+
+

माथिल्लो कर्णाली र अरुण तेस्रोले भारतसँग सम्बन्ध राम्रो बनायोः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते १६:३२

Indian-Foregin-Secretary_Dr-S-Jaishankar२० चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले माथिल्लो कर्णाली र अरुण तेस्रोले भारतसँग सम्बन्ध राम्रो बनाएको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव सुब्रहृमण्डम जयशंकरसँग शुक्रबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कोइरालाले विद्युत आयोजनाले भारतसँगको सम्बन्ध राम्रो बनाएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अवसरमा आरम्भ भएका विद्युत व्यापार संझौता र माथिल्लो कर्णाली तथा अरुण तेस्रो आयोजनाका परियोजना विकास संझौता निर्धारित समयमा सम्पन्न भएपछि दुई देशको सम्बन्ध अझ सुमधुर बनेको उनले बताए ।

भेटमा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबलम्बन गरेको ‘नेबरहुड फस्र्ट नीति’ को सराहना पनि गरेका थिए । उनले नेपाल र भारतबीच युगौं पुरानो ऐतिहासिक, सांस्कृतिक आत्मीय, मित्रवत र अनुपम सम्बन्धको चर्चा गर्दै नेपालका लागि भारत सबैभन्दा निकटको असल मित्र रहेको उल्लेख गरे ।

उनले भारतले नेपालको आर्थिक र सामाजिक रुपान्तरणको लागि उदारतापूर्वक गरेको सहयोगको पनि प्रशंसा गरे ।भेटमा नेपाल भारतको ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहयोग, आर्थिक-सामाजिक विकास, क्षेत्रीय र विश्व मामिलाका सम्बन्धमा कुराकानी भएका थियो ।

भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलन र यसले लिएको शान्ति र समृद्धिका लागि गहन सम्मिलन भन्ने नाराले क्षेत्रीय विकासको चाहनालाई संबोधन गरेको पनि उल्लेख गरे ।

प्रधानमन्त्री कोइरालाले यस क्षेत्र र विश्वमा नै भारतको गतिशील नेतृत्व हुनेमा आशावादी रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा हुने भारतको उमेदवारीलाई नेपालले समर्थन गर्ने प्रतिवद्धता जनाए ।

भेटमा भारतीय विदेश सचिव एस.जयशंकरले दुई देशबीच विद्युतको समन्वयात्मक विकास गर्नुपर्नेमा जोड दिए ।दक्षिण एशियाली क्षेत्र सबैभन्दा कम कनेक्ट भएको उल्लेख गर्दै यस क्षेत्रका अधिकांश मुलुकहरु विद्युत अभाव भोगिरहेको र विद्युतको समन्वयात्मक ढंगले विकास गरेमा अभाव पूर्ति गरी सबै मुलुकको विकास समान ढंगले अगाडि बढ्ने मार्ग खुला हुने पनि उनले बताए ।

प्रधानमन्त्रीसँगको भेटका क्रममा विदेश सचिव एस.जयशंकरले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नेपालले नयाँ संविधान पाउनेमा आफू आशावादी रहेको बताए ।

भारतीय विदेश सचिव जयशंकरले शुक्रवार नै राष्ट्रपति डा.रामवरण यादवसँग पनि भेट गरेका थिए । दुई दिने नेपाल भ्रमणका लागि विहीबार काठमाडौ आएका उनी शुक्रवार नै स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?