Comments Add Comment

कहिले आउला त्यो दिन ?

-शैलेश भट्टराई

राति सपनामा मेरा स्वर्गवासी हजुरबा आउनुभो, मेरो बैठक कोठा पूरापुर नियालेर हेरिसकेपछि रिसाउँदै भन्नुभो, ‘थुक्क बजिया ! अनेकका विदेशी नेताहरूको फोटो टाँस्याछस्, नेपाली नेताको फोटो चाहिं किन नराख्या ?’
‘एकजना नेपाली नेताको फोटो पनि ल्याएर राख्र’ आदेश दिएर उहाँ अलप हुनुभो ।

मेरो घरको त्यो बैठक कोठाको भित्तोमा वास्तवमै नेपाली नेताको कुनै फोटो थिएन । लेनिन, स्टालिन, माओ, मण्डेला, महात्मा गान्धी, सुवासचन्द्र बोस, सुकार्नो, सुकी, सन यात्सेन, लुथर, लिंकन, ली क्वान यू, ह्युगो चाभेज, पार्क चुङ् ही, किम इल सुङ्… …आदि आदि । तर सबै विदेशी नेता मात्रै । राख्दिन भनेर नराखेको होइन । भएछ नै त्यस्तै । राजनीति बाहेक अरु क्षेत्रका दिग्गज नेपालीका तस्वीर भने थिए ।

Sailesh-Bhattaraiधेरै नसोंचिकन धेरै नखोजिकन बहालवाला प्रधानमन्त्री सुशील कोइरालाको टाँस्दिने निधो गरें । यो ऊ भन्नु भएको थिएन हजुरबाले । खाली एकजना नेपाली नेता मात्र भन्नु भाको थियो । सम्मानित, इमान्दार, सादगी, अविवाहित, क्यान्सरलाई पनि क्वाप्प खाएका, छ-छ करोड हराएर पनि नडराएका यस्ता थुप्रै गुण उहाँमा विद्यमान छन् । त्यसैले उहाँको ठूलो तस्वीर ल्याएर झुन्ड्याएँ ।

शायद तीन दिन पछि होला मेरा केही टोले साथीहरु मेरो घरमा आए । सीधै बैठक कोठामा लगें । साथीहरूको आँखा त शुरूमा त्यही फोटोमा परेछ । ‘तपाइँ त हाम्रै साथी भनेको त उतातिरको पो हुनुहुँदो रहेछ !’ एकजना साथीले प्वाक्क मुख फोरिहाले । अर्काले हो मा हो मिलाए । अनि अरूले पनि । तर म न ‘उतातिर’को न ‘यतातिर’ को थिएँ । उनीहरू बहुदल आएदेखि नै नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।

त्यही रात सपनामा फेरि हजुरबा आउनुभो । एक डोको फोटाहरू बोकेर आउनुभो । एक-एक गर्दै देखाउँदै जानुभो-
‘ला यो विहे नगरेको मान्छेको फोटो’
‘यो विहे पनि नगरेको ब्रम्हचार्य पनि पालन गरेको मान्छेको फोटो’
‘यो इमान्दार मान्छेको फोटो’
‘यो निजि स्वार्थ केही नभएको मान्छेको फोटो’
‘यी हेर यो निजी सम्पति केही नभएको सर्बहारा सुकुम्बासी मान्छेको फोटो’
‘छ करोड होइन साठी करोड गुमाएको मान्छेको फोटो हो यो चाहिं’

‘अनि यो चाहिं लसुन, प्याज, माछा, मासु, जाँड, रक्सी, पान, विंडी, सुपाडी केही पनि नखाने सुपर सादगी मान्छेको फोटो’

एउटा अर्को ख्याउटे मान्छेको फोटो देखाउँदै भन्नुभो-‘यो चाहिं मर्‍यो भनेर घाट पुर्‍याएर दागवत्ती दिन ठिक्क पारेर पनि बाँचेको मान्छेको फोटो’

यस्तै यस्ता फोटा कति हो कति देखाए बूढाले ।

तीनै फोटा देखाउँदै हप्काउन थाले, ‘तँलाइ त्यस्तै मान्छेका फोटा चाहिया भए टाँस यी जम्मै टाँस ।’
झल्याँस्स् व्यूँझें ।

हजुरबाको आशय बुझेपछि त्यो तस्वीर निकाल्नै पर्ने भो ।

अब कसको टाँस्ने होला भनेर गम्न थालें । गम्दा गम्दै दिमागमा प्रचण्ड आए । ०६२/६३ को आन्दोलनको ब्याट्री, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताका जनक, सबैतिर ठिक्क हुन सक्ने विलक्षण क्षमताका धनी प्रचण्डकै फोटो टाँस्नु पर्ला भन्ने लाग्यो । मन उहाँको जस्तै दोधारमै थियो । तैपनि तस्वीर ल्याएर बैठक कोठामा झुण्ड्याएँ । करीब एक हप्ता पछि होला सपनामा हजुरबा आउनुभो । बुढाले पनि ठूलो तस्वीर बोकेर ल्याएका रहेछन् ।

मैले सोधें, ‘कसको तस्वीर हजुरबा त्यो ? मैले त अर्को फोटो टाँसिसकें । पहिल्यै हजूरले त्यो तस्वीर ल्याएर दिनुभएको भए म त्यहीं टाँस्थें नि ।’

मैले यति भन्न नपाउँदै बुढा कडि्कए-

‘ला त्यो झिक यो झुन्ड्या’ भनेर आफूले ल्याएको तस्वीर पो दिए । यसो हेर्छु त छेपारोको तस्वीर पो छ । मतलब यो पनि मनपरेन बुढालाई ।

बिहान उठेर सोंच्न थालें- ‘हैन मैले नेता छान्नै जानिन कि क्या हो ।’ आफैंप्रति शंका गरें । अब कसको तस्वीर राख्ने ? म असमञ्जस्यमा परें ।

यसो सोचें माधवकुमार नेपाल पो ठीक हुन्छन् कि जस्तो लाग्यो । सफ्ट, समन्वयवादी, बाह्रबुँदे सम्झौता अर्थात् नेपालको शान्ति प्रक्रियाका एक सुत्रधार, देशलाई आवश्यकता परेको बेलामा कठोर नभई जति पनि लचक हुने गजबको बानी, दिन्न र हुन्न कमैलाई भन्ने, साथीभाइहरूको सल्लाहलाई सर्वोपरी मान्ने, द्वीपक्षीय द्वन्द्वबाट लाभ लिन सक्ने यस्ता धेरै गुणहरू भेटाएँ । भोलिपल्टै ठूलो साइजको तस्वीर ल्याएर मार्क्स र लेनिनको बीचमा पारेर झुन्ड्याउनलाई किला ठोक्दै थिएँ मार्क्स र लेनिनका दुवै तस्वीर भुईंमा झरेर झर्‍यापझिरिप भए । नरमाइलो लाग्यो । त्यसपछि छुट्टै अकैैर्र्ति लगेर झुन्ड्याएँ ।

यसको तीन-चार दिन पछि होला मेरो घरमा मामा माइजूहरू आउनुभो । दुबैजना ०४६ साल अघिदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय । अरू सबै कुरा बेसै भएपनि त्यो फोटो टाँसेको देखेर मसंग उत्पात रिसाउनु भयो । मामा माइजूको मन दुखाई दुखाई के यो फोटो राख्नु जस्तो लाग्यो । आखिर त्यो निर्जीव फोटो भन्दा त मेरा मामा माइजु नै प्यारा हुन् नि । त्यो फोटो झिकेर राखें अनि मामालाई सोधें, ‘मामा अब कसको राखौं त यहाँ ?’ बिना दुविधा बिना संकोच गर्वकासाथ मामाले मखलेल हुँदै भन्नुभो, ‘केपी ओलीको नि भानिज ।’

मामाले थप्नु भो, ‘उहाँ जत्तिको नेता त भूतो न भविष्यति । एकजना उहाँ नजन्मिएको भए मुलुक उहिल्यै हिंडिसक्थ्यो ।’
अझ उत्साहित हुँदै मामाले भन्नुभो, ‘बरू मै मगाइदिन्छु आकर्षक फोटो ।’

‘हुन्छ मामा’ मैले उहाँको प्रस्ताव सहर्ष स्वीकार गरें ।

तुरुन्तै कता कता फोन लाउनु भो । एक घण्टा भित्रमा त केपी ओलीको पूर्ण कदको काइदाको फोटो मेरो बैठक कोठामा हाजिर । शायद यति राम्रो र आकर्षक तस्वीर बालकोट बंगलाको बैठक कोठाको बरोबर देखाइने त्यो दृश्यमा पनि छैन । मामा माइजू दुबै खुश । दिवंगत हजुरबाको कचकचबाट मुक्त हुने आशले म पनि खुश ।

त्यो रात हजुरबा फेरि सपनामा आउनुभो । दायाँ बायाँ अघि पछि बलिया-बलिया, अग्ला-अग्ला, खाइलाग्दा ज्यांगा मान्छे लिएर पो आउनुभो । बुढाले आउने बित्तिकै सोधे, ‘क्यामेरा छ ?’

मैले भने, ‘छ ।’

‘ल यी सबै भाइहरूको सिंगल सिंगल पूर्णकदको फोटो खिच् ।’

‘पहिला भ्यागुतेको खिच्’

‘त्यसपछि लूतेको, त्यसपछि हाँडीको, त्यसपछि झिंगेको, भँगेरेको, शंखेको, लोखर्केको ….’

ओहो नाम पनि के के हो के के । मलाई त्यसै त्यसै झोंक चलेर आयो र भन्दिएँ, ‘आ आ आ सक्दिन म त हजुरबा ! किन खिच्ने यिनको फोटो बेकारमा ?’

यति मात्रै के भनेको थिएँ एउटाले ‘के भनिस् अरे !’ भन्दै मेरो कठालो च्याप्प समातेर दुई मुक्का दिहाल्यो ।

त्यसपछि ‘हुन्छ हजुरबा’ हुन्छ भन्दै क्यामेरा ल्याएर जम्मैको पूर्ण कदको सिंगल सिंगल फोटो खिचिदिएँ ।

‘अब तैंले यी जम्मैको ठूलो ठूलो आकर्षक फोटो बनाउने ।’

हजुरबा भन्दै जानु भो, ‘त्यसपछि त्यो भित्तामा अहिले भएको फोटो संगसँगै यीनको फोटो पनि त्यहाँ टाँस्ने, त्यो तस्वीर एक्लै सुहाउँदैन । साथी चाहिन्छ साथी ।’

‘यिनको चाहिं किन टाँस्ने नि हजुरबा ? टाँस्दिन म त ।’ मैले जिद्दी गरें ।
‘साथी चाहिन्छ भनेको सुनिनस्,’ भन्दै अर्कोले छातीमा दुई लात्ती बजायो ।

म त कराउँदै ब्युँझेंछु । ब्युँझनासाथ एक गिलास पानी स्वाट्ट पारें । जीऊ पसीनाले निथ्रुक्कै भएछ । डरले थरथर काँपिरहेको रहेछु ।

व्यूँझेपछि थाहा पाएँ बुढालाई यो पनि मन परेनछ ।

फेरि अर्को फोटो खोज्ने चटारो आइलाग्यो । ए.. ए.. बुढाले आफू जस्तै स्वर्गबासी नेता खोज्या होलान् । मलाई नयाँ तत्वज्ञान प्राप्त भए झैं भो ।

मेरो नातिले यी तपाईंको फोटो टाँगेको छ भनेर स्वर्गमा उनैसंग सम्बन्ध बढाउने बिचार पो गरे कि बुढाले । सरासर वीपी कोईरालाको तस्वीर ल्याएर झुन्ड्याएँ । अनि सुतें । आज त बुढा दंग पर्छन् होला भन्दै सुतें । निन्द्रा लाग्न पनि कति गाह्रो भयो भने त्यो रात । बल्ल बल्ल निन्द्रा लाग्यो । आज त अर्कै सपना पो देखियो । मतलब आजको सपनामा बुढा आउँदै आएनन् । हिजो बेकार रिसाएँछु जस्तो लाग्यो । बेचैनी बढेर गयो ।

शनिवारको दिन भएकोले दिउँसो एकछिन सुत्ने बिचार गरें । तै बुढा दिउँसै भएपनि सपनामा आइहाल्छन् कि ! मलाई आफ्नो काम देखाउनु थियो । अहँ दिउँसो पनि आएनन् । बरू निद्राबाट ब्युँझेपछि विपनामा मेरा बुवाका केही साथीहरू आउनु भो । घरमा वी.पी.कोईरालाको तस्वीर देखेर सबै साथीहरू बुवाको अनुहारमा ट्वाँ परेर हेर्न थाले । ‘पार्टी परिवर्तनको गन्ध पो आयो त !’ एकजनाले त मुखै फोरे । ‘पुष्पलालको पो राख्नु पर्छ हामीले,’ अर्काले उपदेश दिए ।

बुवाले राखेको त होइन मैले राखेको तर अर्ती उपदेश बुवाले खानु भो । बुवाका साथीहरु गैसकेपछि बुवाले नै वीपीको त्यो तस्वीर निकालेर मलाई दिँदै भन्नु भो, ‘ला अन्तै लगेर राख ।’

त्यही दिन बेलुका हजुरबुवा फेरि सपनामा आउनु भो । बैठक कोठाको भित्ता हेर्नुभो । नेपाली नेताको तस्वीर नै थिएन । बुढा रिसाए । हजुरबा कसको तस्वीर टाँसौं त भन्नुस् न ! यति सोध्नासाथ मेरो अढाई बर्षको छोराको अकस्मातको रूवाईले मेरो निद्रा भंग भो । बुढाले भन्थे होला यसको टाँस् भनेर तर के गर्नु ब्युँझिहालियो !

गणेशमान सिंहको टाँसे । तर, टाँस्ने वित्तिकै सम्झिएँ कि प्रजातन्त्र प्राप्तिको लागि उहाँले नेतृत्व गरेको आन्दोलन भन्दा उत्पात ठूलो आन्दोलन अर्थात् । लोकतन्त्र प्राप्तिको आन्दोलन त गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भैसक्यो । कहाँ प्रजातन्त्र कहाँ लोकतन्त्र । अंग्रेजीमा एउटै भए पनि नेपालीमा निकै फरक छ । यसलाई सरकारले नै पुष्टि गरिसकेको छ फागुन ७ र बैशाख ११ भनेर । त्यसैले गिरिजाप्रसाद कोइरालाको तस्वीर टाँसें ।

बेलुका सपनामा बूढा राता राता आँखा पार्दै कुटौंला जस्तो अनुहार पार्दै आए । तर, आउना साथ लेक्चर पो शुरू गरे- ‘पञ्चायत ढलेपछि सबैभन्दा धेरै समय कार्यकारी पदमा बस्ने उहाँ नै हो । किशुनजीले नेपाललाई सिंगापुर बनाउँछु भनेका थिए तर उनी कार्यकारी पदमा धेरै बस्नै पाएनन् ।’ गिरिजाको तस्वीर देखाउँदै हजुरबाले फेरि थप्नुभो, ‘यिनले नेपाललाई सिंगापुर बनाउँछु त भनेनन् तर चाहेका भए त्यो भन्दा राम्रो बनाउन सक्थे ।’

बूढाको लेक्चर जारी नै छ-‘२०६२/६३ को आन्दोलन पनि आफैंले कुरो बिगारेर गर्नु परेको । संसदीय व्यवस्थालाई विकृत, बिसंगत र बद्नाम बनाएर गए …।’ यस्तै खाले कुरा विपना मै सुन्दा सुन्दा वाक्क भइसकेको थिएँ ।

‘शान्ति ल्याउन त वहाँकै भूमिका हैन र हजुरबा ?’

मैले यति के सोध्या थिएँ बुढा झोंक्किए, ‘चुप लाग् बजिया ! आफैले धपाए आफैंले ल्याए के अनौठो गरे ? त्यसैले तीनको तस्वीर उतार् ! नत्र ….’

के गर्नु उतारें अब नत्र पितृ रिसाउलान् भन्ने डर ।

फोटो चक्करले पनि हैरानी दियो । यसको राख नाति भन्दिए पनि त हुन्थ्यो नि बुढाले ! भन्दैनन् । खाली सपनामा आउँछन् । सताउँछन् मात्रै । के गर्ने होला अब भनेर सोच्दा सोच्दै एउटा अर्को सोच आयो । जिन्दगीको अधिकांश समय पञ्च भएका मेरा हजुरबा जीवनको उत्तरार्धमा खै किन हो एमाले हुनु भएको थियो । तर, एमाले हुनुको मजै नलिईकन उहाँ दिवंगत हुनु भयो । एमाले भएपछि मनमोहन अधिकारीलाई खूब मन पराउनु हुन्थ्यो । यही कुरा सम्झेर मनमोहन अधिकारीको भव्य तस्वीर ल्याएर टाँसे । त्यो दिन बोझ अलिक हल्का भए झैं भयो ।

सदा झैं यो रात पनि सपनीमा हजुरबा आउनु भो । बुढा खुशी हुँदै आउलान् भन्ने कत्रो अपेक्षा थियो तर गजधुम्म परेर पो आउनुभो । आउनासाथ प्रश्न सोध्नुभो, ‘कसको फोटो यो ?’

‘लौ अचम्म ! मनमोहन अधिकारीलाई चिन्नु हुन्न ?’

मैले उल्टै प्रतिप्रश्न गरें ।

‘धेरै बाठो नहो न चिन्छु । मजाले चिन्छु । त्यसैले पहिला यो फोटो निकाल अनि मात्रै तँसंग कुरा गर्छु ।’ यति भनेर बुढा अलप ।

म फेरि असफल ।

लौ त भनेर भोलिपल्ट निकाल्दिएँ ।

अर्को सपनामा फेरि आए ।

मनमोहनको कुरा कोट्याएर मैले भनें –

‘उहाँको ९ महिने शासनलाई अझै पनि जनताले सम्भिmने हुनाले उहाँको फोटो राखेको थिएँ । बेकारमा निकाल्न लाउनु भो ।’
‘त्यो ९ महिने शासनलाई नै सम्झिने हो भने त झन् राख्न हुन्न उनको ।’

हजुरबाको यो भनाइले म त अचम्ममा परें ।

तर बुढाले स्पष्टीकरण दिंदै भने, ‘त्यही ९ महिने सरकारको कारण हो भने माधव नेपालको पो टाँस्नु पर्छ । इतिहास बुझ्नु छैन । मनमोहन त आलंकारिक मात्र थिए । हर्ताकर्ता त सबै माधव नेपाल थिए ।’

त्यसो भए फेरि माधव नेपालकै टाँस्नु पर्ला । उहाँको फोटो दोस्रो पटक भित्तामा चढ्यो । तर भोलिपल्टै बैठक कोठा मिलाउने क्रममा झर्‍यामझुरूम भयो । मर्मत गरेर बल्ल तल्ल फेरि झुन्ड्याएँ । फेरि कसरी कसरी आफैं झरेर फुट्यो । ए बाबा कति मर्मत गर्नु ! फेरि एकपटक मर्मत गरेर झुन्ड्याएँ । तर भोलिपल्ट टुप्लुक्कै मामा माइजू । हतार हतार त्यो तस्वीर निकाल्ने भाको फेरि फुट्यो ! तुरुन्तै बैठक कोठामा साँचो लाएँ । साँचो हराएको छ भनेर मामा माइजूलाई त्यहाँ आउनबाट रोकें । नत्र मामाले मेरो घर आउनै बार्ने रैछन् । आ… अब सक्दिन भनेर भोलिपल्ट फुटेको त्यो तस्वीर सेलाएँ ।
यस्तरी त भएन ‘काम नपा बुहारी पोख्दै उठाउँदै गर’ भने झैं घरी फोटो झुण्ड्याउने घरी झिक्ने गरेर भएन । स्थायी रूपले ननिकाल्ने गरी अब कसको तस्वीर टाँस्ने होला भनेर फेरि एकचोटी सोचमग्न भएँ । नेताहरू बाँकी नै थिए । मदन भण्डारी, पुष्पलाल, कृष्णप्रसाद भट्टराई, बाबुराम भट्टराई, झलनाथ खनाल, शेरबहादुर देउवा, रामवरण यादव, मोहन वैद्य…। तर फेरि मैले दुःख पाउने पक्का देखें । त्यसैले अब ‘ट्राई’ गर्न मन लागेन ।

म आजित भएँ । हीनतावोधले ग्रसित भएँ । दिक्क लागेर दिवंगत हजुरबाको तस्वीर अगाडी गएर भनें, ‘हे हजुरबा ! म अब हजूरको माग पूरा गर्न सक्दिन । मलाई माफ गर्नुस् । सरकारले समेत हजूरको माग पूरा गर्न सकेको छैन । नपत्याए नेपाली नोट हेर्नुस् त’ भनेर उहाँको फोटो अगाडि एउटा नेपाली नोट राखिदिएँ । त्यस दिनदेखि हजुरबा पनि आउनु भएन । शायद कुरा बुझ्नु भो ।

मेरो बैठक कोठाको त्यो भित्तोमा आज पर्यन्त कुनै नेपाली नेताको तस्वीर छैन । विदेशीका भने छँदै छन् । हाम्रा नेताको तस्वीर ती विदेशी नेताको हाराहारीमा झुण्ड्याउने दिन कहिले आउला ? अनि कहिले आउला हाम्रो नोटमा यस्ता महान् नेताको फोटो छपाउने दिन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment