Comments Add Comment

के अहिले राष्ट्रिय सरकार सान्दर्भिक छ ?

मोहनविक्रम सिंह

अहिले राष्ट्रिय सरकार निर्माणको कुराको निकै चर्चा भैरहेको छ । त्यस प्रकारको सरकार किन ? त्यसबारे दुईवटा जवाफ हुन सक्छन् :

प्रथम, संविधानको निर्माणका लागि । द्वीतीय, भूकम्प पीडित जनताको उद्धार, राहत वा पुनर्निर्माणको दीर्घकालीन योजना सम्पन्न गर्नका लागि । कतिपय प्रमुख राजनीतिक दलहरूका शीर्षस्थ नेताहरूले त्यस प्रकारको सरकार बनेमा संविधानको निर्माण र भूकम्प पीडित जनताको सहयोग तथा पुनर्निर्माणमा सहयोग पुग्ने बताएका छन् । त्यस प्रकारको दाबीमा कति औचित्य छ ? त्यसबारे केही विचार गर्नुपर्ने आवश्यकता छ ।

मोहनविक्रम सिंह
मोहनविक्रम सिंह

संविधान निर्माणका सन्दर्भमा, प्रथम, संविधानको अन्तरवस्तु तथा, द्वितीय, त्यसलाई पारित गर्ने प्रक्रियाबारे प्रमुख राजनीतिक शक्तिहरूका बीचमा गम्भीर प्रकारका विवाद छन् । लोकतान्त्रिक संविधानको निर्माण गर्ने वा जातिवादी र क्षेत्रीयतावादी प्रकारको ? संविधान सर्वसहमतिका आधारमा निर्माण गर्ने वा बहुमतको प्रक्रियाद्वारा ? उक्त प्रश्नहरूमा राजनीतिक दलहरू वा पूरै संविधान सभा विभाजित छन् ।

यी कारणले गर्दा लामो समयदेखि संविधानको निर्माण हुन सकेको छैन ।

सामान्यतः सत्ता पक्ष लोकतान्त्रिक संविधान र बहुमतद्वारा संविधानको निर्माणको पक्षमा छ । तर, विपक्षी दल, लोकतान्त्रिक संविधान र बहुमतद्वारा संविधानको निर्माणका विरुद्ध छन् । लोकतान्त्रिक संविधान निर्माण र बहुमतद्वारा संविधानको निर्माणका विरुद्ध भएका शक्तिहरूले लोकतान्त्रिक संविधान निर्माण र बहुमतद्वारा संविधानको निर्माणका विरुद्ध पूरा शक्ति लगाउने गरेका छन् । त्यसका लागि उनीहरूले संविधान सभाको वैठक अवरुद्ध गर्ने, वैठकमा तोडफोड गर्ने, नेपालबन्द गर्ने, देशव्यापी आन्दोलन गर्ने, बहुमतीय प्रणालीको निषेध वा सहमतिका लागि विभिन्न प्रकारले दबाव दिने आदि कार्य गर्दै आएका छन् । ती राजनैतिक शक्तिहरू सरकारमा पुगे भने सरकार बाहिर छँदा जुन विभिन्न तरिकाहरूद्वारा लोकतान्त्रिक संविधान निर्माण र बहुमतद्वारा संविधानको निर्माणको विरोध गर्ने गरेका छन्, सरकारमा पुगेपछि उनीहरूले कैयौँगुना जोडदार प्रकारले ती उद्देश्यहरू पूरा गर्न प्रयत्न गर्नेछन् ।

वास्तवमा सरकारमा पुगेपछि उनीहरूको प्रधान उद्देश्य नै त्यही हुनेछ । त्यसरी अहिलेको अवस्थामा राष्ट्रिय सरकारको निर्माण संविधानको निर्माणको विरुद्ध हुने छ ।

अहिले जसले राष्ट्रिय सरकारको निर्माण गरेर संविधान निर्माणमा जोड दिइरहेका छन्, समग्र रूपमा विचार गर्दा के भन्न सकिन्छ भने उनीहरूको उद्देश्य उनीहरूले चाहेको जातिवादी वा क्षेत्रीयतावादी प्रकारको भन्दा कुनै पनि प्रकारको संविधान नै बन्न नदिने हो । कुन प्रकारको संविधान बनाउने वा कुन प्रकारको प्रक्रियाद्वारा त्यसलाई बनाउने ? त्यो संविधान सभा, सरकार वा राजनैतिक दलहरूसित सम्बन्धित कुरा हो । त्यो बेग्लै विचार गर्ने वा टुङ्ग्याउने कुरा हो ।

अहिले भूकम्पका कारणले पैदा भएको अवस्थामा त्यसलाई जोडेर -भूकम्पलाई जोडेर) राष्ट्रिय सरकारको निर्माणमा जोड दिने सोचाइले भूकम्पद्वारा पैदा भएको स्थितिमा ध्यान दिएर काम गर्नेभन्दा सत्तामा पुग्ने आकाङ्क्षा वा सत्तालोलुपताले नै बढी काम गरेको देखिन्छ । अर्का शब्दमा, कतिपय राजनैतिक शक्तिहरूले संविधानको निर्माण वा भूकम्पले पैदा गरेको स्थितिमा जनताको सेवाभन्दा सत्तालोलुपताको कारणले नै राष्ट्रिय सरकारको निर्माणमा जोड दिएको पाइन्छ ।
त्यसप्रकारको सरकारद्वारा भूकम्पद्वारा पैदा भएको स्थितिमा उद्धार, राहत वा पुनर्निर्माणमा पनि कुनै मद्दत नपुग्ने कुरा स्पष्ट छ । त्यस प्रकारको सरकारले राजनैतिक प्रतिस्पर्धालाई नै बढाउने छ । अहिले नै प्रधानमन्त्री को हुने ? त्यसबारे विवाद उठिसकेको छ । पहिलेको अनुभवले बताउँछ, प्रधानमन्त्री कसलाई बनाउने विवादका कारणले नै सहमतिको सरकारको गठनका लागि महिनौँ वा वर्षौैंको समय लाग्ने वा त्यसपछि पनि सरकार बन्न नसक्ने गरेको थियो । अहिलेको राष्ट्रिय सरकारको निर्माणका सन्दर्भमा पनि त्यो इतिहास दोहोरिने छ । प्रथम ता राष्ट्रिय सरकार नै बन्न गाह्रो हुने छ वा त्यो बन्न लामो समय लाग्नेछ ।

सरकार बनेपछि पनि लगातार प्रतिस्पर्धा चलिरहने छ र भूकम्प पीडित जनताको सेवा वा पुनर्निर्माणका कार्यहरू गौण हुनेछन् । त्यो अवस्थामा राष्ट्रिय सरकारद्वारा भूकम्पद्वारा उत्पन्न स्थितिमा जनताको सेवा वा पुनर्निर्माणको कार्यमा कुनै खास मद्दत पुग्ने छैन ।

त्यो अवस्थामा हाम्रो पार्टीले संविधान निर्माणको प्रक्रियालाई प्रक्रियाद्वारा सहमति वा सहमति नभएमा बहुमतद्वारा त्यसलाई निर्माण गर्ने प्रक्रियालाई अगाडि बढाउँदै भूकम्पद्वारा पैदा भएको स्थितिमा जनताको सेवा वा पुनर्निर्माणको कार्यका लागि कुनै राष्ट्रिय सरकार होइन, सर्वपक्षीय समिति वा परिषद वा त्यही प्रकारको कुनै निकायको निर्माण गरेर त्यो कार्य पूरा गर्ने प्रयत्न गर्नुपर्नेमा जोड दिन्छ । समग्र रूपमा के भन्न सकिन्छ भने राष्ट्रिय सरकारको निर्माणको कुरा अहिले न उचित छ, न सान्दर्भिक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment