+
+

फुङलिङ जल्दा म्याङलुङलाई पोल्यो

१० चैत, तेह्रथुम । आगोले पोल्दा कति दुख्छ भन्ने पीडा शायद जल्नेहरुलाई नै थाहा हुन्छ । त्यसैले होला ताप्लेजुङको सदरमुकाम फुङलिङमा आगलागी भएको सुन्नासाथ तेह्रथुमको सदरमुकाम म्याङलुङका जनताले स्वतस्फूर्त रुपमा राहत संकलन गर्न थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १० गते १९:३२

Terhathum-Rahat

  • ताप्लेजुङका अग्नि पीडितका लागि राहत संकलन गर्दै तेह्रथुमका बासिन्दा

१० चैत, काठमाडौं । आगोले पोल्दा कति दुख्छ भन्ने पीडा  शायद जल्नेहरुलाई नै थाहा हुन्छ । त्यसैले होला ताप्लेजुङको सदरमुकाम फुङलिङमा आगलागी भएको सुन्नासाथ तेह्रथुम सदरमुकाम म्याङलुङका जनताले स्वतस्फूर्त रुपमा राहत संकलन गर्न थालेका छन् ।

त्यसो त म्याङ्गलुङ्गमा ०५९ साल मंसिर २२ गते भीषण आगलागी हुँदा फुङलिङले पनि यसैगरी सहयोग संकलन गरेर पठाएको थियो ।

आगोले पोल्दा कस्तो पीडा हुन्छ भन्ने थाहा पाएरै होला म्याङलुङबासीहरु सहयोगको हात अघि बढाउन सबैभन्दा बढी अग्रसर भएका छन् ।

नेपालको सुदूरपूर्वका जनतामा प्रकोपको खबर सुने पनि राजधानी र अन्य जिल्लाका बासिन्दाहरुलाई म्याङलुङवासीमा जस्तो तातो लागिसकेको छैन ।

तेह्रथुम जिल्लास्थित दैवी प्रकोप उद्दार समिति, तेह्रथुम उद्योग वाणिज्य संघ, स्थानीय शान्ति समिति र नेपाल पत्रकार महासंघले संयुक्तरुपमा राहत संकलन सुरु गरेका हुन् । मंगलबार सदरमुकाम म्याङलुङमा राहत संकलन सुरु गरेको दैवी प्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

Taplajung (2)

म्याङलुङमा पनि दमकलकै चिन्ता

छिमेकी जिल्ला ताप्लेजुङ्गमा आगलागी हुँदा त्यतिका धेरै धनजनको क्षति भएको भन्दै यस्तो हुन नदिन म्याङलुङ्ग बजारका टोलटोलमा पुगेर प्रजिअ ढकालले आगोबाट बच्न आग्रह गरेका छन् ।

पटक-पटक आगलागीको पीडा भोगिरहेका तेह्रथुमे जनता समेत दमकल नहुँदा ताप्लेजुङमा आएको विपत्ति फेरि तेह्रथुममा पनि नआउँला भनेर ढुक्क हुन सकेका छैनन् स्थानीयवासीहरु ।

म्याङलुङमा विभिन्न समयमा भएको आगलागीले क्षतविक्षत भएको पीडा नसकिँदै ताप्लेजुङ्गमा भएको आगलागीले जिल्लाबासी उद्योगी व्यवसायी झस्किएकोे उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्लेले बताए ।

आगो निभाउन पर्याप्त पानी र दमकल नभएर त्यतिका क्षति भए पनि अझैसम्म पानी र दमकलको व्यवस्था गरिएको छैन ।

Taplejung6

त्राषदिपूर्ण कालो रात

सोमबार राति ६:४० बजे एउटा होटलबाट सल्किएको आगो १० बजेमात्रै नियन्त्रणमा आएको थियो । जिल्लामा दमकल नभएकाले स्थानीयवासी र सुरक्षाकर्मीले केहीे घरहरु भत्काएर क्षति कम गर्ने प्रयास गरेका थिए ।

