Comments Add Comment

सेयर बजार मैत्री भएनन् अर्थमन्त्री र गभर्नर

Rabindra-bhattrai-finalरविन्द्र भट्टराई

सेयरमा लगानी गर्नेहरुका मुख्यतः दुईवटा उद्देश्य हुन्छन् । एउटा मूल्य बढ्छ र बेचेर नाफा लिने, अर्को कम्पनीले नाफा कमाएर बाँडेको नाफा लिने ।

कम्पनीले सेयरधनीलाई बाँडेको नाफालाई लाभांश भनिन्छ । सेयरमा लगानी गरेर कम्पनीबाट लाभांश लिनु कतिपयलाई आकाशको फल आँखा तरी मर झैँ हुन्छ । जसका कारण पनि धेरै कम्पनीमा असंकलित लाभांशको रकम बढ्दो छ ।
बैंक अफ काठमाण्डौको मात्र तथ्यांक हेर्ने हो भने २०५८/५९ देखि २०६८/६९ सम्म सेयरधनीले बुझिलिन बाँकी नगद लाभांश ३ करोड १९ लाख ७७ हजार छ ।photos

कम्पनीले घोषणा गरेको नगद लाभांश साधारणसभाबाट पारित गरेको ५ बर्षभित्र सम्बन्धित सेयरधनीले लिई सक्नुपर्ने कम्पनी ऐन २०६३ ले व्यवस्था गरेको छ । पाँच वर्षभित्र लाभांश नलिए यो लाभांश लगानीकर्ताले पाउँदैन । पाँच बर्षसम्म पनि नबुझेको लाभांश लगानीकर्ता संरक्षण कोषमा जाने व्यवस्था छ । यो व्यवस्था गरिएको ९ बर्ष बितिसकेको छ । तर, ऐनले गरेको यो व्यवस्था हालसम्म पनि लागु गरिएको छैन ।

व्यवस्था कार्यान्वयनमा नआउनु लगानीकर्ताका लागि खुशीको बिषय हो किनकि कानुनीरुपमा नपाउने लाभांश पनि लगानीकर्ताले पाइराखेका छन् । तर, कानुनमा लेखिएको कुरा कार्यान्वयन गर्न नसक्नु कम्पनी रजिष्ट्रारको कार्यालय र धितोपत्र बोर्डको लाचारी देखिन्छ । यो कार्यान्वयन गर्ने काम कम्पनी रजिस्ट्रारको कार्यालय, धितोपत्र बोर्ड र स्टक एक्सचेन्जको हो । यसरी नबुझेको लाभांशबाट बन्ने कोषको पैसा पुँजी बजारको विकासमा खर्च गरिने कम्पनी ऐन ०६३ ले व्यवस्था गरेको छ ।
मेरो विषय लगानीकर्ताले लाभांश नलिउन् र यी संस्थाले कोष छिटो बनाएर कोषको आकार बढोस् भन्ने नभई लगानीकर्ताका हातमा लाभांश कसरी पुग्न सक्छ भन्ने हो । लगानीकर्ताले उनीहरुको लगानीमा प्राप्त प्रतिफल उनीहरुले पाउनुपर्छ भन्ने हो ।

साधारणसभाबाट लाभांश पारित गरेको ४५ दिनभित्र कम्पनीले लाभांश वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । कम्पनीले साधारण सभा भएपछि राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर लाभांश वितरण गर्न सुरु गर्छन् । कतिपय कम्पनीले आफै वितरण गर्छन् भने कतिपयले अन्य कम्पनी, जस्तो मर्चेन्ट बैकलाई लाभांश वितरण गर्न जिम्मा दिने गरेका छन् । जस्तो साना किसान बिकास बैंकको लाभांश नविल इन्भेष्टमेन्ट बैंकिगले वितरण गर्छ । नगद लाभांश अकाउन्टपेयी चेकमार्फत बितरण गरिन्छ ।

लाभांश सेयरधनीले स्वयं गएर वा कसैलाई मञ्जुरीनामा दिएर तोकिएको ठाउँबाट संकलन गर्न सकिन्छ । कम्पनीले लाभांशको चेक लगानीकर्ताको घरमा पठाउँदैन । लगानीकर्ताको बैंक खातामा जम्मा पनि गरिदिँदैन । अन्तराष्ट्रिय बजारमा लगानीकर्ताले पाउने लाभांशको चेक लगानीकर्ताले दिएको ठेगानामा पठाउने गरिन्छ । कम्पनीमा गएर लगानीकर्ताले पाउँदैनन । घरमै प्राप्त लाभांश चेक लगानीकर्ताले आफ्नो बैंक खातामा जम्मा गर्छ ।

कम्पनीले लाभांशको चेक लगानीकर्ताको ठेगानामा नपठाँउदा वा लगानीकर्ताको खातामा जम्मा नगरिदिँदा पाएको लाभांश लिनु लगानीकर्ताका लागि आकाशको फल आँखातरि मरझै भएको छ । लगानीकर्तासँग १० कित्ता सेयर हुन्छ । कम्पनीले दश प्रतिशत नगद लाभांश वितरण गर्‍यो । अंकित मूल्य १०० रुपैयाँमा १० प्रतिशतका दरले एक सेयरमा १० रुपैयाका दरले १० कित्ता सेयरको लाभांश १०० रुपैयाँ हुन आउँछ । यसमा ५ प्रतिशत लाभांश कर कटाएर लगानीकर्ताले ९५ रुपैयाँको चेक प्राप्त गर्छ ।
तर, यो सय रुपैयाँ लाभांश लिन मेची-महाकालीबाट काठमाडौं आउनु पर्छ । लगानीमा प्राप्त प्रतिफल बैकले दिएको व्याज भन्दा धेरै छ । अन्य विकल्पमा पाइने प्रतिफलभन्दा पनि धेरै छ । ९५ रुपैयाँ लाभांश लिन काठमांडौ आउन सकिँदैन । लगानीकर्ता पैसा नभएर छटपटाइराखेका छन् । तर, कम्पनी लगानीकर्ताले पाउने पैसा ढुकुटीमा थन्क्याएर बसेका छन् । यसकारण पनि धेरै कम्पनीमा संकलन गर्न बाँकी लाभांश हरेक बर्ष बढ्दोछ ।

एउटै कम्पनीमा करोडभन्दा पनि बढी असंकलित लाभांश छ । शाखा विस्तार गरेका कम्पनीका सेयरधनीले भने नजिकैको शाखाबाट लाभांश लिन सक्छन् तर शाखा नभएका कम्पनीका लगानीकर्ताका लागि देश भरबाट काठमांडौ आउनुभन्दा अर्को बिकल्प छैन । जस्तो दांगको घोराहीमा केन्द्रीय कार्यलय भएको नमस्ते वित्तीय संस्थाले आव २०७०/७१ मा १० प्रतिशत नगद लाभांश वितरण गर्यो । दाङका लगानीकर्ताले दाङ बाट लाभांश बुझ्न सक्ने भए ।

तर, अन्यत्रका लगानीकर्ता सबैलाई काठमाण्डौको एनएमबी क्यापिटलमा सम्पर्क राख्न भनियो । ०७० जेठमा सेयर जारी गरेको यो कम्पनीले मेचीदेखि महाकालीसम्मका लगानीकर्ताबाट पैसा संकलन गरेको छ । यसरी गाँउ-गाँउमा पुगेर पैसा उठाउने अनि लाभांश लिन काठमाण्डौमै आउ भन्नु लगानीकर्ता माथि गरिएको अपराध हो ।

बाणिज्य बैंकका शाखा देशका बिभिन्न जिल्लामा छरिएर रहे जसरी सेयर जारी गर्ने सबै कम्पनीका शाखा छैैनन् । जस्तो जलविद्युत कम्पनीका शाखा छैनन् । एक क्षेत्रीयस्तरको बिकास बैंक खोलिएको जिल्लामा मात्र सीमित हुन्छ । तीन जिल्ले बिकास बैंकका तोकिएका तीन जिल्लामा शाखा हुन सक्छन् ।

राष्ट्रिय स्तरका कतिपय बिकास बैंक र वित्त कम्पनीका शाखा पनि सीमित क्षेत्रमा मात्र छन् । यस्ता कम्पनीले वितरण गरेको लाभांश देशका विभिन्न स्थानबाट सेयर भरेर लगानी गर्ने लगानीकर्ताले सहजै लिन सक्दैनन् । कम्पनीले प्राथमिक सेयर निश्कासन गर्दा पाँचै विकास क्षेत्रमा आवेदन फारम संकलन केन्द्र राखेर सेयरबाट पैसा संकलन गरिरहेको हुन्छ ।

कतिपय बैंकले सेयरधनीले पाउने लाभांशको सुविधाका लागि सेयरधनी खाता पनि सञ्चालनमा ल्याएका छन् । तर, यो खाता सेयरधनीले सम्बन्धित बैंकमा खोलेमा सोही बैकले वितरण गरेको लाभांशमात्र सेयरधनीको खातामा जम्मा गर्छ । तर, अन्य बैंकले बाँडेको लाभांश ल्याएर यो खातामा जम्मा गरिदिँदैन । यो सुविधा केही बैंकमा छ । तर, खाता खोल्ने काम हाइड्रो कम्पनीमा हुन सक्दैन । टेलिकममा हुन सक्दैन ।

लगानीकर्ताले सहज तरिकाबाट लाभांश प्राप्त गर्न दुईवटा विकल्प छन् । पहिलो बिकल्प सेयरधनीले सेयर किन्दा दिएको ठेगानामा कम्पनीले चेक पठाइदिने । र, प्राप्त चेक लगानीकर्ताले आफ्नो खातामा जम्मा गरेर लाभांश संकलन गर्न सक्छ । तर, यसरी सेयरधनीको ठेगानामा चेक पठाउँदाका केही समस्या छन । जस्तो हाम्रो देशमा ठेगाना लेख्नका लागि घर नम्बर, टोल, गल्लि स्पष्ट छैनन जसले गर्दा सम्बन्धित व्यक्तिले चेक प्राप्त गर्नेमा विश्वस्त हुने ठाँउ छैन । र, चेक कम्पनीमै र्फकने सम्भाबना बढी हुन्छ ।

स्ट्याण्डर्ड चार्टर्ड लगायत केही कम्पनीले चेक लगानीकर्ताको ठेगानामा पठाउँथे । तर, अहिले पठाउने गरेको पाइँदैन । अर्को समस्या, हाम्रो हुलाक प्रणाली भरपर्दो छैन । यदि हुलाक भरपर्दो हुने भए यो समस्या हुने थिएन । लगानीकर्ताले घरमै लाभांशको चेक प्राप्त गर्न सक्थे । अमेरिका, क्यानडा, युरोपियन देशमा भएको उत्कृष्ठ हुलाक प्रणालीकै कारण लगानीकर्ताले हरेक सूचना घरमै प्राप्त गर्छ । लाभांशको चेक घरमै पाउँछ ।

लाभांश प्राप्त गर्ने दोस्रो र भरपर्दो उपाय भनेको लगानीकर्ताले सेयर खरिद गर्दा दिएको बैंकखातामा लाभांश जम्मा गरिदिनु हो । प्राथमिक बजारमा सेयर खरिद गर्ने हरेक आवेदकले बंैक खाता अनिवार्य उल्लेख गर्नुपर्छ । कम्पनीले वितरण गरेको लाभांश सोही खातामा जम्मा गरिदिए लगानीकर्ताले सहजै लाभांश प्राप्त गर्न सक्छन् ।

प्राथमिक बजारमा सेयर नकिनेका तर, दोस्रो बजारबाट सेयर खरिद गर्नेले भने सेयर खरिद गर्दै लाभांशका लागि अनिबार्य बैंक खाता कम्पनीमा दर्ता गराउनुपर्ने व्यवस्था गरिएमा सबैले आफ्नो बैंक खातामा लाभांश प्राप्त गर्न सक्छन् । अन्यथा नगद लाभांशको यो समस्या समस्याकै रुपमा रहन्छ ।

लगानीकर्ता लगानी गरिरहन्छन । लाभांश कम्पनीमा थुपि्ररहन्छ । न यो पैसा कम्पनीले लगानी गर्न पाउँछ, न यो पैसामा लगानीकर्ताले ब्याज नै प्राप्त गर्न सक्छन् । कानुनतः लाभांशका लागि छुट्याएको पैसा कम्पनीले लगानी गर्न पाउँदैन । र, लगानीकर्तालाई ब्याज पनि दिइँदैन ।

सीडीएस सञ्चालनमा आएपछि बोनस सेयरकोरुपमा पाउने लाभांशको समस्या भने विस्तारै समाधान हुने देखिन्छ । लगानीकर्ताले पाउने बोनस सेयर कम्पनीले लगानीकर्ताको सीडीएस खातामा जम्मा गरिदिन्छ । तर, नगद लाभांश जम्मा गर्दैन ।

पुँजी बजारप्रति लगानीकर्ताको यत्रो आकर्षण भएको अवस्थामा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको यो समस्यालाई किन बुझ्दैन ? लाभांश लगानीकर्ताको खातामा जम्मा गरिदिने निर्देशन किन बनाउँदैन ? कम्पनीलाई सेयर जारी गर्ने स्वीकृति दिएर मात्र हुँदैन, सेयरमा लगानी गर्ने लगानीकर्ताको हितको संरक्षण पनि हुनु पर्छ । यतिका बर्ष वितिसक्दा पनि यो कुरामा बोर्ड आँखा चिम्लेर बसेको छ ।

राष्ट्र बैंक वित्तीय पहुँचको कुरा चर्कोरुपमा उठाउँछ । तर, आफ्ना मातहतका कम्पनीलाई वितरीत लाभांश लगानीकर्ताको बैक खातामा अनिवार्य जम्मा गरिदिने निर्देशन किन दिन सक्दैन ? हालका गभर्नरलाई लगानीकर्ताका यी समस्या राम्ररी थाहा छ । गभनर्र साप, पुँजी बृद्धिको निर्देशन जस्तो कडा निर्देशन लगानीकर्ताको बैक खातामा लाभांश जम्मा गर्नका लागि पनि दिन सक्नु हुन्छ ?

पुँजी बजारमैत्री भनेर बजारले बुझेका हालका अर्थमन्त्रीले लगानीकर्ताका यी पीडा बुझेका छन् ? पुँजी बजरमैत्री भनेको मेची-महाकालीसम्म सेयर भर्न पाइने छ, तर लाभांश लिन काठमाण्डौ आउनुपर्छ भन्ने हो ? जनताले कर तिरेर राजस्वको ढुकुटी भरिँदा आफ्नो सफलताको बखान गरेर मात्र जनताले सुविधा पाउने छैनन् । लाभांश पाउने अधिकार कानूनमा भएर मात्र लगानीकर्ताको हातमा लाभांश नपुग्ने रहेछ । सक्नुहुन्छ भने अर्थमन्त्री र गभर्नरले भनिदिनुहोस् अब जनताले सेयर भर्दा उल्लेख गरेको बैंक खातामा नै नगद लाभांश पाउने छन् र लाभांश लिन काठमाण्डौ आउनुपर्ने छैन ।

अहिलेको बजेटमा अर्थमन्त्रीले रेमिट हाइड्रोको कुरा उठाएका छन् । बैदेशिक रोजगारमा गएका मेचीदेखि महाकालीका लगानीकर्ताले पैसा लाउने छन् । कम्पनीले नाफा कमाएर बाँड्ला, तर नाफा लिन फेरि पनि काठमाण्डौ आउनुपर्ने भए किन लगानी गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment