Comments Add Comment

सर्वोच्च अदालत बन्द भएकोमा राष्ट्रपतिको चिन्ता

२२ वैशाख, काठमाडौ । राष्ट्रपति डा. रामवरण यादवले भूकम्पका कारण सर्वोच्च अदालतको काम कारवाही ठप्प भएकोमा चिन्ता व्यक्त गरेका छन् । अदालत खुल्न नसकेकोबारे राष्ट्रपति यादवले कानूनमन्त्री नरहरी आचार्यसँग छलफलसमेत गरेको छन् ।

Suprim-court
‘अदालत भनेको अस्पतालको इमर्जेन्सी सेवाजस्तै हो, १२ गतेदेखि अदालतको सेवा बन्द भएको छ, तत्कालै न्याय प्रदान गर्नुपर्ने निकाय यसरी बन्द हुनु राम्रो होइन,’ राष्ट्रपतिको चिन्तालाई उधृत गर्दै शीतलनिवास स्रोतले अनलाइनखबरसँग भन्यो ।

कानूनमन्त्री आचार्यसँगको सोमबारको भेटमा राष्ट्रपति डा. यादवले सरकारले चाँडोभन्दा चाँडो अदालत सुचारु गर्नेबारे पहल गर्नुपर्ने बताएका थिए ।

वैशाख २७ देखि अदालत खुल्ने

यसैवीच भूकम्पले चर्किएको सर्वोच्च अदालतको काम कारवाही आगामी बैशाख २७ गतेदेखि सुचारु हुने भएको छ । तर, अदालतको अहिलेको भवन कामै नलाग्ने गरी चर्किएकाले नयाँ भवन बनाउनुपर्ने भएको छ ।

सर्वोच्च अदालतको मूलभवनमा रहको रजिष्ट्रारको कार्यकक्षको गाह्रो चर्किएको छ । मुख्य भवनको मुख्य करिडोरको भवन जगदेखि नै छानोसम्मै चिरा परेको छ । जसले गर्दा अहिलेकै अवस्थामा सेवा दिन नसक्ने सर्वोच्च अदालतले जनाएको छ ।

अदालतको नियमित कार्य सञ्चालनका लागि आवश्यक पर्ने कक्षहरुको वैकल्पिक व्यवस्था गर्न केही समय लाग्ने भएकाले वैशाख २५ गतेसम्म मुद्दाको कामकारबाही लगायत सुनुवाइको प्रयोजनका लागि अदालत बन्द रहने अदालतले विज्ञप्तिमार्फत जनाएको छ ।

मुद्दाको म्याद नगुज्रने

वैशाख १२ गते गएको भूकम्पले सर्वोच्च अदालतको भवनमा क्षति पुर्‍याएपछि अदालतको काम कारवाही ठप्प छ । वैशाख १२ देखि अदालत बन्द रहेकाले बन्द रहेको समयमा पेशी तोकिएको मुद्दाको म्याद नगुज्रने अदालतले जनाएको छ ।

वैशाख १२ देखि बन्द भएको समयमा पेशी तोकिएका मुद्दाको वैशाख २७ गते हाजिर हुन आउनुपर्ने सर्वोच्चले जनाएको छ ।

राष्ट्रपति भवन पनि नयाँ बन्नुपर्ने

Rambaran-Yadav,-President-oभूकम्पका कारण अब नेपालको राष्ट्रपति भवन पनि बस्न नसकिने गरी बिग्रिएको छ, जसले गर्दा राष्ट्रपति त्यहीँ रहेको नयाँ ठाउँमा सरेका छन् ।

नेपाल सरकारले अब सर्वोच्च अदालतजस्तै राष्ट्रपतिका लागि नयाँ भवन बनाउनुपर्ने दायित्व थपिएको छ ।

अदालतको भवन निर्माणका लागि गृहमन्त्रालय छेऊमा जग्गा छुट्टयाइए पनि अहिलेसम्म बन्न सकेको छैन । राष्ट्रपति कार्यालय भने कहाँ निर्माण गर्ने भन्ने अहिलेसम्म राज्यले सोचेको छैन ।

भूकम्पका कारण रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबारको पुरानो भवनमा पनि क्षति पुगेको छ । रक्षा मन्त्रालयको मूल गेटमा प्राविधिकले रातो स्टिकर टाँसिसकेका छन् ।

यो पनि पढ्नुहोस्

जनताले घरबार गुमाए, मन्त्रीले दरबार गुमाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment