Comments Add Comment

छापामा आज : विद्रोहको मुडमा छैन रोल्पा

चेपुवामा जनप्रतिनिधि, चन्द भन्छन्– चन्दा देऊ, दिए कारबाहीः सरकार

११ चैत, काठमाडौं । लगानी सम्मेलन र प्रधानमन्त्रीले आइतबार संसदलाई गरेको सम्बोधन आजका दैनिक पत्रिकाहरूको मुख्य प्राथमिकतामा परेको छ । त्यस्तै, एसईई परीक्षा, मेडिकल कलेज अनियमिततालगायत विषयलाई पनि आजका पत्रिकाहरूले ‘कभरेज’ गरेका छन् ।

हरेक विद्रोहमा साथ दिँदै  आएका रोल्पाली यतिबेला के सोच्दै होलान् ? रोल्पालीको पछिल्लो मनस्थितिबारे पनि पत्रिकाले सोधीखोजी गरेका छन् ।

राजधानी दैनिकले आज ‘सरकार–सेना दूरी बढ्दै’ शीर्षकमा मुख्य समाचार बनाएको छ ।

सरकारले एकपछि अर्को गर्दै सेनासँग सल्लाह नै नगरी दीर्घकालीन असर पर्ने विषयमा निर्णय लिन थालेपछि सेना सरकारसँग रुष्ट भएको समाचारको सार छ ।

सैनिक स्रोतको हवाला दिँदै महेश्वर गौतम राजधानीमा लेख्छन्– नेपालमा सम्पन्न बिम्स्टेक बैठकपछि भारतमा हुने भनिएको संयुक्त सैन्य अध्यासमा जानबाट सरकारले सेनालाई रोक्नु, सीके राउतसँगको सहमति हुँदै नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध, प्रधानमन्त्रीले नै कानून सेना परिचालन गर्नसक्ने गरी कानून संशोधन गर्न गरिएको प्रस्ताव र पछिल्लोपटक तोकिएको मर्यादाक्रमका विषयमा सेना सरकारसँग रुष्ट छ ।’

हरेक क्रान्ति र विद्रोहमा खुला हृदयले साथ दिँदै आएका रोल्पाली विप्लवको गतिविधि बढेपछि के सोच्दै होलान् ? के विगतजस्तै रोल्पालीको साथ विद्रोही समूहलाई होला ?

नागरिक दैनिकले आज यसको जवाफ खोज्ने प्रयत्न गरेको छ । नागरिकका अनुसार रोल्पाली यसपटक बिल्कुलै विद्रोहको मूडमा छैनन् ।

नागरिक लेख्छ– आमरोल्पाली यतिबेला त्रसित छन् । एकातिर द्वन्द्व हुने हो कि भन्ने त्रज्ञास छ भने अर्कातिर उनीहरु अनिच्छापूर्वक दिइनुपर्ने चन्दाको मारमा छन् ।’

विप्लव समूह नियन्त्रणमा सरकारले लिएको नीतिबारे पनि नागरिकले एक विश्लेषण छापेको छ । सके फकाउने नभए तर्साउने नीति सरकारले अख्तियार गरेको उसको विश्लेषण छ ।

विप्लव समूहप्रति सरकार आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला नवलपरासीमा चन्दा आतंक बढेको कान्तिपुरले लेखेको छ । समाचार अनुसार चन्द समूहले चन्दा माग्दै स्थानीय तहका कर्मचारीलाई पत्र थमाउन थालेका छन् ।

नगरपालिकामा ५० लाख र गाउँपालिकामा ५ लाखसम्म माग्दै आएको उक्त समूहले नियमित बजेटबाट नमिले विभिन्न योजनाको ठेक्का रकमबाट बुझाउन दबाव दिइरहेको छ ।

स्थानीय तहलाई चन्द समूहले चन्दा मागेर धम्क्याइरहेका बेला सरकारले भने नदिन निर्देशन दिएको छ । उपलब्ध गराएको पाइएमा कारबाही गर्ने चेतावनी सरकारले दिएको छ । स्थानीय जनप्रतिनिधि चन्दको धम्की र सरकारको निर्देशनको चेपुवामा परेका छन् ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment