+
+

 भूकम्पबाट डराएकालाई निःशुल्क मनोसामाजिक परामर्श

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २१ गते १९:४४

२१ वैशाख, काठमाडौं । भूकम्पपछि डराइरहनेका लागि परामर्श र सल्लाह दिने उद्देश्यले मनोसामाजिक सहयोग सुरु गरिने भएको छ ।

भावनात्मक प्राथमिक उपचार उपलब्ध गराउने उद्देश्यले सहयोग कार्यक्रम सुरु गर्न लागिएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) ले जनाएको छ । भूकम्पबाट प्रभावित धादिङ, गोरखा, रसुवा, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप जिल्लामा मनोसामाजिक कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

भूकम्पपछि पनि मानिसमा डर, त्रास र भय रहीरहने र त्यसले मानसिक तनाव गराउने भएकाले त्यसबाट मुक्त हुन कार्यक्रम सञ्चालन गर्न लागिएको केन्द्रका चिकित्सा मनोविद् डा पशुपति महतले जानकारी दिए । “भूकम्पको धक्का कम हुँदै जाँदा विभिन्न किसिमका मानसिक समस्या आउन थाल्छन्, त्यसबाट मुक्त गराउनका लागि मानसिक परामर्श र सल्लाह आवश्यक पर्ने भएकाले निःशुल्क सेवा सञ्चालन गर्न लागिएको हो”–उनले भने ।

सहयोग कार्यक्रम राहत पुगेका स्थानमा सरकारसित समन्वय गरी लगिने छ । यो सेवा भूकम्पबाट पीडित मानसिक समस्या देखिएकालाई निःशुल्क प्रदान गर्न लागिएको छ । “मानिसमा यस्ता समस्याबाट बच्नका लागि आन्तरिक शक्ति हुन्छ, यो शक्तिका कारण ८० प्रतिशत मानिसमा केही समस्या नदेखिने र २० प्रतिशत मानिसमा समस्या देखिने गरेको छ”–मानसिक अस्पताल लगनखेलका पूर्व निर्देशक एवम् केन्द्रका सल्लाहकार डा कपिलदेव उपाध्यायले भने ।

नेपालमा १८ जना चिकित्सा मनोविद् भएकामा १२ जना हाल विभिन्न अस्पतालमा कार्यरत रहेका, ५ जना विदेशमा कार्यरत रहेका र १ जनाको मृत्यु भइसकेको केन्द्रले जनाएको छ । मानसिक समस्याका रोगी घटाउनका लागि समस्यामा परेकालाई अहिल्यै परामर्श र सल्लाह दिई समाधान गरिनुपर्ने डा महत बताए ।

विराटनगरको कोसी अञ्चल अस्पताल, भरतपुर अस्पताल, वीरगन्ज उपक्षेत्रीय अस्पताल, पोखरा क्षेत्रीय अस्पताल र भेरी अञ्चल अस्पताल नेपालगन्ज गरी पाँचवटा सरकारी अस्पतालमा मानसिक रोग विशेषज्ञको व्यवस्था रहेको छ । सबै मेडिकल कलेजमा मानसिक रोग विभाग र विशेषज्ञ उपलब्ध छन् । यी अस्पतालमा बहिरङ्ग विभाग र वार्डको समेत व्यवस्था रहेको छ ।

काठमाडौँमा पनि विभिन्न स्थानमा परामर्श र सल्लाहका लागि शिविर राखिने केन्द्रले जनाएको छ । निःशुल्क सेवाका लागि फोन नं ०१४१०२०३७ र ०१४२२६०४१ मा सम्पर्क गर्न सकिने छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?