Comments Add Comment

महानगरको लेटरप्याडमा क्यानडामा म्यानपावर सप्लाइ

Kathmandu-Metropolition-Cit१० चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको कर्मचारीका नाममा गैरकर्मचारीसमेत सरकारी प्रतिनिधि बनेर क्यानडा गएका छन् ।

महानगरपालिकाका कार्यकारी प्रमुख पूर्णभक्त तण्डुकारले घटनाको छानविन गर्ने भन्दै कर्मचारी संगठनका प्रतिनिधिहरुलाई यो विषय सार्वजनिक नगर्न दबाव दिएका छन् । तर, कर्मचारीहरु भने आन्दोलनको तयारीमा जुटेका छन् ।

महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध बिभागका प्रमुख नूरनिधी न्यौपानेले ६ जना व्यक्तिलाई महानगरको लेडरप्याडमा कर्मचारीकारुपमा सिफारिस गरी क्यानाडाको भिसा लगाएका हुन् ।

न्यौपानेले उनीहरुलाई क्यानाडा पुर्‍याई उतै छाडेर पैसा असुल्न लागेको आरोप ट्रेड युनियनका पदाधिकारीहरुले लगाएका छन् ।

यही मार्च १६ देखि १८ सम्म क्यानाडाको एडमोन्टन शहरमा आयोजना हुने भनिएको वेष्ट म्यानेजमेन्ट एक्सिलेन्ट सेन्टरको कार्यक्रमका लागि भनेर महानगरपालिकाका पाँच कर्मचारी विदा स्वीकृतसमेत नगरी चैत २ गते क्यानाडा उडिसकेका छन् ।

यो टोलीमा महानगरकै पूर्वकर्मचारी शंकर कँडेलसहित अन्य ५ जना बाहृय व्यक्तिलाई महानगरको कर्मचारी बनाएर क्यानाडा लगिएको आरोप युनियनका नेताहरुले लगाएका छन् ।

कर्मचारी संगठनको आपत्ति

‘महानगरपालिकालाई मेनपावर एजेन्सी बनाइएको विषयलाई हामी त्यतिकै छाड्दैनौं, यो विषय मन्त्रालयसम्म पुगिसकेको छ’ एक कर्मचारी संगठनका पदाधिकारीले भने ‘बिगतमा पनि मन्त्रीका भाइलाई महानगरको कर्मचारी बनाएर अमेरिका लगेर छाडिएको थियो ।’

यो विषयलाई लिएर कर्मचारी संगठनका नेताहरुले कार्यकारी अधिकृत तण्डुकारलाई भेटेर ध्यानाकर्षण गराएका छन् । तण्डुकारले यसबारे छानविन गर्ने कर्मचारीलाई आश्वासन दिएका छन् ।

नूरनिधी न्यौपानेसहित वातावरण व्यवस्थापन विभागका प्रमुख ज्ञानेन्द्र कार्की र वातावरण महाशाखाका प्रमुख हरिवहादुर कुँवर पनि सोही कार्यक्रमका लागि भनेर क्यानाडा उडेका छन् ।

उनीहरुले विदा स्वीकृतिका लागि कार्यकारी अधिकृतलाई निवेदन दिए पनि मन्त्रालयबाट स्वीकृत नभएको महानगर स्रोतले जनाएको छ । मन्त्रालयबाट विदा स्वीकृत भएपछि मात्रै विदेश भ्रमण गर्न पाउने व्यवस्था छ ।

त्यस्तै सोही टोलीमा क्यानाडा उडेका नगर प्रहरी निरीक्षक राजु पाण्डे र वडा नम्बर ६ का प्राबिधिक कर्मचारी निर्मल भट्टराईले घरविदा स्वीकृत गराएर विदेश भ्रमणमा गएका छन् ।

अन्तर्राष्ट्रिय विभागका प्रमुख न्यौपानेले कार्यक्रमको निम्ता व्यक्तिगत रुपमै मगाएर महानगरको साधन स्रोत र पहुँच दुरुपयोग गरेको विषयलाई समेत कर्मचारी युनियनले गम्भीरतापूर्वक उठाएका छन् ।

‘महानगरलाई आउने निम्ता व्यक्तिगत बनाउने, गैरकर्मचारीलाई पैसा लिएर महानगरको लेटरप्याड दुरुपयोग गरी कर्मचारी बनाएर लैजाने कुरा सैहृय छैन’ युनियनहरुले कार्यकारी अधिकृतलाई घेराउ गर्दै भनेका छन् ।

उनीहरुले महानगरको लेटरप्याडबाट क्यानाडा पुगेकाहरुको छानविन गरि दोषीमाथि कारवाही गर्न माग गरेका छन् । उनीहरुले तत्कालै छानविन नभए आन्दोलन घोषणा गर्ने चेतावनी दिइसकेका छन् ।
महानगरपालिकामा क्रियाशील कर्मचारी संगठनहरुमध्ये कांग्रेस सम्बद्ध युनियन मौन बसेको छ भने एमाले र एमाओवादी सम्बद्ध युनियनहरुले आन्दोलन घोषणा गर्न लागेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment