Comments Add Comment

भूकम्प प्रभावितलाई राहत र परिचयपत्र वितरण सुरु

२३ जेठ, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासीले भूकम्प प्रभावितलाई राहत रकम र परिचयपत्र वितरण शुक्रबारदेखि सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको उपस्थितिमा देवचुली नगरपालिका– १ केउरेनीबाट राहत रकम र भूकम्प प्रभावितलाई परिचयपत्र वितरण सुरु गरिएको हो ।

पूर्ण क्षति भएका परिवारलाई रु १५ हजार र आंशिक क्षति भएका परिवारलाई रु तीन हजारको दरले राहत रकम वितरण गरिएको हो ।
नवलपरासीमा भूकम्पका कारण चार सय ४६ घरमा पूर्ण र तीन हजार तीन सय ४३ घरमा आंशिक क्षति पुगेको छ । तीमध्ये दुर्इ सय ९७ परिवारका दुई हजार हजार दुर्इ सय १७ जना विस्थापित भएका छन् ।

पहिलो चरणमा भूकम्पबाट धेरै क्षति पुगेको देवचुली नगरपालिकाबाट राहत रकम वितरण सुरु गरिएको हो । देवचुली नगरपालिकामा मात्रै एक सय दुर्इ घरमा पूर्णरुपमा र दुर्इ सय ६५ घरमा आंशिक क्षति पुगेको छ ।

जिल्लामा भूकम्पपीडितका लागि तीन करोड रूपैयाँ राहत रकम आवश्यक परेकोमा पहिलो चरणमा एक करोड रूपैयाँ प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले दिए ।

उनका अनुसार पहिलो चरणमा देवचुली नगरपालिकासहित अर्खला, देउराली र मैनाघाट गाविसमा राहत रकम वितरण गरिनेछ । गृह मन्त्रालयबाट थप राहत रकम प्राप्त भएपछि अन्य प्रभावितलाई पनि क्रमश वितरण गरिने ढुङ्गानाले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment