Comments Add Comment

लीलामणिको कुर्सीमा सोमलाल र जयमुकुन्दको दाबी !

१ साउन, काठमाडौं । मुख्यसचिव लीलामणि पौडेल तीनवर्षे कार्यकाल पूरा गरी साउन २३ देखि विदा हुन लागेका छन् । अबको २२ दिनपछि आउने नयाँ मुख्य सचिवका लागि करीव आधा दर्जन सचिवहरु मैदानमा उत्रिएका छन् ।

अब निजामति प्रशासनको सर्वोच्च पद मुख्यसचिव को बन्ला ? यसमा कर्मचारीमात्र होइन, सिंगै मुलुकको चासो बढेको छ ।

को-को छन् दाबेदार ?

Sacib
जेष्ठताका आधारमा गरीवी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम, स्थानीय विकास मन्त्रालयका डा.सोमलाल सुवेदी र उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाल मुख्य सचिवका दाबेदार हुन् ।

यी तीनैजना ०६७ चैतमा सचिव भएका हुन् । यी तीन सचिवभन्दा चार महिनापछि सचिव बढुवा भएका विश्वप्रकाश पण्डित, सुरेशमान श्रेष्ठ र माधव रेग्मी पनि मुख्य सचिवको दाबेदारका रुपमा आफूलाई उभ्याउन चाहान्छन् ।

मुख्यसचिव हुनका लागि जेष्ठतालाई मात्र आधार नबनाइएकाले दोस्रो बरियताका सचिवहरुले पनि दाबी गर्न पाएका हुन् । निजामति सेवा ऐन अनुसार राजपत्रांकित विशिष्ठ श्रणीको मुख्य सचिवमा बढुवा गर्दा बहालवाला सचिवहरुमध्येबाट नेपाल सरकारले जेष्ठता र कार्यकुशलताको आधारमा छनौट गरी बढुवा गर्नेछ ।

जेष्ठताका आधारमा श्रीधर गौतम एक नम्बरमा छन् । तर, गौतमलाई अख्तियारले नसिहत दिएको र कार्यकुशलतामा पनि पछि पारिएका कारण उनको सम्भावना कम रहेको बताइन्छ ।

मुख्य सचिवका प्रमुख दाबेदार सोमलाल सुबेदी र जयमुकुन्द खनाल नै देखिएका छन् । यी दुबैले आ आफ्नो पक्षमा लबिङ गर्न कुनै कसर बाँकी राखेका छैनन् ।

मुख्य सचिवका दाबेदारले राजनीतिक कित्ताबन्दी समेत गर्न थालिसकेका छन् । पछिल्लोपटक सुवेदी नेपाली कांग्रेस र खनाल एमाले वृत्तमा रुचाइएका उम्मेदवार हुन् ।

कांग्रेस वृत्तबाट विश्वप्रकाश पण्डितले पनि शक्ति लगाइरहेका छन् । उनी २०६८ साउनमा सचिव भएकाले तीनजना बरिष्ठ र कार्यकुशलता भएका सचिव हुँदाहुँदै उनको पालो आउने सम्भावना कम रहेको उच्च स्रोतले जनाएको छ ।

पण्डितले भने आफू कांग्रेसनिकट भएकै कारण झलनाथ खनाल प्रधानमन्त्री भएका बेला सुवेदी र खनाललाई सचिव बनाएर आफूलाई पछि पारिएकाले अहिले न्याय हुनुपर्ने माग गर्दै आएको स्रोत बताउँछ ।

मुख्यसचिव कसलाई बनाउने भन्ने बारेमा सत्ता साझेदार कांग्रेस र एमालेबीच छलफल भइसकेको छैन । यद्यपि सुवेदी र खनालमध्ये एकजना मुख्य सचिव हुने लगभग निश्चित रहेको एक मन्त्रीले बताए ।

मुख्य सचिव हुनका लागि जेष्ठता र कार्यकुशलतालाई आधार बनाएको छ ऐनले । तर, जेष्ठतालाई नै आधार बनाउन छाडिएको धेरै पहिलेनै हो

सुवेदीलाई मुख्य सचिव बनाउन प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला र योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलको जोडबल रहेको छ ।

सहसचिवबाट सचिव बढुवा हुने बेला एमालेका राजेन्द्र पाण्डे र गंगालाल तुलाधरको जोडबल रहे पनि सुवेदी अहिले कांग्रेस निकट छन् । प्रधानन्त्रीको किचन क्याबिनेटको जोडबलमै उनी स्थानीय विकासमा पुगेका हुन् ।

यता जयमुकुन्द खनाललाई मुख्य सचिव बनाउन एमालेले संस्थागत पहल नै गरेको छ । उद्योगमन्त्री महेश बस्नेतले आफ्नो सचिवलाई मुख्य सचिव बनाउन अध्यक्ष केपी ओलीलाई दबाब दिइरहेका छन् ।

खनालका लागि एमाले मात्र होइन, कांग्रेसकै कृष्णप्रसाद सिटौला लगायतको एउटा प्रभावशाली समूह पनि सकारात्मक छ । ‘गृह मन्त्रालयमा लामो अनुभव भएको र शालिन व्यक्ति भएकाले सिटौला लगायतको समूह खनालको पक्षमा छ’ कांग्रेसका एक सभासदले भने ।

जेष्ठताका हिसाबले एकैदिन बढुवा भए पनि सिटरोलमा सुवेदी दुई र खनाल तीन नम्बरमा छन् । कार्यकुशलताका हिसाबले सुवेदी संघीय मामिला तथा विकेन्द्रीकरणमा काबिल मानिन्छन् भने खनाल गृह प्रशासनको अनुभवी, स्थानीय शासन सञ्चालनमा पोख्त मानिन्छन् ।

सुवेदीसँग प्रमुख जिल्ला अधिकारी भएको अनुभव छैन । खनाल भने काठमाडौं तथा झापा लगायत जिल्लाको प्रमुख जिल्ल्ला अधिकारी भएका अनुभवी हुन् ।

जेष्ठता पहिल्यै तोडियो
मुख्य सचिव हुनका लागि जेष्ठता र कार्यकुशलतालाई आधार बनाएको छ ऐनले । तर, जेष्ठतालाई नै आधार बनाउन छाडिएको धेरै पहिलेनै हो ।

हालका मुख्यसचिव लीलामणि पौडेल धेरै जेष्ठ सचिवलाई उछिनेर मुख्य सचिव भएका हुन् । त्यसबेला शंकर कोइराला, उमाकान्त झा उनीभन्दा बरिष्ठ थिए ।

Lila-mani-poudel

त्यसअघिका मुख्य सचिव माधव घिमिरे पनि उनी भन्दा जेष्ठ सचिव उमेश मैनाली र जनकराज जोशीलाई पछि पारेर मुख्य सचिव भएका हुन् ।

व्यवहारमा सचिव भएको लटलाई हेर्ने गरिन्छ । एउटै लटका सचिवहरु मध्ये सिटरोलका आधारमा अन्तिम नम्बरमा भएका पनि मुख्य सचिव हुने प्रणाली बसिसकेको छ ।

यसअघिका मुख्य सचिवहरु विमल कोइराला, लोकमानसिंह कार्की र भोजराज घिमिरे पनि एकै लटका आफूभन्दा अघिल्लो नम्बरमा रहेका सचिवहरुलाई पन्छाएरै मुख्य सचिव भएका थिए ।

एक पूर्वसचिव भन्छन्-मुख्य सचिव भनेको प्रधानमन्त्रीको च्वाइस हो र राजनीतिक शक्ति सन्तुलन पनि हो । राजाले लोकमानलाई छाने, गिरिजाप्रसादले भोजराज घिमिरे छाने, माधव नेपालले माधव घिमिरे छाने, बाबुराम भट्टराईले लीलामणि छाने यसबाट पनि बुझन् सकिन्छ ।

कस्तो हुनुपर्छ मुख्य सचिव ?
मुख्य सचिव मुलुकको स्थायी सरकारको सर्बोच्च व्यक्तिमात्र होइन, प्रधानमन्त्रीको सहयोगी पनि हो । राजनीति र प्रशासनको पुलको काम पनि मुख्य सचिवले गर्नुपर्छ ।

पूर्व कानुनसचिव माधव पौडेल भन्छन्-मुख्य सचिव कानुन बुझेको, शासन प्रणाली बुझेको हुनुपर्छ । सकारात्मक सोच र स्वच्छ छवि मुख्य सचिवको बलियो आधार हो, त्यति भएपछि मुख्य सचिवले सेलिबि्रटी बनि रहनुपर्दैन, मिडियाबाजी पनि गर्नु पर्दैन ।

मुख्य सचिवले राजनीतिक वृत्तबाट हुन सक्ने अनियमितालाई नियमन गर्ने क्षमता राख्नुपर्छ र प्रधानमन्त्रीलाई विश्वासमा लिन सक्नुपर्छ ।

मसँग अनुभव छ : जयमुकुन्द खनाल
मुख्य सयचिवका प्रमुख दावेदारमध्येका दुवै सचिव सोमलाल सुबेदी र जय मुकुन्द खनालसँग अनलाइनखबरले सोधेको थियो-मुख्य सचिव तपाई नै हुनुपर्ने आधार के हो ?

मुख्य सचिवमा मेरो स्वभाविक दाबेदारी हो । मैले गृह प्रशासनको लामो अनुभव लिएको छु । शान्ति सुरक्षा अबका दिनको ठूलो चुनौति हो । मैले धेरै चुनौतिपूर्ण जिल्लाको नेतृत्व गरेर शान्ति सुरक्षा कायम गर्ने अनुभव हासिलल गरेको छु, त्यसलाई अब समग्र देशको लागि उपयोग गर्न चाहान्छु । मुलुक अब संघीय शासन प्रणालीमा जाँदैछ । संघीय संरचनामा जाँदा धेरै नयाँखालका चुनौतिहरु आउन सक्छन्, त्यसलाई सामना गर्ने र शान्ति सुरक्षा तथा प्रशासनिक व्यवस्थापन गर्ने क्षमता म राख्छु । म स्वयं प्रधानमन्त्री कार्यालयको सचिव भएर पनि काम गरेकाले क्याबिनेट कसरी चलाउने भन्ने अनुभव पनि छ ।

म पोटेन्सियल दावेदारः सोमलाल सुबेदी
म मुख्यसचिवको दाबेदारमात्र होइन, पोटेन्सियल दाबेदार हो । विकेन्द्रीकरण बुझेको, स्थानीय शासन बुझेको, संघीयताको विज्ञ को छ अहिलेको सचिवहरुमा ? तपाईहरुले नै दाँज्नुस । मैले त यी विषयमा कितावहरु नै लेखेको छु, पीएचडी नै गरेको छु ।

अबको आवश्यकता संघीयता बुझेको,प्रशासन बुझेको मुख्यसचिव हुनुपर्छ । अबका चुनौती पार लगाउन म सक्छु । मलाई सिष्टम बाहिरबाट खोजेर ल्याउनुपर्ने हो राज्यले, जबकि म त सिस्ष्टमभित्रै छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment