Comments Add Comment

कहाँबाट आउँछ नेतालाई चामलको बोरा ?

२७ वैशाख, काठमाडौं । तस्वीरमा देखिएको दृश्य राहत वितरणको हो । दृश्यमा प्रधानमन्त्रीकी सल्लाहकार मृदुला कोइरालाले भूकम्प पीडितलाई राहत बाँडिरहेकी छन् । छेउमा सेतो कुर्ता-सुरुवाल लगाएर, टाउकोमा चश्मा लगाएर उभिएकी छिन् सिन्धुपाल्चोककी कांग्रेस नेतृ लीला नेपाल ।

Mridula koirala

मृदुलाले राहत बाँड्दै गरेको यो तस्वीर आफ्नो फेसबुकमार्फत् सार्वजनिकसमेत गरेकी छिन् ।

मृदुलाले बाँडेको यो राहतमा उनको व्यक्तिगत लगानी छैन । राजनीतिक पदमा बसेका नेताहरुले आफ्नो तलबको केही भाग प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्ने निर्णयबाहेक व्यक्तिगरुमा पीडितलाई चन्दा दिने घोषणा गरेका छैनन् ।(हेर्नुहोस् गरीब देशका धनी मन्त्री : पीडितलाई केही नदिने ?)

मृदुला र लीलाले बाँडेको चामलका बोराको पोकामा लेखिएको छ-‘मोरङ व्यापार संघ ।’ स्पष्टै छ, मोरङका ब्यापारीहरुले पठाएका चामलका बोरा नेपाली कांग्रेसको पहुँचका आधारमा सिन्धुपाल्चोकमा बाँडिएको हो ।

फेसबुकमा अर्को पनि तस्वीर भेटिएको छ, जहाँ एमाओवादी अध्यक्ष प्रचण्ड दम्पति धौला चामलको बोराका अगाडि हातमा मोबाइल बोकेर उभिएका छन् । छेऊमा मिनरल वाटरका बोतलहरु छन् । पृष्ठभूमिमा जंक फुडका कार्टुनहरु पनि छन् ।

Prachanda

प्रचण्ड र सीता दाहालको यो तस्वीर कुनै पापाराजीले खिचेको होइन । प्रचण्डको निजी सचिवालयमा काम गर्ने पुत्र प्रकाश दहालले प्रचारका लागि फेसबुकमा हालेका हुन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले र्कीतिपुर, सिन्धुपाल्चोक लगायत धेरै ठाउँमा पीडितहरुलाई आफ्नै हातले राहत वितरण गरिसकेका छन् ।

प्रचण्डमात्रै होइन, एमाओवादी नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारयणकाजी श्रेष्ठलगायतले पनि चामल लगायतका विभिन्न राहत सामाग्री विभिन्न जिल्लामा बाँडेका छन् । यसरी बाँडिएको राहत विभिन्न व्यापारीहरुसँग मागेर संकलन गरिएको एमाओवादी नेता बताउँछन् ।

एमाले नेता माधव कुमार नेपालले पनि काठमाडौं २ स्थित आफ्नो निर्वाचन क्षेत्रमा राहत सामाग्री बाँडेका छन् ।

Madhav Nepal

नाङलेभारे लगायतका भूकम्पग्रस्त क्षेत्रमा पूर्वप्रधानमन्त्री नेपालले राहत सामाग्री पुर्‍याएका छन् । कांग्रेस नेता शेरबहादुर देउवा पनि राहत बाँड्न सक्रिय छन् । मन्त्री महेश बस्नेतले आफ्नो चुनावक्षेत्रमा राहत बाँडेका छन् ।

तर, नेताले बाँडेको यो राहतको स्रोत भने उनीहरुको व्यक्तिगत चाँहि होइन । विभिन्न व्यापारी र सर्वसाधारणबाट संकलन गरिएको सामाग्री नेताहरुले संकलन गरेर जनताको घर दैलोमा पुर्‍याउँदै आएका छन् । नेताहरुले सहर तराईमा मध्यमवर्गीय जनतासँग सहयोग संकलन गरेर पीडितसम्म पुर्‍याउने पुलको काम गरिरहेका छन् ।

यस्तो बेलामा महाभूकम्पबाट ध्वस्त भएका गाउँहरुमा राहत बाँड्न राजनीतिक दलका नेताहरु सक्रिय हुनु सकारात्मक पक्ष हो । जसरी भए पनि राहत सामाग्री भेला गरेर पीडितको हातसम्म पुर्‍याउनु नराम्रो काम होइन ।

ढीलै भए पनि नेताहरुले जे गरिरहेका छन्, ठीकै गरिरहेका छन् । मेरो पार्टीले यति राहत बाँड्यो र उति बाँड्यो भनेर नेताहरुले संसददेखि मिडियासम्म दलका नेताले वयान दिइरहेका छन् । कसले धेरै राहत बाँड्ने भन्ने नेतावीच होडबाजी चल्न थालेको छ ।

नेताहरु आफ्नो चुनाव क्षेत्रमा यसरी लागि परेका छन् कि यो भूकम्प होइन, आम चुनाव आएको हो । अहिले जनतामा राहत नपुर्‍याए पछि चुनाव हारिने हो कि भन्ने नेताको दिमागमा घर गरेको देखिन्छ । सत्तामा भएका नेताहरु प्रधानमन्त्री कार्यालयको प्रभावलाई प्रयोग गर्दै कांग्रेसको राजनीतिलाई मलजल गर्ने अभियानमा छन् भने विपक्षीहरु सरकारभन्दा बढी गरेर देखाउने अभियानमा देखिन्छन् ।

नेताहरुले राहत सामाग्री बाँड्ने क्रम बाक्लिएसँगै सामाजिक सञ्जालमा प्रश्न उठ्न थालेका छन् । नेताहरुले बाँड्ने चामलका बोरा र राहत सामाग्री कहाँबाट आइरहेको छ ? प्रष्टै छ, यी सामाग्रीहरु चन्दाका रुपमा संकलन गरिएको हो ।

दलका नेताहरुले यसरी संकलन अभियान चलाएर पीडितसम्म राहत पुर्‍याउने पुलको काम गर्नु आलोच्य विषय नभए पनि नेताहरुले जे गर्दा पनि आलोचना र विरोध गर्ने संस्कार जनस्तरमा बढेको छ ।

जनताबाटै उठाएको हो : माओवादी

नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भन्छन्, ‘जनताबाटै उठाएर ल्याइएको हो । उद्योग, ब्यवसायीहरुबाट सहयोग जुटाएर पीडितहरुलाई बाँडिएको हो ।’

विप्लवले शनिबारमात्रै गोरखाको बारपाक पुगेर राहत सामग्री वितरण गरेका थिए । उनीहरुले २ सय ५० बोरा चामल, ५५ थान पाल तथा केही कम्बलहरु गोरखाको बारपाक तथा खोप्लाङको बेलवासमा बाँडेका थिए । यतिधेरै चामल विप्लव माओवादीले चितवनबाट जिन्सी चन्दास्वरुप जुटाएको हो । केही राहत काठमाडौका ब्यापारीबाट समेत जम्मा गरिएको प्रकाण्डले अनलाइनखबरलाई बताए ।

गाउँका काठपात, ब्यापारीको जस्ता

राहत वितरणसँगै पीडितहरुलाई बस्नका लागि विभिन्न दलका नेता कार्यकर्ताहरु प्रभावित क्षेत्रमा जस्ताले छाएर टहरा बनाइदिने काम पनि गरिरहेका छन् ।

नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भन्छन्, ‘जनताबाटै उठाएर ल्याइएको हो

सत्तारुढ प्रमुख घटक कांग्रेस, एमालेले पनि प्रभावित क्षेत्रमा आफ्ना कार्यकर्ताहरुलाई खटाएको जनाएका छन् । एमालेले दुई लाख स्वयंसेवक प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको छ ।

माओवादी नेता विप्लव रातो टिसर्ट लगाएर कार्यकर्तासँग जस्ता पाताले छाएको बाँसको टहरा बनाउने काममा लागिरहेका छन् ।

‘बासको टहरा बनाउनका लागि गाउँमै उपलब्ध दारपात संलकन गरेका हौं ।’ नेकपा माओवादी प्रवक्ता प्रकाण्डले भने, गाउँमै उपलब्ध पुराना जस्ता पाताहरु र केही ब्यापारीहरुबाट सहयोग जुटाएका हौं ।’

वैद्य माओवादीका कार्यकर्ताहरु पनि जन उद्धार टोलीको ब्यानर बोकेर प्रभावित क्षेत्रमा टहरा बनाउने काममा लागेका छन् ।
यस्तै, एकीकृत माओवादीले पनि युवा विद्यार्थीहरुलाई प्रभावित क्षेत्रमा खटाएको छ । एमाओवादीसम्बद्ध अखिल क्रान्तिकारी राहत तथा उद्धार कार्यमा खटिएको रमेश मल्लले जानकारी दिए ।

राजनीतिक दलका नेताहरुले जनताबाट राहत संकलन गरेर पुलको काम मात्रै होइन, गाउमै गएर श्रमदान गरी घर बनाइदिन पनि सक्छन् भन्ने दृष्टान्त यसबाट देखिएको छ । तर, दलका नेता कार्यकर्ताले गरेको राम्रो काममा पनि किन आलोचना हुन्छ ? यो चाँहि बहसको विषय हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment