Comments Add Comment

भारतको तामिलनाडुमा वाइवाइ चाउचाउ प्रतिबन्ध

२२ जेठ, काठमाडौं । नेपालको चर्चित व्यवसायी घरना चौधरी ग्रुपको वाइवाइ चाउचाउलाई भारतले बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । भारतको तामिलनाडु सरकारले वाइवाइसहित म्यागी, स्मिथ एन्ड जोन्स मसला चाउचाउ बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

Wai-Wai expressभारतीय प्रख्यात चाउचाउ ब्रान्ड म्यागी भने शुक्रबार नै बिक्री वितरणमा प्रतिबन्ध गरिएको थियो ।

तामिलनाडुको खाद्य सुरक्षा निगमले तीनवटै चाउचाउमा अखाद्य वस्तु भेटेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

म्यागी चाउचाउ भने तामिल नाडुसहित भारतका गुजरात, उत्तराखण्ड, जम्मु एन्ड कास्मिर र आसाममा समेत प्रतिबन्ध लगाइएको छ ।

तामिलनाडुले म्यागिसहित तीनवटै चाउचाउमा आवश्यकता भन्दा बढी सिसा र अजिनोमोटो भेटिएपछि तीन महिनाका लागि बिक्री वितरणमा प्रतिबन्ध लगाएको बताएको छ ।

नेपाली ब्रान्ड वाइवाइ चाउचाउको भारतका विभिन्न राज्यमा उद्योग रहेको छ । पछिल्ला वर्षमा वाइवाइ भारतमा आक्रमक बजार विस्तारमा लागेको थियो ।

भारतका विभिन्न राज्यमा म्यागी चाउचाउमा अखाद्य केमिकल र सिसाको मात्रा बढी भेटिएको भन्दै बिक्रीमा प्रतिबन्ध लगाएपछि नेपाल सरकारले पनि म्यागी चाउचाउ आयात तथा बिक्रीमा अनिश्चितकालिन प्रतिबन्ध लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादित चाउचाउको पनि गुणस्तर परिक्षण गर्ने जनाएको छ । परिक्षणका क्रममा अखाद्य वस्तु भेटिए स्वदेशी चाउचाउ पनि बिक्रीमा प्रतिबन्ध लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment