+
+

चैतभित्र सहमति नभए प्रक्रियाको विकल्प छैन : नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २७ गते १८:४९

२७ चैत, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दलहरूबीच यही चैत ३० गतेभित्रमा सहमति नभएमा प्रक्रियाबाट संविधान बनाउनुको विकल्प नहुने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

अबका दुई तीन दिन भित्रमा संविधानका विवादित विषयमा वा प्रक्रियाका लागि दलहरूबीच सहमति नभए संविधानसभाको नियमअनुसार प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

कोइराला सेवा समाज नेपालद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष नेम्वाङले सहमतिको लागि धेरै समय पर्खेर बस्न नसकिने बताए । दलहरु सहमतिमा पुग्न नचाहेको भन्दै उनले सबै मिलेर दबाब सिर्जना गर्नुपर्ने धारणा राखे ।

नेम्वाङले भने, ‘मुलुकको अहिलेको मूल अभियान भनेको संविधान निर्माण गर्नु हो, त्यसैले जतिसक्दो चाँडो संविधान जारी गर्न नागरिक समाज, वौद्धिक वर्गलगायत सबैले राजनीतिक दलका शीर्ष नेतालाई सकारात्मक दबाब दिनु आवश्यक छ ।’

कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उपे्रतीले संविधान निर्माणमा मात्र लामो समय लगाउँदा विकासका अन्य काम ओझेलमा परेको बताए । सहमतिको आधारमा जतिसक्दो चाँडो संविधान जारी गर्न उनले दलहरूलाई आग्रह गरे ।

कार्यक्रममा यस वर्षको ‘डिठ्ठा कुलप्रसाद कोइराला राष्ट्रिय पुरस्कार-२०७१’ भुवनेश्वर नमुना वृद्ध सेवाश्रम सर्लाहीलाई प्रदान गरियो । समाजले प्रदान गरेको २५ हजार राशिको पुरस्कार सेवाश्रमका संरक्षक वासुदेवशरण कोइरालालाई प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?