Comments Add Comment

हामीलाई कसैले कारबाही गर्न सक्दैनः मेनपावर ब्यवसायी

९ साउन, काठमाडौ । कार्यालय बन्द गरेर आन्दोलन गरिरहेका मेनपावर ब्यवसायीलाई तीनदिनभित्र हड्ताल नरोके कारबाही गरिने चेतावनी सरकारले दिएको छ । मेनपावर ब्यवसायीले भने आफूहरुलाई सरकारले कारबाही गर्न नसक्ने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार विभागले शनिबार संयुक्त सूचना जारी गरी वैदेशिक रोजगार ब्यवसाय संचालन गर्न इजाजत पाएका संस्थाहरुलाई तीन दिन भित्र हड्ताल अन्त्य गरी ब्यवसायी सूचारु गर्न निर्देशन दिएको छ ।
ब्यवसायीले तीन दिनभित्र काम सूचारु नगरेमा वैदेशिक रोजगार ऐन र वैदेशिक रोजगार नियमावली २०६४ बमोजिम कारवाही हुने प्रवर्द्धन बोर्ड र विभागले चेतावनी दिएको छ ।

‘ब्यवसायीलाई तीन दिनभित्र सेवा शुरु नगरे कारबाही गर्ने भनिएको छ,’ नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका प्रथम उपाध्यक्ष कुमोद खनालले भने, ‘वैदेशिक रोजगार ऐन २०६४ मा ब्यवसायीलाई कारबाही गर्ने भनेर कहाँ लेखेको छ ?’ उनले आफूहरुलाई कसैले कारवाही गर्न नसक्ने र ब्यवसायीहरुलाई तर्साउन सूचना जारी गरिएको दाबी गरे ।

कतार, यूएई, साउदी अरब, ओमान, बहराइन, कुबेत र मलेसियामा असार २१ गतेदेखि फ्री भिसा र फ्री टिकटको निर्णय लागू गरेपछि ब्यवसायीहरु आन्दोलित छन् ।

वैदेशिक रोजगार ऐनमा भने कम्पनीको सेवा ठप्प पारी आन्दोलन गरेका हुने कारबाहीको बारेमा भने उल्लेख छैन । ‘कसुर र दण्ड सजायँ’ शीर्षकमा इजाजत नलिइ ब्यवसाय सञ्चालन गरेमा, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएमा, इजाजतवालाले विनास्वीकृत कामदार पठाएमा, कामदारको छनोट सूची प्रकाशन नगरेमा, रकम फिर्ता वा क्षतिपूर्ति दिन इन्कार गरेमा, सरकारले खुला नगरेका मुलुकमा कामदार नपठाएमा वा अनुमति विना शाखा कार्यालय खोलेमा सजायँको भागीदार हुने कुरा ऐनमा उल्लेख छ ।

मेनपावर ब्यवसायीहरुले वैदेशिक रोजगारमा पठाउँदा अपनाउनुपर्ने कागजी प्रक्रियाहरु पूरा नगरेमा सजायँ हुने वैदेशिक रोजगार ऐनमा उल्लेख भए पनि आन्दोलन वा हड्ताल गर्न नपाउने कुरा भने कहीँ कतै उल्लेख गरिएको छैन ।

मेनपावर ब्यवसायीले लिन थाले श्रम स्वीकृति
नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको नेतृत्वमा ब्यवसायीहरु काम ठप्प पारि आन्दोलन जारी राखे पनि केही मेनपावरले भने श्रम कार्यालयबाट धमाधम कामदारको श्रम स्वीकृति लिइरहेका छन् ।

वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयबाट उनीहरुले गोप्य रुपले अन्तिम श्रम स्वीकृति लिइरहेका छन् । ब्यवसायीहरुको आन्दोलन शुरु भए यता ५० वटा भन्दा बढी मेनपावरले अन्तिम श्रम स्वीकृति लिइरहेको काठमाडौ श्रम कार्यालय ताहाचलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment