+
+

औचित्यहीन प्राधिकरणमा हामी बस्दैनौं : रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ७ गते १६:४०

७ असार, काठमाडौं । एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा गठन भएको पुनर्निर्माण प्राधिकरणलाई नौटंकीको संज्ञा दिएका छन् ।

topbahadur-rayamajhiआफूहरु अधिकार सम्पन्न स्वतन्त्र नवर्निर्माण प्राधिकरणको पक्षमा रहेको भन्दै उनले अहिले बनेको प्राधिकरणमा बस्नुको कुनै औचित्य नरहेको बताए ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा एमाओवादी नेता रायमाझीले भने-‘प्रधानमन्त्रीको नेतृत्वमा सरकार छँदैछ नि । त्यसैले गरेको भए भईहाल्थ्यो, किन प्राधिकरण चाहियो । त्यसको औचित्य छैन, हामी बस्दैनौं ।’

उनले प्राधिकरणको नेतृत्व पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दिएको भए राम्रो हुने तर्क गरे । तर, भट्टराईले आफू अध्यक्ष बन्छु भनेर चाँही नभनेको स्पष्ट पारे ।

एमाओवादी नेता रायमाझीले राहतको नाममा रकममा मात्रै ९५ करोड भ्रष्टाचार दावी गरे । उनले भने-‘जस्ता र त्रिपाल घोटालामा मन्त्री र सहयोगीको नाम आइसकेको छ । ललितपुरमा पाकिस्तानबाट आएको ब्लाङकेट ब्यापारीलाई विक्री गर्न लागेको कुरा बाहिर आईसकेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको प्राधिकरण पनि भ्रष्टाचार गर्न गठन गरेको हो ।’

कांग्रेस नेता डा. प्रकाशशरण महतले पुनर्निर्माण सम्बन्धित मन्त्रालयले गर्ने कि प्राधिकरणले गर्ने भन्नेमा अन्यौलता भएको भन्दै नवगठित प्राधिकरण पर्फेक्ट संयन्त्र नभएको बताए । उनले भने-‘विनासकारी भुकम्प आउना साथ प्राधिकरण गठन हुनु पर्नेमा ढिला भयो ।’

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञवालीले सत्तापक्षले अरु दलसँग पनि छलफल नगरेको प्रति असन्तुष्टि जनाएका छन् । उनले भने-‘प्राधिकरणमा एमाओवादी पनि समावेश हुनुपर्थ्यो । अरु दलसँग पनि छलफल, सल्लाह गर्नुपर्थ्यो ।’

दातृ निकायको सम्मेलन अघि नेपालका राजनीतिक दलहरु एक भएर निर्माणमा लागेका छन् भन्ने विश्वास दिलाउन आवश्यक रहेको भन्दै उनले अहिले दलहरुले कुनै पनि खाले विवाद गर्न नहुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?