Comments Add Comment

‘अमेरिकी धन्दा’ गर्ने गिरोहलाई राजनीतिक संरक्षण ?

७ वैशाख, काठमाडौं । सहकारी तथा हस्तकला मेलामा सहभागी गराउने नाममा अमेरिका लैजाने भनी करीव दुई दर्जन युवायुवतीलाई डेढ करोडभन्दा बढी ठग्ने गिरोह राजनीतिक संरक्षणमा रहेको पाइएको छ ।

ठगी गरेको आरोप लागेका फरार अभियुक्त तुलसादेवी रिमाल, डीबी तामाङलगायतको मुद्दा कमजोर बनाउन प्रहरीलाई विभिन्न च्यानलबाट दबाव दिएपछि उनीहरु राजनीतिक संरक्षणमा रहेको प्रहरी स्रोतले जनाएको छ ।

तुलसादेवी रिमाल र डिबी तामाङ

  • सुशीलादेवी रिमाल र डिबी तामाङ

अर्थमन्त्रीलगायत भीआइपीलाई संरक्षक राखेर अमेरिकामा मान्छे लैजाने धन्दा गर्ने रिमाल गिरोहको धन्दाबारे अनलाइनखबरले खुलासा गरेपछि महानगरीय अपराध महाशाखाले रिमालकी बुहारी तथा महिला विकास सहकारीकी कोषाध्यक्ष सुशीला तिमल्सिना रिमाललाई पक्राउ गरेको थियो ।

(यो पनि पढ्नुहोस् : माया र विष्णु भन्छन्-अमेरिका लान्छु भन्दै दलालले डुबाए)

महिला विकास सहकारीबाट अमेरिका लैजाने भनी ठगिएकी माया लामालगायतका केही व्यक्तिलाई पैसा फिर्ता गर्न दिइएको चेक बाउन्स भएकाले सो चेक सहकारी बैंक ललितपुरमा रहेको आधारमा अपराध महाशाखाले सुशीलालाई ललितपुर परिसरमा पठाएको थियो ।

सुशीलालाई यसबीचमा तीनपटक म्याद थप गरेर अनुसन्धान भइरहेको र मुद्दा तयार गरी सरकारी वकिललाई बुझाउने अन्तिम चरणमा रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता किसनजंग थापाले बताए ।

‘चेक बाउन्सको मुद्दा भएकाले ललितपुरमा पठाइएको छ, हामीले समग्र ठगीको पनि अनुसन्धान गरिरहेका छौं, कुन मुद्दा चलाउने भन्ने सरकारी वकिलले निर्णय गर्ने हो’ डीएसपी थापाले अनलाइनखबरसँग भने ।

रिमाल गिरोहबाट ठडिएकामध्ये माया लामा र विष्णुमाया गुरुङले प्रहरीमा उजुरी दिएका छन् । अरु पीडितहरु प्रहरी सम्पर्कमा रहे पनि पैसा फिर्ता पाइने लोभले मुद्दा मामिलामा आउन सकेका छैनन् ।

तुलसाले सहकारी विकास वैंकका कुलचन्द्र अधिकारीमार्फत पैसा लिएर पीडितहरुलाई दिन्छु भनेकाले उनीहरु माया र बिष्णु मायाले जसरी जाहेरी दिन हच्किएका छन् ।

तर, सहकारी बैंकका लेखा समिति प्रमुख अधिकारीले भने आफूले रिमालको ठगी प्रकरणबारे बुझिसकेकाले पैसा दिने सम्बन्धमा आश्वासन नदिएको बताए ।

नुवाकोटको देवीघाटमा रहेको महिला विकास सहकारीकी अध्यक्ष रहेकी तुलसा रिमालको गिरोहले अमेरिकामा सहकारी तथा हस्तकला सामाग्री प्रदर्शनी मेलामा लैजाने र उतै भाग्न नपाउने भन्दै थुपै युवायुवती र सहकारी संस्थाहरुबाट करीव डेढ करोड संकलन गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

तुलसाको समूहले यसअघि एकपटक यस्तै मेलाका नाममा केही व्यक्तिलाई अमेरिका लगेर छाडेको समेत अनुसन्धानका क्रममा खुलेको छ । त्यसबेला अर्थमन्त्री रामशरण महतको सहयोगमा अमेरिकाका लैजान सफल भए पनि यसपटक शुरुमै कुरा चुहिएकाले आफू असफल भएको फरार अभियुक्त रिमालले अनलाइनखबरलाई बताइन् ।

यसैबीच प्रहरीले ठगी गिरोहको अनुसन्धानका क्रममा तुलसा रिमालको काठमाडौं जितपुरफेदीस्थित घर घानतलासी गरेको छ । प्रहरी पुग्नुअघि नै परिवारका सदस्य सबै फरार भएकाले प्रहरी टोलीले स्थानीयको रोहबरमा ताला फोडेर केही कागजपत्र नियन्त्रणमा लिएको छ ।

महिला विकास सहकारी नुवाकोटमा रहेका, ठगी र पैसा लेनदेन काठमाडौंमा भएको र चेक बाउन्स ललितपूरको भएकाले यो प्रकरणमा अनुसन्धान गर्न अप्ठेरो परेको प्रहरीले जनाएको छ ।

विभिन्न ठाउँका प्रहरी कार्यालयहरुमा लेखापढी गरेर फरार अभियुक्त पक्राउका लागि पत्राचार गरिएको डीएसपी थापाले बताए । अमेरिका जाने नाममा पैसा बुझाएका र ठगिएकाहरुलाई तत्काल प्रहरी सम्पर्कमा आउन समेत प्रहरीले सूचित गरेको छ ।

रिमाल गिरोहले अमेरिकाको न्यूयोर्कमा सरकारी सहभागितामै मेला हुने भन्दै धादिङ, चितवन, नुवाकोट लगायतका जिल्लाका सहकारी संस्थाहरुबाट समेत पैसा संकलन गरेको पाइएको छ ।

बुहारी सुशीलालाई हिरासतमा पठाएर फरार बनेकी सासू तुलसा रिमाल प्रहरीको पहुँचमा नपुगे पनि राजनीतिक पहुँचमा रहेकी छन् । उनीसँग अनलाइनखबरले सम्पर्क गर्दा आफू फरार नरहेको र सुरक्षाका लागि सुरक्षित ठाउँमा बसेको बताइन् ।

तुलासको पक्षबाट केही राजनीतिक नेता र बिचौलीयाहरुलाई आफूलाई धम्की तथा प्रलोभन दिइरहेको पीडित माया लामाले बताइन् । ‘तुलसा दिदीलाई तिमीहरुले केही गर्न सक्दैनौं, उहाँ मन्त्रीको घरमा हुनुहुन्छ भनेर आएका थिए,’ मायाले भनिन् ‘उनीहरुले मिल्न दबाव दिइरहेका छन् ।’

यो समाचार पनि पढ्नुहोस्
अमेरिका लैजाने ठगको सूचीमा राष्ट्रपति कार्यालयको नाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment