+

राँगाको मासुमा हुनसक्छ फित्तेजुका, के हानि गर्छ ?

२०८१ जेठ  १० गते १४:२० २०८१ जेठ १० गते १४:२०
राँगाको मासुमा हुनसक्छ फित्तेजुका, के हानि गर्छ ?

काठमाडौं । भक्तपुरको दुई पोखरीस्थित एक होटल व्यवसायी भन्छन्- ‘राँगाको ताजा मासुमा पनि जुका भेटिन्छ । काट्दा काट्दैको मासुमा कसरी जुका पर्छ ?’ मःम वा अन्य परिकार बनाउनका लागि ल्याइएको मासुमा बारम्बार जुका भेटिने गरेको उनको भनाइ छ ।

मासुका लागि काठमाडौंमा दैनिक औसत एक हजार राँगाभैंसी काटिने गरको तथ्यांक छ । यी मासुहरु वधशालाबाट सोझै होटल वा उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । २०० बढी वधशालामा नियमित रुपमा मासुको गुणस्तर जाँच भएको पाइँदैन ।

पशुरोग विशेषज्ञ डा. सुजन राणा भन्छन्, ‘ताजा खासगरी फल मासु नियालेर हेर्दा जुका भेटिन्छ । यो फित्ते जुका हो । उनका अनुसार यसलाई मेडिकल भाषामा ‘टेनिया स्याजिनाटा’ भनिन्छ । मुख्यत: राँगाभैंसीको आन्द्रामा यस्तो जुका हुन्छ । त्यहींबाट अन्यत्र पनि फैलिने गर्छ ।

फित्तेजुका एकखाले चेप्टो परजीवी कीरा हो । यो चेप्टो हुने भएकोले यसलाई फित्तेजुका भनिएको हो ।

दिसा लगायतमा यसको अण्डा हुन्छ, जुन घाँसपानी खाने क्रममा राँगाभैंसीको आन्द्रामा पुग्छ । त्यही यसको लार्भा बन्छ । आन्द्राबाटै यो जनवारको अन्य भागमा फैलिन्छ र सिस्ट (पानीको फोका) बन्छ । त्यस्तो जनावरलाई काट्दा मासुमा जुका भेटिन्छ । खासगरी चिउँडो, जिब्रो, घाँटी तथा टाउकोको मासुमा फित्तेजुका बढी हुन्छ ।

डा. राणाका अनुसार राँगाको चिउँडो, जिब्रो, घाँटी र टाउकोको मासुमा फित्तेजुका बढी हुन्छ । ‘यसबाहेक अन्य भागमा पनि हुनसक्छ,’ डा. राणा भन्छन्, ‘फल मासुमा राम्ररी खोज्यो भने जुका भेटिन सक्छ ।’

यस्तो मासु खाँदा के हुन्छ ?

राँगाको मासु विभिन्न परिकार बनाएर खाइने गरिन्छ । यदि उक्त मासुमा फित्ते जुकाको लार्भा भएमा त्यो सहजै मान्छेको शरीरमा पुग्छ ।

जुका आन्द्रामा टाँसिएर बस्छ । यस्तो अवस्थामा मान्छेले जतिपनि खानेकुरा खान्छन्, त्यसको पोषक तत्व जुकाले खाइदिन्छ । त्यही कारण पेटमा जुका परेपछि मान्छे कमजोर र कुपोषित देखिन थाल्छ ।

फित्तेजुकाले आन्द्रामा अण्डा पार्न सक्छ र त्यो रगतको माध्यम हुँदै शरीरको अन्य अंगमा फैलिन सक्छ । कलेजो, मिर्गौला, मांसपेशी र मस्तिष्कसम्म पुग्ने जोखिम छ,’ डा. राणा भन्छन्, ‘यस्तो अवस्थामा छारेरोग, पक्षघात हुनसक्छ । समयमा उपचार नगरे मृत्यु समेत हुनसक्छ ।’ जनावरमा रहेको संक्रमण कुनै माध्यमबाट मान्छेमा सर्‍यो भने त्यसलाई ‘जुनोटिक रोग’ भनिन्छ । फित्तेजुकाको संक्रमण पनि एक प्रकारको जुनोटिक रोग नै हो ।

पकाएर खाँदा जुका मर्छ ?

के हामीले खाइरहेको मासुजन्य परिकारमा फित्तेजुका हुनसक्छ ? वा यदि मासुमा यो जुका भए राम्ररी पकाएर, भुटेर खाँदा असर गर्दैन ? यी आम रुपमा उठ्ने प्रश्न हुन् ।

डा. राणा भन्छन्, ‘राम्ररी उसिनेर, भुटेर खाँदा कीरा पनि मर्छ र त्यसले असर गर्दैन भन्ने धेरैको बुझाइ छ । तर वैज्ञानिक रुपमा के पुष्टि भएको छ भने जसरी पकाएर खाएपनि मासुमा त्यसको अंश छ भने त्यसले मान्छेलाई हानि नै गर्छ ।’

अब के गर्ने त ?

डा. राणाका अनुसार यसलाई नियन्त्रण गर्ने एक मात्र राम्रो उपाय भनेको मासु जाँच नै हो । तर नेपालमा मासुको गुणस्तर जाँच गर्ने परिपाटी त्यति छैन ।

‘पशुवध गर्नुअघि वा वधशालामा राँगाभैंसीको मासु जाँच अनिवार्य तवरमा गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘मासु बिक्री गर्नुअघि त्यसमा सिस्टको संख्या छ कि छैन, छ भने उक्त मासु बिक्री गर्न नमिल्ने नियमावली बनाउनुपर्ने हुन्छ ।’

पाँचवटा सिस्ट देखिएमा दुई-दिन चिसोमा राखेर बेच्ने, १० भन्दा बढी देखिएको भने १० दिन चिस्यानमा राखेर मात्र बेच्ने र त्यो भन्दा बढी भयो भने मासु नबेच्ने अथवा फाल्नुपर्ने कार्यविधि बनाउनुपर्ने उनी बताउँछन् ।

‘तर राँगाभैंसीको स्वास्थ्य जाँच गरिंदैन, न मासु काट्नुअघि न बेच्नुअघि नै त्यसको गुणस्तर जाँच गरिएको पाइन्छ,’ डा. राणा भन्छन्, ‘यही कारण उपभोक्ताको भान्सासम्म फित्तेजुका भएको मासु पुग्ने गरेको छ ।’

मासु जाँच ऐन प्रभावकारी रुपमा कार्यन्वयन नहुँदा उपभोक्ताहरु यस्तो मासुको जोखिममा छन् । पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ अन्तर्गत वधशाला ऐनहरू निर्माण भएका छन् । पशुवध गर्नुअघि जँचाउनुपर्ने, वध गरिएको पशुको मासु जाँच गर्नुपर्ने, मासुमा छाप वा चिह्न लगाउनुपर्ने जस्ता थुप्रै ऐन छन् । ती ऐन कार्यान्वयन नगरे पाँचदेखि २० हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुने व्यवस्था छ । तर यी सबै ऐन लागू भएका छैनन्, न त सम्बन्धित निकायले कार्यान्वयन भए नभएको अनुगमन नै गरेका छन् ।

ललितपुरस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार पहिले पशुसेवा विभागको अन्तर्गत भेटेरीनरी स्वास्थ्य कार्यालयबाट निरीक्षण गरिन्थे । डा. ढकाल भन्छन्, ‘तर संघीय सरकार आएपछि यो कार्यालय नै खारेज भएको छ । त्यसैले यस विषयमा काम गर्ने कुनै निकाय छैन ।’

खाद्य सुरक्षा फित्तेजुका राँगाको मासु
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय