+
+

साउदी र कुवेतसँग श्रम सम्झौता छिट्टै

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १ गते १७:१४

१ साउन, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ । साउदी अरव र कुवेतबीच घरेलु कामदार तथा अन्य क्षेत्रमा श्रमिक आपूर्ति गर्न द्विपक्षीय सम्झौताको अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Ministry-of-external-affair

मन्त्रालयले छवटा खाडी मुलुक र मलेसियामा न्यून लागतमा कामदार पठाउने निर्णय कार्यान्वयन गर्न सम्बन्धित देशमा रहेका नेपाली नियोगलाई निर्देशन दिइसकेको उक्त मन्त्रालयका कायम मुकायम सचिव शङ्करदास बैरागीले बताए ।

वैदेशिक लगानी तथा पर्यटन प्रवर्द्धनका लागि विदेशस्थित सबै नेपाली नियोगलाई सक्रिय तुल्याइएको र लगानी सम्मेलन आयोजनाका निम्ति तिनलाई आवश्यक गृहकार्य गर्न अनुरोध गरिएको जानकारी पनि उनले दिए ।

भूकम्पपछिको पुनःनिर्माण तथा त्यस सम्बन्धमा सम्बन्धित मुलुकले नेपालका बारेमा सम्प्रेषण गरेका नकारात्मक यात्रासुझाव हटाउन लगाउने र ‘नेपाल सुरक्षित छ, ढुक्क भएर यात्रा र मनोरञ्जनसँगै नेपाललाई सहयोग गर्नुहोस्’ नाराका साथ विविध कार्यक्रम आयोजना भइरहेका उनले बताए ।

राहदानीबाट चार अर्बभन्दा बढी राजस्व

राहदानी विभागले आर्थिक वर्ष २०७१/७२ मा १३ लाख ५१ हजार नौ सय तीनवटा यन्त्रले पढ्ने राहदानी (एमआरपी) जारी गरेर रु चार अर्ब ४६ करोड ६० लाख २७ हजार तीन सय राजस्व सङ्कलन गरेको छ ।

हालसम्म विभागले ३५ लाख ४७ हजार एक सय ७३ वटा राहदानी जारी गरिसकेको छ । विभागका अनुसार हालसम्म एक लाख २० हजार राहदानी नेपाली नागरिकले हराएका र त्यससम्बन्धी विवरण पनि जारी गरिएको छ ।

भूकम्पपीडितलाई झन्डै चार अर्ब सहयोग

परराष्ट्र मन्त्रालयले भूकम्पपीडितको सहायतार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु तीन अर्ब ९३ करोड ९२ लाख ८७ हजार आठ सय ३९ दाखिला गरेको छ ।

उक्त मन्त्रालयले विदेशस्थित नेपाली नियोगबाट प्रत्यक्ष रुपमा रु एक अर्ब ६६ करोड १९ लाख आठ सय ७५ र विभिन्न सङ्घसंस्था र मुलुकबाट एक अर्ब ४५ करोड ४२ लाख आठ सय ६४ रूपैयाँ सङ्कलन गरेको जनाएको छ ।

सहायता रकम प्राप्त हुने क्रम जारी रहेको पनि जनाइएको छ ।

मस्यौदामा सुझाव सङ्कलन

नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकको राय सुझाव सङ्कलन गर्न संविधानसभाबाट निर्देशन भएबमोजिम सुझाव सङ्कलनको काममा विदेशस्थित सबै नेपाली नियोगलाई परिचालन गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?