Comments Add Comment

जाजरकोटको पीडा : डोकोमा विरामी बोकेर अस्पताल

Jajarkot-Birami

बी.बी. गिरी
२२ असार, जाजरकोट । पहाडी जिल्ला जाजरकोटका दुर्गम गाउँमा बिरामीलाई डोकोमा बोकी स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्ने बाध्यता छ । भौगोलिक बिकटता र यातायातको असुबिधाका कारण बिरामीलाई डोकोमा बोकेर स्वास्थ्य संस्था लिनु पर्ने बाध्यता भएको हो ।

दुर्गम गाउँबाट स्वास्थ्य संस्था पुग्न १ दिनको पैदल बाटो हिँड्नु पर्दछ । स्वास्थ्य संस्था र गाउँको दुरी टाढा भएकाले बिरामीलाई सास्ती हुने गरेको छ ।

‘स्वास्थ्य संस्था टाढा छ, गाउँमा कोही बिरामी परे डोकोमा हालेर लैजानु पर्छ । यस्तो बेला बिरामीसंगै निरोगीलाई झन् दुःख हुन्छ,’ रोकायगाउँ १ पहाडा मुल्सामका मनबहादुर शाहीले गाउँको बाध्यता सुनाए । यसरी उपचार गर्न लैजाने क्रममा कतिपयको बाटोमै अकालमा ज्यान जाने गरेको छ ।

ठूलो भूगोल, गाविस कम

ठूलो भूगोल र कम गाविस भएकाले समस्या भएको जिल्ला स्वास्थ्य प्रमुख धिरजंग शाहको भनाइ छ ।

‘जिल्लाको भूगोल र जनसंख्या हेरेर स्वास्थ्य संस्था कम छन् । हामीले सामुदायिक स्वास्थ्य इकाइ स्थापनाको लागि परिपत्र गरेका छौं कम्तिमा २० वटा इकाइ अनिबार्य हो,’ स्वास्थ्य प्रमुख शाहले भने ।

तत्काल उपचार गर्नु पर्ने बिरामीले उपचारको सुबिधा नपाउने अबस्था छ । कर्णाली अञ्चलको डोल्पा र जुम्ला जिल्लासँग सिमाना जोडिएका जाजरकोटका गाउँका बासिन्दाले सिटामोल लिनका लागि पनि ८ घण्टा पैदल हिँड्नु पर्ने बाध्यता छ ।

दुर्गमा सरकारले संचालन गर्ने सुरक्षित सुत्केरी सेवा, पोषण तथा खोप कार्यक्रम नाम मात्रमा सीमित हुने गरेका छन् । भौगोलिक बिकटता छरिएको बस्तीका कारण जिल्लाको स्वास्थ्य सेवा प्रभाबित भएको छ । जसका कारण सामान्य रोग पनि जाजरकोटमा बेला बेला महामारीको रुपमा फैलने गरेको छ ।

०६६ सालमा फैलिएको झडापखाला र यसै बर्ष फैलिएको मौससी फ्लूले महामारीको रुप लिँदा ठूलो मानवीय क्षति भएको थियो । समयमा दुर्गम स्वास्थ्य संस्थासम्म स्थानीयको पहुँच बिस्तार गर्न नसके जाजरकोटलाई महामारीले सताइ रहने छ ।

दुर्गम गाउँबाट उपचारको लागि बिरामी बोकेर सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याउँदै जाजरकोटकबासी । तस्वीर ः बी.बी. गिरी/अनलाइनखबर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment