Comments Add Comment

लेखनाथले तीनचोटि विवाह गर्नु बाध्यता

नवराज बराल
हुन त, कसैको व्यक्तिगत वा पारिवारिक विषयमा सार्वजनिक रुपमा धारणा व्यक्त गर्नु ठीक होइन । यदि, धारणा राख्नैपर्‍यो भने पनि ‘साइनो’ पर्नुपर्छ वा दुईपक्षीय छलफल भएमा कुनै एक पक्षबाट आमन्त्रित हुनुपर्छ ।

लेखनाथ न्यौपाने
लेखनाथ न्यौपाने

तर, कहिलेकाहिँ यस्तो विशिष्ट समय आउँछ जतिबेला, धारणा राख्नैपर्ने वा बहसमा भाग लिनैपर्ने हुन्छ । सामान्य व्यक्तिका व्यक्तिगत वा पारिवारिक विषय गौण बन्छन् र त्यसलाई स्वभाविक रुपमा पनि लिइन्छ । तर, सार्वजनिक ओहोदाका व्यक्ति वा परिवारका विषय भने सबैको चासो, छलफल र चर्चाको विषय बन्ने गर्छन् ।

अहिले युवा नेता लेखनाथ न्यौपाने र आस्था घिमिरेको व्यक्तिगत र पारिवारिक विषयबारे चासो, छलफल र चर्चा छ । त्यसो त, नेपाली राजनीतिका सर्वश्रेष्ठ माओवादी नेताहरु प्रचण्ड-बाबुराम लगायतको पनि व्यक्तिगत र पारिवारिक विषय चर्चामै छन् । कहिले प्रचण्डले बंगला किने, कहिले प्रचण्डका छोराले अर्को बिहे गरे, कहिले प्रचण्डकी श्रीमती सीताले बुहारी सहिनन् त, कहिले बाबुरामकी छोरी मानुषी भारत पढ्न गइन्…यस्तै-यस्तै पढ्न र सुन्न पाइन्छ समाचारहरुमा ।

तर, झलनाथले कहाँ बंगला किने कि किनेनन् ? उनको छोरो कहाँ पढ्छ ? माधव नेपालकी श्रीमती कस्तो स्वभावकी छन् ? सुशील, केपी, शेरबहादुरलगायतका नेताहरुको व्यक्तिगत र पारिवारिक अवस्था के छ भन्नेबारे भने सायद, उनका आफन्त र छिमेकीलाई बाहेक अरुलाई थाहा छैन । उनीहरुका व्यक्तिगत विषयमा कसैले चर्चा गर्दैन ।

हुन त, प्रचण्ड-बाबुराम तथा अन्य माओवादी नेताहरुका श्रीमति र परिवार समेत आन्दोलनमा सहभागी छन् र चर्चा पनि छन् तर, अरुका भने गुमनाम । यद्यपि, आलोचना हुनुका पछाडि धेरै कारण छैनन् । एउटै मात्र कारण छ-उनीहरु माओवादी हुन् र गणतन्त्रका हिमायती पनि ।

माओवादी नेतृत्वको अत्यन्तै ठूलो कमजोरी के छ भने, लडाईँमा दुश्मन विरुद्ध ज्यादै निर्मम र सम्झौतापछि साह्रै उदार बनिदिने । अनि, अर्को सत्य के पनि हो भने कांग्रेस, एमालेहरु कमाउनका लागि सबै मिल्छन् तर, माओवादीहरु कसैले कमायो भने धेरै हल्ला गर्छन् । जसका कारण माओवादीको सांगठानिक बदनाम हुने गरेको छ भने अरु पार्टीका नेताको व्यक्तिगत मात्र ।

माओवादीहरु सार्वजनिक रुपमा आलोचना गर्छन् तर, अरु पार्टीकाले व्यक्तिगतरुपमा । कम्युनिष्टहरु ‘छलफलमा स्वतन्त्रता र काम कारबाहीमा एकरुपता’ भनेर नै आˆनैबाट र आˆनै कारणले पछि पर्दै गए । तर, अन्य पार्टीहरुमा भने ‘छलफलमा एकरुपता र कामकारबाहीमा स्वतन्त्रता’ देखिन्छ । त्यसैले पनि मन लागे काम गर्छन्, नलागे गर्दैनन् तर, बाहिर भने पार्टी र आˆनो पार्टीका नेता तथा कार्यकर्तामा एकरुपता देखाउँछन् । त्यतिमात्र होइन, उनीहरुले कमाएको केही रकम आˆनो विरुद्ध हुन सक्ने सम्भावित खतराका विरुद्ध खर्च गर्छन् । त्यसैले पनि कांग्रेस, एमालेका नेताहरुले कुकर्मबारे समाचारमा पढ्न वा सुन्न खासै पाईँदैन ।

यसको उदाहरण त सार्वजनिक कार्यक्रममा अश्लील हर्कत देखाएकोमा सर्वत्र बिरोध भएपछि बर्खास्त बनेका कृषिमन्त्री हरि पराजुली नै हुन् । उनको विरुद्ध दुई दिनसम्म ठूला मिडियामा समाचार पढ्न पाइएन । तर, अहिले लेखनाथ न्यौपाने र ४ बर्ष पहिले पारपाचुके भइसकेको सम्बन्धबारे पनि पढ्न पाइएको छ ।

लेखनाथ र आस्था दुवै सामान्य नागरिक मात्र होइनन् । उनीहरु माओवादी आन्दोलनका नेता र नेपालमा गणतन्त्र ल्याउनका निम्ति बहादुरीपूर्वक लडेका जिउँदा सहिद पनि हुन् । त्यतिमात्र होइन, उनीहरु राजनीतिक व्यक्ति हुन् र कुनै समयका श्रीमान्-श्रीमति पनि । तसर्थ, उनीहरुको बारे मिडियामा समाचार बने ।

व्यक्तिगत रुपमा लेखनाथ न्यौपानेलाई म राम्रोसँग चिन्दछु । उनले पनि मलाई चिनेकै छन् । सायद, बिर्सेका छैनन् होला । तर, आस्था घिमिरेका बारेमा भने मैले सुनेको मात्र छु । उनले पनि मलाई चिन्दिनन् होला । लेखनाथलाई चिनेको नाताले मलाई उनीहरुको सम्बन्धको विश्लेषण गर्न मन लाग्यो । उनीहरुसमक्ष अनुमति चाहन्छु ।

लेखनाथ न्यौपाने अहिलेका युवा नेताहरु मध्येका सबैभन्दा क्षमतावान् नेता हुन् । उनी अहिले जुनसुकै पार्टीको जुनसुकै हैसियतमा होउन् तर, ठोकुवा गरेर भन्न मिल्छ, उनीजत्तिकै युवा नेता नेपालमा अरु कोही पनि छैनन् । माओवादीले शुरु गरेको जनयुद्धमा होस् वा शान्ति प्रक्रियामा पनि उनको क्रियाशीलता, अध्ययनशीलता, लेखन, नेतृत्व र वाक क्षमता अरुमा देखिँदैन । जनयुद्धको समयमा र पछि पनि उनले लेखेका कृतिहरु अध्ययन गर्दा र सञ्चार माध्यममा उनका बहस तथा जनतामा उनको अभिव्यक्ति सुन्दा जोकोहीको मनले भन्ने गर्छ-नेता होस् त लेखनाथजस्तो !

तर, त्याग र क्षमताका आधारमा माओवादी पार्टीले उनलाई भूमिका दिएन । पार्टीमा उनीभन्दा धेरै जुनियर पनि नेता भए, उनलाई बनाइएन । यसको कारण हो-उनले नेताको पनि गलत प्रवृत्तिको अगाडि नै भण्डाफोर गरे । तर, सोका लागि गुट बनाउन जानेनन् वा चाहेनन् ।
गुटविनाको संघर्षले केही हुँदैन भन्ने कुरा उनले अहिले भने बुझेको हुनुपर्छ । गुट र पार्टी फुटकै कारण ४ बर्ष अगाडि नै मिलिसकेको उनको पारिवारिक विषय सतहमा छताछुल्ल बनेको हो भन्ने कुरा उनले त नबुझ्ने कुरै भएन र अरुले पनि बुझेकै छन् ।

जसका विरुद्ध हिजो लेखनाथ धावा बोल्थे, उनीहरुले नै आज लेखनाथका विरुद्ध अनर्गल प्रचार गर्ने अवसर पाए । तर, यसो गर्नुहुन्न भन्ने कुरा उनकी पूर्वपत्नी आस्थाले बुझ्नुपर्ने हो । उनले गलत नियतले नै त्यसो गरेको भए लेखनाथको बदनाम गर्ने उनको प्रयास सफल हुनेवाला छैन । किनकि, लेखनाथले परिस्थितिबस तीन वटा बिहे गरेको कुरा दुनियाँलाई थाहा छ । उनको बिबाह कानुनी र सामाजिक मान्यताअनुरुप नै छ । पहिलेको श्रीमती युद्धमा गुमाएपछि दोस्रो बिहे गर्नु, दोस्रो पटक बिहे गरेको श्रीमतीले पारपाचुके दिएपछि तेस्रो बिहे गर्नुलाई गलत प्रवृत्ति भन्न मिल्छ ? यो त नैतिक, कानुनी र सामाजिकरुपले पनि स्वभाविक प्रक्रिया हो ।

आस्थाले लेखनाथ विरुद्ध युद्ध शुरु गर्छु भनेको पनि पढ्न पाइयो । यदि, यो सत्य हो भने उनको युद्ध पागलपन बाहेक केही होइन । आफू अन्यायमा परेको वकालत गर्दा अरुलाई अन्यायमा पार्न हुँदैन भन्ने कुरा बुझ्नु पर्छ कि पर्दैन ? उनकै कारण लेखनाथ र उनकी श्रीमति विभुतिले अनावश्यक तनाब खेप्नु परेपछि उनी पीडक भइन् कि पीडित ? यस्तो झगडाले हुर्कँदै गरेको छोराको मानसिकतामा कस्तो असर पर्ला भनेर आस्थाले सोच्नुपर्ने होइन ?

महिलाले जे बोल्यो, जे चाहृयो त्यही सही हुन्छ ? भलै, आस्थाका पनि आफ्नै पीडा होलान् तर, राजीखुशी पारपाचुके (डिभोर्स) दिएपछि अब उनले लेखनाथसँग जुहारी खेल्नु गैरकानुनी र गलत प्रवृत्ति हो ।

दाम्पत्य जीवन सफल बनाउन श्रीमान् र श्रीमति दुवैको उत्तिकै भूमिका रहन्छ । लेखनाथसँग बिहे गर्नु गल्ती हो भने, त्यो गल्तीलाई प्रचार गर्नु आस्थाको अर्को ठूलो गल्ती हो । गल्तीलाई प्रचार गर्ने होइन, सुधार्नतिर जानुपर्छ । अतीतका तीता क्षणहरु बिर्सने हो, कोट्याउने होइन ।
तसर्थ, लेखनाथ जत्तिको आशालाग्दो नेताको राजनीतिक जीवन सिध्याउन गरिएका षड्यन्त्रमा आस्थाले साथ दिनु र आस्थालाई उचाल्ने काम अरुले गर्नु हुँदैन । अरुको ठाउँमा आफू बसेर सोच्नु र व्यवहार गर्नु जरुरी छ ।
-लेखक पोखराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment