Comments Add Comment

टीकापुर घटनाबारे के भन्छन् प्रवासी नेपाली ?

घनश्याम पराजुली (कृष्ण)
दोहा । कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा एसएसपी सहित ७ जना प्रहरी मारिएपछि देशभित्र मात्रै नभए देशबाहिर बस्ने नेपालीहरुमाझ पनि चिन्ता फैलिएको छ । प्रहरीमाथी भएको अमानवीय तथा त्रसादीपूर्ण हमलाको सबैले निन्दा गरेका छन् ।

यसै घटनाको विषयमा कतारमा कार्यरत केहि नेपालीहरुसँग अनलाइनखबरले प्रतिक्रिया मागेको थियो । उनीहरुको भनाइ जस्ताको तस्तै :

1-ganesh siwaआन्दोलनकारी जवाफदेही हुनुपर्छ
गणेश शिवा, तपेश्वरी -५, उदयपुर

टिकापुरमा भएको घटनाको जति निन्दा गरे पनि कम हुन्छ । यसले बर्बरताको सबै हद पार गरेको छ । कानुनी राज्य, विधिको शासन र लोकतन्त्रमा विश्वास गर्नेहरुले कुनै पनि हालतमा यस्ता आततायि घटनाहरु स्विकार्न सक्दैनन् ।

हो, थारुहरुको जनसंख्यालाई यो संघियताको खाकाले खण्डित गरेको छ र थारुहरु यो संघियताको खाकाबाट सन्तुष्ट हुन सकिरहेका छैनन् । त्यस सम्बन्धमा सबै राजनीतिक दलहरुसँग छलफलमा जुट्न सकिन्छ । त्यति गर्दा पनि भएन भने शान्तिपुर्ण आन्दोलन गरेर दबाब दिन पनि सकिन्छ । तर जुन तरिकाले हिजोको घटना भएको छ, त्योे कुनै आतंककारी हमला भन्दा फरक छैन । जनधनको सुरक्षाको लागी बसेका सुरक्षाकर्मीहरुमाथि नै पासविक तरिकाले आक्रमण गर्नुले सिंगो थारु समुदायलाई नै लज्जित बनाएको छ ।

म आफु पनि थारु गाउँमा नै जन्मिएको र हुर्किएको मान्छे हुँ । जहाँसम्म मलाई लाग्छ, नेपालका थारुहरु यती कठोर हुनै सक्दैनन् । नेपालमा संविधान नबनोस्, जातीय सद्भाव नबिथोलियोस, संघियता असफल होस र त्यो अस्थिरताको धमिलो पानीमा माछा पक्रिन पाइयोस भनेर केही षडयन्त्रकारीहरुले सुनियोजित तरिकाले थारुहरुको आन्दोलनमा घुसपैठ गरेर सामाजिक उदण्डता मच्चाउन खोजेको हुनुपर्छ । यदी त्यसो हो भने सरकार र आन्दोलनकारी दुबे मिलेर घटनाको सुक्ष्म अध्ययन गरेर दोषीलाई कानुनको कठघरामा उभ्याउन सक्नुपर्छ ।

शान्तिपुर्ण आन्दोलनमा हुनसक्ने यस्ता घुसपैठहरुप्रति स्वयम् आन्दोलनकारी जवाफदेही हुनुपर्छ । शान्ति सुव्यवस्था कायम गर्न सेना परिचालन भएको छ । अब सबै जिम्मेवार भएर शान्ति सुव्यवस्था कायम गर्न र थप हिंसा भड्किन नदिन जिम्मेवार भएर लाग्नुको विकल्प छैन ।

2-Mohammed aziz aliसाम्प्रदायिक सदभाव नबिथोलियोस्
मोहम्मद अजीज अली, पुतली बजार नगरपालिका-१ स्याङ्जा

प्रवासमा रहेका तमाम नेपालीहरु देशमा हुने यस्ताखाले घटनाले कति मर्माहित हुन्छन् भन्ने कुरा सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुमा व्यक्त भएका कमेन्टहरु हेर्दा नै थाहा हुन्छ । भर्खरै देशमा महाभुकम्पले दिएको पीडा सेलाउन नपाउदै कैलालीको टिकापुरमा दुखद घटना भएको छ ।

भौतिक र मानवीय क्षतिको तुलना गर्दा यो सानो भए पनि महाभूकम्पले भन्दा ठूलो मानसिक पिडा र चिन्ता दिएको छ । त्यो एउटा प्राकृतिक प्रकोप थियो भने यो घटनामा एउटा नेपालीले अर्को नेपालीलाई क्रुरतापुर्वक हत्या गरिएको छ । यसले साम्प्रदायिक र सामाजिक हिंसा निम्त्याउने आशंका बढेको छ । यसमा दोष राजनीतिक दलहरुको छैन भन्न मिल्दैन, तथापी हामी नागरिकहरु पनि त्यत्तिकै जिम्मेवार छौ । केही राजनीतिक दलहरुको निहित स्वार्थ र उद्धेश्यपूर्तिका लागी परिचालित छौ कि आफ्नो हकअधिकारको लागी भन्ने छुट्याउन सक्नुपर्छ र शान्तिपुर्वक आन्दोलन गरिनुपर्छ ।

