Comments Add Comment

एमालेका अञ्चल इन्चार्जमा विवाद (प्रस्तावको सूची सहित)

९ चैत, काठमाडौं । महासचिव इश्वर पोखरेलले पेश गरेको कार्य बिभाजन प्रस्तावलाई माधव नेपाल पक्षले अस्वीकार गरेपछि एमाले स्थायी कमिटीको सोमबारको बैठकले नेताहरुको कार्य बिभाजन गर्न सकेन ।

UML-Meetingसचिवालय बैठकमै असहमति जनाएका उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईलाई नेपाल पक्षधर अन्य पदाधिकारीले पनि साथ दिएपछि निर्णय हुन नसकेको स्रोतले जनाएको छ ।

कार्य बिभाजन प्रस्ताव एकपक्षीय भएको भन्दै नेपाल पक्षधर पदाधिकारीहरुले नमान्ने बताएपछि अध्यक्ष केपी ओलीले महासचिव पोखरेलसँग पुनः छलफल गरेर मंगलबारको बैठकबाट टुंगो लगाउने निर्णय सुनाएका छन् ।

नेपाल पक्षले कार्य बिभाजनको समग्र प्रस्तावकै विरोध गरेको छ । तर संस्थापन पक्षले भने कुन ठाउँमा मिलेन त्यस विषयमा मात्र छलफल गरौं भन्ने प्रस्ताव राखेको छ ।

‘कहाँ कहाँ मिलेन, त्यो ठाउँ र व्यक्तिका बारेमा महासचिवसँग पुनः छलफल गरेर पुनर्विचार हुने ठाउँमा पुनर्विचार गर्न अध्यक्षले निर्देशन दिनुभएको छ,’ स्थायी समिति सदस्य किरण गुरुङले भने, ‘मंगलवारको बैठकबाट केन्द्रीय कमिटीका सबैको जिम्मेवारी तोकिन्छ ।’

नेपाल पक्षले सबैभन्दा आपत्ति अन्चल इन्चार्जहरुको प्रस्तावमा जनाएको छ । महासचिव पोखरेलले एकपक्षीय रुपमा इन्चार्जको प्रस्ताव राखेको आरोप नेपाल पक्षको छ ।

अन्चल इन्चार्जमा को-को ?

महासचिव पोख्रेलले प्रस्तावमा मेचीमा हिक्मत कार्की, कोशीमा बिजय सुब्बा, सगरमाथामा रामपि्रत पासवान, जनकपुरमा योगनारायण यादव र बागमतिमा शेरबहादुर तामाङलाई इन्चार्ज बनाउने प्रस्ताव छ ।

त्यस्तै उपत्यकामा सानु श्रेष्ठ, गण्डकीमा मायानाथ अधिकारी, नारायणीमा काशिनाथ अधिकारी, धौलागिरीमा गणेश तिमल्सिना, लुम्विनीमा रामनाथ ढकाललाई प्रस्ताव गरिएको छ ।

राप्तीमा भागवत विश्वासी, भेरीमा यमलाल कँडेल, कर्णालीमा गोरखबहादुर बोगटी, सेतीमा कर्णबहादुर थापा र महाकालीमा गणेश ठगुन्नालाई अन्चल इन्चार्ज प्रस्ताव गरिएको छ ।

प्रस्तावित १५ मध्ये बागमतिका शेरबहादुर तामाङमात्र नेपाल पक्षका मानिन्छन् । यो प्रस्तावलाई नेपाल पक्षले ठाडै अस्वीकार गरेको छ ।

महासचिव पोखरेलले भने अन्चल इन्चार्जहरुमा पनि मधेसी तथा जनजाति नेताहरुको समावेसी नेतृत्व बनाउन र आवश्यकताका आधारमा प्रस्तावित गरिएको बताएका छन् ।
प्रस्तावित १५ इन्चार्जमध्ये तीनजना जनजाति, दुई मधेसी र एक दलित छन् । त्यस्तै महासचिव पोखरेलले केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई जिम्मेवारी तोकेर प्रस्ताव गरेका छन् ।

सचिवहरुमध्ये पृथ्वीसुब्बा गुरुङलाई संगठन, प्रदीप ज्ञवालीलाई सचिवालय, योगेश भट्टराईलाई प्रचार, भीम आचार्यलाई राजकीय मामिला र गोकर्ण विष्टलाई मोर्चा संगठन प्रमुख जिम्मेवारी दिने प्रस्ताव महासचिव पोखरेलले गरेका छन् ।

एमालेमा महासचिव सांगठनिक पद भएकाले नेता कार्यकर्ताको कार्य बिभाजनको जिम्मा विधानले महासचिवलाई दिएको छ ।

यो समाचार पनि पढ्नुहोस्-

एमाले सचिवालयमा कार्यविभाजनबारे विवाद चर्कियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment