+
+

पोल्ट्री क्षेत्रमा दैनिक चार करोड नोक्सानी

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १७ गते १३:२७

१७ जेठ, चितवन । आत्मनिर्भर बन्दै गएको नेपालको पोल्ट्री व्यवसाय भूकम्पले प्रभावित बनेको छ ।

गएको वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण देशको राजधानी काठमाडौँ र छिमेकी जिल्लाहरु पूर्णरुपमा प्रभावित भएपछि यसको प्रत्यक्ष असर पोल्ट्री व्यवसायमा परेको छ । नेपालको कुल उत्पादनको ६० प्रतिशतभन्दा बढी खपत काठमाडौँ र आसपासका क्षेत्रमा हुने गर्दछ ।

भूकम्पपछि त्यस क्षेत्रमा अस्थायी बसोबास गर्नेहरु बाहिरिएको र स्थानीयको क्रयशक्ति कम हुँदा पोल्ट्रजन्य पदार्थ खपत हुन सकेको छैन । यसका कारण यो व्यवसायमा हाल प्रत्यक्ष रुपमा दैनिक रु चार करोड ३० लाखभन्दा बढीको नोक्सान भइरहेको व्यवसायीको भनाइ छ ।

पोल्ट्री व्यवसायीका अनुसार देशभर अन्डामा दैनिक रु ८० लाख, चल्लामा एक करोड ५० लाख र मासुमा रु दुई करोडभन्दा माथि नोक्सान हुँदै आएको छ । खपतमा कमी आएसँगै अन्डा उत्पादक सङ्घले भूकम्प प्रभावितलाई राहतसमेत हुने गरी खुद्रा मूल्य प्रतिवटा १२ बाट आठमा झारेको छ । देशभरमा दैनिक नौ हजार पाँच सय पेटी अन्डा उत्पादन हुन्छ । एक पेटीमा सात क्रेट हुन्छ । हालको बजार मूल्य प्रतिक्रेट दुई सय ४० छ ।

सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार यो मूल्य सामान्य अवस्थामा तीन सय ६० पुगेको थियो । जसबाट दैनिक प्रतिक्रेट रु एक सय २० नोक्सान भएको छ ।

“अन्डामा दैनिक रु ७९ लाख ८० हजार प्रत्यक्ष नोक्सान भएको छ” उनले भने । बिक्री हुन नसकेर डम्पिङ गर्नुपर्दा झन ठूलो घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । लागत मूल्य धान्ने गरी बजार मूल्य बढाएर कृषकलाई राहत दिने विषयमा छलफल भइरहेको छ । भूकम्प प्रभावितका लागि सहयोग पु¥याउन ठूलो नोक्सान खपेर पनि बजार मूल्य घटाइएको छ ।

त्यस्तै कुखुराको मासुमा दैनिक रु दुई करोडभन्दा बढी घाटा भएको पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालले बताउनुभयो । नेपालमा दैनिक पाँच लाख किलो मासु बिक्री हुँदै आएकामा हाल घटेर चार लाख किलो मात्रै खपत हुँदै आएको छ । प्रतिकिलो रु ५० किसानले नोक्सान व्यहोरेको उहाँले बताउनुभयो ।

नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष भुवनलाल जोशीले व्यहोर्दै आएको नोक्सानलाई परिपूर्तिका लागि बजार सुधार अभियानमा सङ्घ लागेको बताउनुभयो । लामो समय यो नोक्सान कृषकले धान्न नसक्ने उहाँको भनाइ छ । देशभर सातामा २६ लाख ५० हजार चल्ला उत्पादन हुन्छ । विगतमा रु ७० प्रतिवटामा बिक्री हुँदै आएको ब्रोइलर चल्ला अहिले २५ को हाराहारीमा मात्रै बिक्री हुँदै आएको ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले बताए ।

यसैगरी एक सय २५ मा बिक्री हुँदै आएको लेयर्स चल्ला अहिले रु २० देखि रु ३० सम्ममा बिक्री हुँदै आएको छ । कतिपय चल्ला बिक्री नभएर डम्पिङ गर्नुपर्ने अवस्था रहेको छ । प्रतिचल्लामा ४० को हाराहारी नोक्सान छ । यस हिसाबले दैनिक एक करोड ५० लाखभन्दा बढी नोक्सान भएको पौडेलले बताए ।

प्रत्यक्षसँगै अप्रत्यक्ष रुपमा ठूलो नोक्सान भएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले बताउनुभयो । सङ्कटको समयमा राज्य संयन्त्रबाट सहयोग हुन नसके व्यवसाय धरासायी हुने कँडेलको तर्क छ । मासु, अन्डा र चल्लाको बिक्री मूल्य घटेसँगै यसको प्रभाव दाना, औषधिलगायतका क्षेत्रमा पनि पर्ने व्यवसायीहरु बताउँछन् ।

देशभरमा पोल्ट्री व्यवसायमा ६० अर्बभन्दा बढीको लगानी रहेको व्यवसायीहरुको भनाइ छ । जसमध्ये आधाभन्दा बढी लगानी चितवन जिल्लामा मात्रै छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?