Comments Add Comment

सोलुखुम्बुका सरकारी हाकिमले जिल्ला छाडे

१४ साउन, सोलुखुम्बु । बर्षातको समयमा सोलुखुम्बुका अधिकांश सरकारी कार्यालयका प्रमुखहरु घर बिदामा बसेका छन् । सोलुखुम्बुमा रहेका करिब ४० वटा मुख्य कार्यालयमध्ये ३० भन्दा बढी कार्यलयहरुमा कार्यलय प्रमुख छैनन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल भूकम्प प्रभाबितहरुको बसोबास र स्थानान्तरणको काम सकेर घर बिदामा बसेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुकुमारी भटराई पनि बिदामै छिन् ।

जिल्ला प्रशासन कार्यालयमा सीमा प्रशासन कार्यालय नाम्चेका सीमा प्रशासक अनन्त बस्नेतलाई निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यसबाट सीमा प्रशासन कार्यालय नाम्चेको सेवा भने प्रभाबित भएको छ ।

सोलुका स्थानीय बिकास अधिकारी महेश पराजुली, जिल्ला बन कार्यलयका प्रमुख मेघराज राई, जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद भटराई, जिल्ला शिक्षा अधिकारी बीरबहादुर खड्का, जिल्ला सरकारी वकिलको कार्यलयका सहन्यायाधिबक्ता पुण्यप्रसाद साप्कोटा पनि बिदामै छन् ।

यस्तै जिल्ला कृषि बिकास कार्यलयका बरिष्ठ कृषि बिकास अधिकृत हस्तबहादुर बिष्ट, पशु सेवा कार्यलयका प्रमुख रामअषिस दास, कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख शालिकराम चौधरी, जिल्ला हुलाक कार्यालयका प्रमुख जीवनप्रसाद आचार्य, महिला विकास कार्यालयकी प्रमुख साबित्रा न्यौपाने, जिल्ला प्राबिधिक कार्यालयका प्रमुख राजेन्द्र केसी, बागबानी केन्द्र फाप्लुका प्रमुख रामलखन मण्डल, घरेलु तथा साना उद्योग बिकास समितिका अधिकृत चेतनाथ घिमिरे लगायतका सरकारी कार्यलयका हाकिमहरु एकैपटक बिदामा बसेका छन् ।

आर्थिक बर्ष सकिएपछि नयाँ आर्थिक बर्षका कार्यक्रमहरु सुरु नभइसकेकाले अधिकांश कार्यालयहरु सुनसान भएका छन् । बषर्ातको समयमा सेवाग्राही पनि कम आउने र कार्यालयले सञ्चालन गर्ने नयाँ कार्यक्रमहरु पनि सुरु नभइसकेकाले केही दिनका लागि कार्यलय प्रमुखहरु बिदामा गएको कर्मचारीहरु बताउँछन् । तर, वर्षातका बेलामा बाढी पहिरोको जोखिम बढ्न सक्ने अवस्थामा सिडियो लगायत सरकारी हाकिमहरु जिल्लामा नहुँदा समस्या आउन सक्ने स्थानीयको गुनासो छ ।

कार्यालयका प्रमुखहरु नै नहुँदा प्रमुखलाई नै भेटेर गर्नुपर्ने कामहरु हुन नपाएको सेवाग्राहीहरु बताउँछन् ।
-राधा ढुंगानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment