेयर २९ सय रूपैयाँसम्म पुगेको थियो । त्यसबेला सेयर बिक्री गर्नेहरुले करिब ६० लाख रुपैयाँ हात पारे ।
अन्य आयोजनाहरु निर्माण गर्ने भएपछि पुँजी वृद्धि गर्न पछिल्ला चार वर्ष चिलिमेले सेयरधनीलाई आकर्षक बोनस सेयर वितरण गर्यो । कम्पनीले एक लाख रुपैयाँ लगानी गर्ने सेयरधनीलाई न्यूनतम १ सय ५६ कित्तादेखि अधिकतम २ सय ६० कित्तासम्म बोनस सेयर दिएको छ । जसअनुसार दश वर्षअघि एक लाख रुपैयाँ लगानी गर्ने लगानीकर्ताले हालसम्म ९ सय ७३ कित्ता सेयर बोनस पाएका छन् ।
त्यसैगरी, यस अवधिमा चिलिमेमा एक लाख रुपैयाँ लगानी गर्ने लगानीकर्ताले ३ लाख ६९ हजार ५ सय २० रुपैयाँ नगद लाभांश पाएका छन् । कम्पनीमा एक लाख रुपैयाँ लगानी गर्ने सेयरधनीले न्यूनतम २० हजारदेखि अधिकतम ६० हजार रुपैयाँसम्म नगद लाभांश पाएका छन् । चिलिमेले लगानीकर्तालाई १० वर्षमा तीन गुणाभन्दा बढी त नगद लाभांश नै वितरण गरेको छ ।
यदि कुनै लगानीकर्ताले नगद लाभांश बापतको रकम अन्य कम्पनीमा वा चिलिमेकै सेयरमा लगानी गर्यो भने त्यहाँबाट पनि लाखौं रुपैयाँ कमाउन सफल भएको छ ।
तर, १० वर्षको अवधिमा कम्पनीले सेयरधनीलाई दिएको नगद लाभांश र बोनस सेयरमात्रै पनि लगानीको भन्दा ३५ गुणा बढी छ । यस्तो प्रतिफल सायदै अन्य क्षेत्रमा होला ।
सन् २००३ को अगष्ट २५ मा चिलिमेबाट उत्पादित २२.१ मेगावाट विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।
चिलिमेले तीनवटा सहायक कम्पनी स्थापना गरी तीन आयोजनामा हात बढाएको छ । २ सय ७० मेगावाट उत्पादन क्षमताका ती आयोजनाहरु निर्माणको चरणमै छन् । १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्य भोटेकोशी र ५७ मेगावाटको साञ्जेन आयोजना निर्माणाधीन अवस्थामा छन् ।
चिलिमेको यो तथ्यांकले सेयरको लगानी सुनको फुल पार्ने कुखुराजस्तै भएको पुष्टि गर्छ । सेयरमा गरिएको सानो लगानी दीर्घकालमा पुँजीको रुपमा विकास भएको यो एउटा गतिलो मात्रै हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत दुई सय बढी कम्पनीमध्ये एक सय कम्पनीले राम्रो प्रतिफल दिइरहेका छन् ।
तामाकोशीको पर्खाइ
यसैवीच ४५६ मेघावाटको माथिल्लो तामाकोशीले कर्मचारीका लागि निष्काशन गरेको सेयरमा पनि उस्तै आकर्षण देखियो । अहिले धेरै सर्वसाधारणले सेयरको महत्वका बारेमा बुझेका छन् । त्यसैले, माथिल्लो तामाकोशीले सर्वसाधारणका लागि कहिले सेयर निष्काशन गर्ला भनेर कुरेर बसेका छन् ।
हाइड्रोमा आकर्षण किन ?
जलविद्युत आयोजनाहरुको नाफा सुनिश्चित छ । सरकारले विषेश सहुलियतको घोषणा गरेकाले अन्य क्षेत्रको तुलनामा जलविद्युत क्षेत्रको नाफा उल्लेख्य छ ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हरेक वर्ष आम्दानीको ३० प्रतिशत कर सरकारलाई बुझाउनुपर्छ । तर, सरकारले जल विद्युत आयोजनालाई १० वर्षसम्म पूरै र थप पाँच वर्ष आयकरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
त्यसैगरी जलविद्युत उत्पादन गर्ने सरकाले स्वदेशी प्रवर्द्धकहरुलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ छुट दिने घोषणासमेत गरिसकेको छ । त्यसैले यो क्षेत्रमा प्रवर्धकदेखि सर्वसाधारण लगानीकर्ताहरुको आकर्षण बढ्दो छ ।
विद्युत आयोजनामा गरिएको लगानी सुरक्षित हुने र विद्युत उत्पादन हुन थालेपछि निरन्तर आम्दानी नहुने भएकाले यस्ता आयोजनामा सेयर हाल्नेहरुको आकर्षण बढेको हो । यस्ता आयोजनाहरु निर्माण सम्पन्न भइसकेपछि राम्रो नाफा आर्जन गर्न सम्भव हुने गरेको छ ।
सेयरमा आकर्षण : ९० लाखको आइपिओमा ३ अर्बको आवेदन
तामाकोशीको सेयरमा कर्मचारीको अधिक आकर्षण
बैदेशिक रोजगारीमा हुनुहुन्छ ? ‘रेमिट हाइड्रो’मा लगानी गर्नुहोस्
प्रतिक्रिया 4