Comments Add Comment

मोदीले नेपाल निर्माणमा उच्च अधिकृत नियुक्त गर्ने

१६ जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पपछिको अवस्था सहजीकरणका लागि एक विशेष अधिकृत नियुक्त गर्ने भएका छन्। भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायसँगको भेटमा शुक्रबार प्रधानमन्त्री मोदीले उक्त जानकारी दिएका हुन्।
narendra_Modi_Deep_kumar
मोदीको भनाइ उद्धृत गर्दै उपाध्यायले भने, ‘म तपाईंलाई एकजना सम्पर्क व्यक्ति दिनेछु, जसले भूकम्पीय क्षतिपछि उपयुक्त अवस्था निर्माणका लागि नेपाल सरकार र भारतबीच समन्वयको काम गर्नेछन्।’

मोदीले स्पष्ट गरेको भारतीय सहयोग नेपाल सरकारले कुन रूपमा परिस्थिति अगाडि बढाउने भन्ने निर्णय गरेपछि मात्र आउनेछ। उपाध्यायका अनुसार मोदीले गहिरो चासो देखाउँदै नेपालबारे उनी निकै चिन्तित रहेको र भारतबाट प्राप्त हुने सबै सहयोग नेपालको आवश्यकताअनुसार हुने बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

राजदूत उपाध्यायले नयाँ दिल्लीस्थित प्रधानमन्त्री निवास सात रेसकोर्स रोडमा मोदीसँग करिब १५ मिनेट शिष्टाचार भेट गरेका थिए।

‘भूकम्पपछि मलाई टेलिफोन गर्ने पहिलो व्यक्ति मोदी थिए र वैशाख १२ पछि उहाँको सक्रियता र स्पष्ट दृष्टिकोणका लागि धन्यवाद दिन मैले आज उहाँलाई भेटेको हुँ। नेपाल र नेपालीका तर्फबाट धन्यवाद दिएँ मैले उहाँलाई, उपाध्यायले भने।

संकटको यो घडीमा नेपालीलाई नआत्तिन सल्लाह दिँदै भूकम्पपछिको अवस्थाबारे आफू चिन्तित रहेको पनि मोदीले बताए। ‘वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा नेपाल सरकारले लिने निर्णयमा सहयोग पुर्‍याउनमा हामी लाग्नेछौं’, मोदीलाई उद्धृत गर्दै राजदूत उपाध्यायले भने।

दिल्लीस्थित नेपाली दूतावासबाट जारी विज्ञप्तिमा मोदीले भूकम्पीय ताण्डवबाट पुगेको क्षतिसम्बन्धी लेखाजोखाबारे राजदूत उपाध्यायसँग जानकारी मागेका थिए।

राजदूत उपाध्यायले आगामी जुन ५ सम्म त्यसको लेखाजोखा प्राप्त हुने जानकारी प्रधानमन्त्री मोदीलाई दिए। करिब १० अर्ब डलर खर्च हुने अनुमान गरिएको पुनर्निर्माणमा सहयोग पुर्‍याउने आश्वासन भारतले दिँदै आएको छ।

‘मोदीले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यबारे चासो लिएको र मैले प्रधानमन्त्री कोइराला पूर्ण स्वस्थ रहनुभएको जानकारी दिएँ’, उपाध्यायले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment