Comments Add Comment

परीक्षा नियन्त्रक ज्यू, पालमा बसेर कसरी परीक्षा दिने ?

-ज्ञान पोखरेल

वैशाख १२ गते भूकम्प गएपछि आइरहेका पराकम्पनले अझै पनि म जस्ता हजारौं विद्यार्थीको मन कम्पित छ । भूकम्प गएदेखि घर बाहिर बसिरहेका हामी अझै पनि घरमा छिर्न सकेका छैनौं । आँखाले अझै पनि ठूला ठूला घर र कलेजका विल्डिङ भत्किएको बिर्सन सकेको छैन ।

Gyan-Pokhrelमनभित्र भय बोकेेर पुस्तकमाथि आँखा लगाउँदा भयले सताइरहेको छ । निदाउन खोज्दा अझै पनि भोलि बिहानको उज्यालो देखिन्छ या देखिँदैन पत्तो छैन । यस्तो अवस्थामा भन्नुहोस् त, ३ घण्टा एउटा बन्द कोठाभित्र बसेर कसरी परीक्षा दिउँ ?

३ घण्टा एउटा कोठाभित्र बसेर बर्षभरि पढेका कुरालाई सम्झिएर पानामा उतार्नु सजिलो कुरा होइन । यसका लागि एकाग्रता, धैयर्ता र आनन्द चाहिन्छ । तर, देशको यस्तो अवस्थामा कसरी हामीभित्र एकाग्रता र धैर्यताले बास गर्ला ?

हिजोआज एउटी गृहिणीले घरमा छिटो भन्दा छिटो खाना पकाएर बाहिर निस्कने गर्छिन् । अफिस जानुपूर्व लागि लूगा लगाउन घरभित्र पसेको अफिसर छोटो समयमा नै आफ्नो काम फत्ते गर्छ र लामो श्वास फेर्दै घर बाहिर निस्कन्छ ।

मेरा कलिला मनले अझै पनि हजारौ विद्यार्थीले भविश्य देख्दै अध्ययन गर्ने कलेजका ठूला ठूला भवन भत्किएको बिर्सिएको छैन । काठमाण्डौलाई केन्द्र बनाएर दैनिक पराकम्पन गएको समाचार आइरहेका छन् । यस्तो परिस्थितिमा म एउटा कोठाभित्र बसेर कसरी खुल्ला मनले परीक्षा दिन सक्छु र आफ्नो भविष्य कोर्न सक्छु ?

कृपया हाम्रो भविष्यलाई हतारमा परीक्षा सकेर लत्पताउने काम नगरियोस् । घरभित्र एकछिन प्रवेश गर्न नसकेका हामी हजारौं विद्यार्थीका पाइलाहरु कसरी घण्टौंसम्म चार पर्खालभित्र बसेर परीक्षा दिइञ्जेल अडिन सक्छन् ?

भलै म काठमाण्डौमै छु । तर, धेरैका घर चर्किएका छन्, धेरै विद्यार्थीहरु काठमाण्डौमा भूकम्प आएपछि आफ्नो घर पुगेका छन् । कैयौं विद्यार्थी बस्दै आएका काठमाण्डौका डेरा बस्न नहुने गरी चर्किएका छन् । भयवित मन लिएर कसरी अब ती विद्यार्थी काठमाण्डौमा चर्किएको बन्द कोठमा बसेर परीक्षाको तयारी गर्न सक्छन् ? पुस्तक आँखाले होइन, दिमागले पढिन्छ, याद मस्तिष्कले होइन मनले गरिन्छ । तर, किताबका पानाभित्रका शब्दहरु सम्झने मन नै भयभित छ, दिमाग नै अस्तव्यस्त दुनियाँमा रुमलिएको छ । यस्तो अवस्थामा दिनका लागि मात्र परीक्षा दिनुको अर्थ के होला ?

परीक्षा लिनु मात्र एचएसबीको धर्म होइन । परीक्षावाट राम्रा विद्यार्थी उतीर्ण गर्ने दायित्व पनि ऊमाथि छ । तर, यो समयमा विद्यार्थीले शान्त मनले परीक्षा दिन सक्छन् भन्ने मलगायत हजारौं विद्यार्थीलाई लाग्दैन । सायद, यसैको प्रतिफल होला, परीक्षा सार्नु पर्‍यो भन्दै विद्यार्थीहरु टुँडिखेलमा भेला भए ।

वैशाख १२ गते १२ बजेर ५६ मिनेटमा भूकम्प जाँदा हामी कलेजमा नै ट्यूसन पढ्दै थियौ । शनिबार भए पनि परीक्षा नजिकै आउन लागेकाले यसको तयारीमा हामी लागेका थियौ । हामीलाई पनि परीक्षा उत्तिर्ण गरेर अगाडिको बाटो तय गर्न र नयाँ सपना बुन्ने हतारो छ । तर, त्रसित मानसिकता बोकेर होइन, शान्त मन लिएर । कलेजको भूँइतलामा बस्दा भूकम्पले हल्लाएको थियो । अहिले पनि त्यो पल दिमागबाट हट्न सकेको छैन ।

पढाइ भन्दा पनि बारम्बार आउने कम्पनमा नै बढी ध्यान जान थालेको छ । वैशाख २९ गते आएको अर्को ठूलो भूकम्पले त फेरि हामीलाई तहस-नहस बनाएको छ । मलाई लाग्छ, म जस्तै हजारौं विद्यार्थीले पुस्तकभन्दा भूकम्प कतिबेला आउँछ भन्ने भयमा नै दिनरात काटेका होलान् ।

कृपया, यस्तो समयमा परीक्षा भन्दा पनि हाम्रो डराएका र हल्लिएका मनहरुलाई सम्हाल्ने काम गरियोस् । विद्यार्थीका त्रसित अनुहारहरुमा मुस्कान छर्ने काम गरियोस् । यसले लामो समयसम्म हामीलाई असर गर्नेछ ।

नयाँ कक्षामा पुग्नका लागि त परीक्षा दिनु नै पर्दछ । तर, यतिबेलाको आवश्यकता परीक्षा भन्दा पनि शान्ति हो । यसतर्फ ध्यान दिइओस् ।

(पोखरेल केएमसी कलेजमा कक्षा १२ मा अध्ययनरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment