Comments Add Comment

फलाम खानी बन्द, आरन ब्यवसाय संकटमा

Aaran

  • आरनमा पुराना फलामे औजार मर्मत गर्दै जाजरकोटका एक दलित ।

बी.बी. गिरी
१७ जेठ, जाजरकोट । रोकायगाउँ ५ का जस्बीर कामी अहिले परिवारको लालनपालको चिन्तामा छन् । जीवन गुजारा गर्ने उपाय बन्द भएकाले उनलाई पिरलो बढेको हो । नायकवाडा ७ स्थित फलाम खानी बन्द गरिए पछि उनी मात्र होइन, उनी जस्ता थुप्रै आरन व्यवसायीको पेसा संकटमा परेको छ ।

खानी बन्दसंगै बारेकोट क्षेत्रका नायकवाडा, सक्ला, रामीडाँडा र रोकायगाउँका परम्परागत आरन व्यवसायीहरुको जीवन गुजारा चलाउने बाटो बन्द भएको छ ।  ‘खानी चल्दा धाउ ल्याएर फलामे औजार बनाइ बेचेर गास टालो हुन्थ्यो अब बर्बाद भयो,’ जस्बीरले गुनासो सुनाए ।

फलाम खानीका कारण गाउँमा पहिरोको जोखिम बढेको भन्दै नायकवाडा ७ का स्थानीयले फलाम खानी बन्द गराएका हुन् । खलिया पेशामा काम गर्ने ३ सय दलित समुदायको खानी बन्दले रोजी रोटीको जोहो गर्ने बाटो बन्द भएको छ । बारेकोट क्षेत्रका रोकायागाँउ, रामीडाँडा र नायकवाडा गाविसका दलित समुदायले ब्यबस्थित रुपमा खानी संचालन गर्न माग गरेका छन् ।

‘खानी बन्द भएपछि घरजहान पाल्न कालापार जानुपर्ने बाध्यता छ,’ रामीडाँडा ७ का रतने कामीले भने ।

स्थानीयले भने खानीका कारण बस्ती जोखिममा पर्दै गएकाले बन्द गर्नुपर्ने बाध्यता भएको बताएका छन् । ‘खानीले गर्दा सबैलाई सुविधा भएको थियो, फलामका भाडाँकुडा पनि सस्तोमा गाउँमै पाइन्थ्यो,’ नायकवाडा ७ का मानबहादुर सिंहले भने, ‘तर के गर्ने ? पहिरोका कारण गाउँ नै असुरक्षित हुने संभावना देखिएपछि बन्द गराउनु पर्‍यो ।

नयाँ फलामे औजार बनाउन नपाएपछि आरनमा ब्यबसायीले पुराना औजारको मर्मत गरेर दिन कटाउने गरेका छन् । सम्बन्धित निकायले बस्तीलाई स्थानान्तरण गरेर भए पनि खानीलाई उद्योगका रुपमा विकास गर्नुपर्ने स्थानीयको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment