Comments Add Comment

एप्पल र सामसुङबीच मित्रता कसिँदै, क-कसलाई खतरा ?

Apple-vs-Samsung

प्रविधि उद्योगको सबैभन्दा ठूलो दुस्मनीका रुपमा टेक जाएन्ट अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङको नाम पहिलो नम्बरमा आउँछ । तर, अब यी दुईबीचको दुस्मनी तथा प्रतिद्वन्दिता सदाका लागि अन्त्य भएर दीर्घकालीन सहकार्य र मित्रतामा परिणत हुने छाँट देखिएको छ ।

कुनै समयमा कर्पोरेट मित्रका रुपमा रहेका यी दुई कम्पनीबीच एप्पलका संस्थापक स्टिभ जब्सको गतिविधिपछि दुश्मनी बढेको थियो । जब्सले सामसुङ विरुद्ध युद्ध नै छेडेपछि दुइबीचको लोभलाग्दो आपूर्ति करारको अन्त्य मात्र भएन, दुई कम्पनी निकै महंगो कानूनी युद्धमा समेत होमिए ।

सन् २०१४ को अगष्टमा एप्पलका प्रमुख कार्यकारी टिम कुक सामसुङ विरुद्धको प्याटेन्ट अधिकार मुद्दा टुंगाउन सहमत भएसँगै दुई कम्पनीबीचको सम्बन्ध सुधारको दिशामा अघि बढेको थियो । त्यसपछि यी दुई कम्पनीबीच उत्पादनमा सहकार्यको बाटो खुल्यो ।

जसअनुसार सामसुङ कम्पनीले एप्पलको आगामी आइफोनका लागि मुख्य चिप्स तथा डिस्प्लेको उत्पादन गरिदिनेछ । एप्पल कम्पनी आफ्नो नयाँ ठूलो ग्राहकका रुपमा लिँदै सामसुङले एप्पलका लागि नयाँ प्लान्ट स्थापना र प्रोडक्टहरु उत्पादनका लागि १४ अर्ब डलर लगानी समेत गर्दैछ ।

यो सहकार्यपछि एप्पलले विश्वकै सबैभन्दा ठूलो तथा अत्याधुनिक चिप्स निर्माण कार्यमा पहुँच स्थापित गर्नेछ जसबाट एप्पलले स्मार्टफोन बजारको स्पर्धामा आफुलाई अब्बल सावित गर्न सहयोग पुग्नेछ । त्यस्तै सामसुङले भने स्मार्टफोनका लागि नयाँ चिप निर्माणको अर्डर प्राप्त गरिरहनेछ र कम्पनीको नाफालाई बढोत्तरी गर्न सहयोग पुग्नेछ ।

सामसुङ र एप्पलबीचको यो सहकार्यबाट अन्य प्रतिस्पर्धी स्मार्टफोन तथा चिप्स निर्माता कम्पनीहरुलाई भने मार पर्ने देखिएको छ । त्यसमध्येको एउटा हो ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी र सानडिस्क कम्पनी । एप्पल र सामसुङबीचको सहकार्यसँगै एप्पलका अघिल्ला संस्करणहरुको चिप्स निर्माता ताइवान म्यानुफ्याक्चरिङ कम्पनीले चिप्स निर्माणमा बजेट कटौती गरिसकेको छ ।

एप्पल र सामसुङबीचको प्रणयबाट घाटा बेहोर्नुपर्ने अर्को कम्पनी हो सानडिस्क । आइफोन, आइप्याड तथा म्याकको मेमोरी चिप्स निर्माता सानडिस्कले पछिल्लोपटक सार्वज्निक गरेको त्रैमासिक रिपोर्टले कम्पनीको नाफा तथा उत्पादन घटेको देखाएको छ ।

स्मरण रहोस् एप्पल सानडिस्कको सबैभन्दा ठूलो ग्राहक हो र सानडिस्कको कमाइमध्ये १९ प्रतिशत एप्पलसँगको व्यापारबाट हुने गरेको थियो । व्यापार तथा नाफामा एप्प्लमाथि निर्भर रहेको सानडिस्कको व्यापार यसकारण धरासायी हुने देखिएको हो ।

यी बाहेक क्यालिफोर्निया माइक्रोन टेक्नोलोजी, एसके हाइनिक्स, एयु अप्ट्रोनिक्स, क्वालकोमले पनि ठूलै पीडा भोग्ने देखिएको छ ।

एप्पललाई चिप्स तथा डिस्प्ले बेच्ने सम्झौतासँगै सामसुङले आफ्नै नयाँ नयाँ स्मार्टफोनहरु समेत निर्माण गरिरहेको छ । बहुमुल्य स्मार्टफोनमा एप्पलसँग बजार गुमाइरहे पनि सामसुङ अहिले पनि विश्वको नम्बर वान स्मार्टफोन निर्माताको रुपमा कायमै छ । विश्वमा बिक्री हुने हरेक सयवटा स्मार्टफोन मध्ये एप्पल र सामसुङले ४० वटा स्मार्टफोन बिक्री गरिरहेका हुन्छन् । त्यस्तै विश्वमा हुने कुल चिप्स खरीदमध्ये १७ प्रतिशत यी दुई कम्पनीले खरीद गर्ने गरेका छन् । यस अर्थमा यी दुई कम्पनीबीचको सहकार्यले प्रविधि जगतमा अर्को मजबुत साम्राज्य खडा हुने देखिएको छ । जसले प्रतिस्पर्धी तथा उदीयमान अन्य कम्पनीहरुमाथि चुनौति थपिने पक्का छ ।

वास्तवमा सामसुङसँग दुस्मनी राख्नु र उसलाई निषेध गरेर अन्य कम्पनीसँग उत्पादनमा सहकार्य गर्नु हितकर हुँदैन भन्ने कुरा एप्पलले बुझिसकेको छ । सामसुङ पनि आपफ्नो घट्दो मुनाफालाई उकास्नका लागि एप्पलसँगको सहकार्य अनिवार्य भैसकेको टुंगोमा पुगिसकेको छ । यदि सामसुङले आफुलाई स्मार्टफोन जगतमा एप्पलको सबैभन्दा ठूलो खतराको रुपमा प्रमाणित गरिरहन सक्यो भने एप्पलका प्रमुख टिम कुक प्रतिद्वन्दिता तथा दुस्मनीतर्फ कमै इच्छुक होलान् ।

ब्लुमबर्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment