३ वैशाख, काठमाडौं । दिल्लीमा उपचारका क्रममा निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर बिहीबार साँझ नेपाल ल्याइएको छ ।
राप्रपाका वरिष्ठ नेता समेत रहेका थापाको पार्थिव शरीर अहिले मालिगाउँस्थित निवासमा राखिएको छ । बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा ८८ वर्षको उमेरमा निधन भएको थियो ।
थापाको पार्थिव शरीरलाई बिहीबार साँझ भारतीय वायु सेवाको विमानबाट काठमाडौं ल्याइएको हो । लगतै नेपाली सेनाको ट्रकमा राखेर मालिगाउँस्थित निवासमा लगिएको छ ।
राप्रपा केन्द्रीय कार्यसमितिको बिहीबार बिहान बसेको बैठकले थापाको पार्थिव शरीरलाई विहीबार मालीगाउँस्थित निवासमै राख्ने निर्णय गरेको छ । शुक्रबार १० देखि १२ बजेसम्म पार्टी कार्यालय चावहिल र त्यसपछि दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।
दिवङ्गत थापाको सम्झनामा पार्टीले १३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ ।
सरकारले सरकारले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा शुक्रबार एक दिन सार्बजनिक विदा दिने निर्णय गरेको छ ।
थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ । त्यसैगरी एक दिन आधा झण्डा झुकाउने र स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरुमा एक दिन विदा दिने बैठकले निर्णय गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया 4