आगलागीबाट घर बास खरानी भएपछि सदरमुकामका करिब १२० परिवारको बिचल्ली भएको छ । मंगलबार दिउँसो कतिपय पीडितहरु आफ्नो घर रहेको ठाउँमा खरानी उधिनीरहेका थिए भने कोही टोलाइरहेका देखिन्थे । (आगलागीपछिको दृश्य यहाँ हेर्नुहोस्)

जिल्लामा यसअघि नै आगलागीबारे सतर्कता अपनाउने र दमकलको व्यवस्था गर्ने भनिए पनि सरकारी पक्षबाट गैरजिम्मेवारी प्रकट गरिँदा क्षति बढी भएको गुनासो स्थानीयको छ । (थप समाचार र तस्वीरका लागि यहाँ क्लिक गर्नुहोस्)

Taplejung

  • गृहमन्त्री गौतम फुङलिङ पुगेका बेला भेला भएका अग्निपीडित

राहत एवं थातबासको प्रयास

आगलागीमा घर र सम्पत्ति गुमाएपछि सहाराविहीन भएकाहरुलाई मंगलबार पाथीभरादेवी मन्दिर संरक्षण तथा सम्वर्द्धन समित र वाणिज्य महासंघको पहलमा राहत बाँडिएको छ ।

(यो पनि पढ्नुहोस् : पीडितहरू जिविस, उद्योग वाणिज्य संघ र सामुदायिक भवनमा)

महासंघको पहलमा भएको राहात वितरण कार्यक्रमा मंगलबार १ सय ३० परिवारलाई चामल, दाल, नुन, तेल, पानीलगायत खाद्य पदार्थ संकलन गरेर बाँडिएको छ । ताप्लेजुङ रेडक्रसले कम्मल, पाल भाँडाकुँडा बाल्टिन लगायतका समानहरु बाँडेको छ ।

सामान चोरिएको गुनासो

यसैवीच पीडितहरुले आगलागीको भएको समयमा पसलहरुबाट सामान निकाल्ने क्रममा चोरी भएको गुनासो गरेका छन् ।

समानहरु सुरक्षित स्थानमा लाने भन्दै खराब नियतका मानिसले चोरेर लैजाँदा पीडितलाई पीडामाथि पीडा थप्ने कार्य भएको अध्यक्ष घिमिरेले गुनासो गरे ।

ताप्लेजुङको आगलागीमा प्रारम्भिक अनुमानअनुसार करीब ५० करोड क्षति भएको छ । ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेका अनुसार  क्षति यो भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्रीले दु:ख व्यक्त गरे

यसैवीच प्रधानमन्त्री सुशील कोइरालाले अग्निपीडितहरुप्रति वक्तव्यमार्फत् सहानुभूति प्रकट गरेका छन् । प्रधानमन्त्रीले पीडितलाई शीघ्र राहत प्रदान गर्न निर्देशनसमेत दिएका छन् ।

Bamdev-Gautam-at-Taplejung

  • ताप्लेजुङमा आगोले पुर्‍याएको क्षति अवलोकन गर्दै गृहमन्त्री वामदेव गौतम

उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले मंगलबार फुङलिङमा पुगेर घटनास्थलको निरीक्षण गर्नुका साथै पीडितहरुका गुनासो सुनेका छन् ।

मन्त्री गौतमले राहत प्रदान गर्न कुनै कसर बाँकी नराखिने साथै पीडितलाई सहुलियत दरमा ऋण दिने, सरकारले घर बनाइदिने लगायतका आश्वासन दिएका छन् ।

उता राष्ट्रिय मानव अधिकार आयोगले पनि विज्ञप्ति जारी गर्दै पीडितलाई चाँडो राहतको व्यवस्था गर्न आग्रह गरेको छ ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि वक्तव्य जारी गरेर दुःख व्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले पनि पीडितप्रति सहानुभूति जनाएका छन् ।

– रविन भट्टराई, ताप्लेजुङ/प्रकाश धौलाकोटी, तेह्रथुम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?