नेपाल परिवर्तनको संघारमा छ । सामाजिक सदभाव कायम राख्न यो घडीमा नेताहरुले निकै संयमता अपनाउनु पर्ने हुन्छ । पार्टीगत वा व्यक्तिगत स्वार्थभन्दा माथी उठेर हरेक क्षेत्र, जातजाती र समुदायहरुको जायज मागहरुलाई वार्ताद्वारा समाधान गर्न सक्नुपर्छ । उक्साउने र भड्काउने खाले अभिव्यक्ति नेताहरुले दिँदै जाने हो भने यसले भयानक स्थिति निम्त्याउन सक्छ । तमाम नेपालीहरुले हामी पहिले नेपाली हौं, नेपाल रहे नै जाति, धर्म, समुदाय र क्षेत्र रहनेछ भन्ने महसुस गर्नु जरुरी छ ।

3- Deepak lamichaniराजनीतिक घुसपैठको बिडम्बना
दिपक लामिछाने, धावा-२ गोर्खा

सबैले आफ्नो माग राख्न पाउनुपर्छ र त्यसको अन्तिम विकल्प भनेको आन्दोलन नै हो । इतिहास साक्षी छ, देशमा हरेक परिवर्तन आन्दोलनबाटै संभव भएका हुन् । तर, शान्तिपुर्ण आन्दोलनमा नाममा राजनीतीक घुसपैठ भइदिनु ठूलो बिडम्बना हो ।

भर्खरै मात्र गएको भुकम्प होस वा केही समय पहिले कैलालीमा आएको बाढी, सबै ठाउँमा हामीलाई सहयोग र सुरक्षा दिने भनेको हाम्रै प्रहरी-प्रशासन हो । तर हिजो तीनै प्रहरी- प्रशासनमाथी जुन अमानवीय व्यवहार गरियो, त्यो आफैमा नीच र घटिया काम थियो । घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ । तर सेना परिचालन गरेर मात्रै समस्याको समाधान हुँदैन । राजनीतिक तवरले नै समस्याको समाधान गर्नु सत्तापक्षको कर्तव्य हो । देशको खुकुलो राज्यसंरचना र कानूनमा सबैलाई बाँध्न नसक्नुको उपज हो कैलाली घटना । सुरक्षा निकाय नै सुरक्षित छैन भने अरु जनता कसरी सुरक्षित हुन सक्लान् भन्ने कठोर प्रश्न उब्जिएको छ । यो गम्भीर अवस्थामा राजनीतीक दलका नेताहरुले संयम कायम राख्दै देशलाई निकास दिनुपर्छ ।

4-Dambar limbangराजनीतिक समाधान खोज्नुपर्छ
डम्मर लिवाङ ‘मिसेक’, डागीवारी-८ झापा

कैलाली टिकापुरमा भएको घटना अत्यन्तै दुःखद छ । यो राज्यपक्षको कमजोर भूमिका र राजनीतिक दलको सत्तास्वार्थको परिणाम हो । यो घटनाको जिम्मेवारी चार दल कांग्रेस, एमाले, एमाओवादी र लोकतान्त्रिक फोरमले लिनुपर्छ । किनकी उनीहरुले देशलाई आफ्नो विर्ता सम्झेर आदिवासी-जनजनती, मधेसी, मुस्लिम, महिला, दलित, उत्पिडितहरुको मुद्दामा ख्यालठट्टा गर्न खोज्दा यो अवस्था आएको हो ।

देश एकात्मक शासनपद्धतिमा अब चल्न सक्दैन । परम्परागत जात, धर्म र बर्गबाट अब शासनव्यवस्था चल्न सक्दैन । कैलाली टिकापुरको घटनामा घुसपैठ भएको हो भने अनुसन्धान हुनुपर्छ । आदिवासी जनजातिको आन्दोलनलाई कमजोर र गलत बनाउने प्रयासमा कांग्रेस र एमालेको घुसपैठ समेत हुनसक्छ । यो सचेत हुनुपर्ने विषय हो । साथै, थरुहटका मागलाई सम्बोधन गर्दै बन्दुकले होईन राजनीतीक समाधान खोज्नुपर्ने देखिन्छ ।

एकात्मकवादीहरुको बन्दुकको नालमुली अवको नेपाली पुस्ता बस्न सक्दैन । जुन घटना भयो त्यो राम्रो भएन । तर त्यसैलाई लिएर निर्दोष थारुहरुलाई राज्यले दमन र प्रतिशोध साँध्छ भने त्यो सिंगो देशलाई सह्य हँुदैन । सत्य र न्यायको लागि बलिदान गर्न सक्नुपर्छ । अवका दिनहरुमा अझै सचेत हुनु जरुरी छ ।

5- Samir khatriअराजकताको पराकाष्टा
समिर खत्री, भरतपुर-१९, चितवन

टिकापुरमा भएको आन्दोलन अराजकताको पराकाष्टा हो । जातजाति, क्षेत्र तथा समुदायले देश टुक्याएर आफ्नो अस्तित्व कायम गर्न खोज्नु राम्रो पक्कै हैन । राष्ट्रसेवकको सुरक्षामा समेत आज प्रश्न चिन्ह खडा भएको छ भने जनताको अवस्था कस्तो हुने हो भन्ने कल्पना गर्न समेत गाह्रो छ ।

शान्तिपुर्ण आन्दोलन भन्दै हतियार लिएर आतंककारी शैलीमा खैलाबैला मच्चाउदैमा देशमा रामराज्य आउँदैन । विगतमा भएका हत्याहिंसाले देशलाई कहाँ पुर्‍यायो ? टिकापुरको घटनाले पुनः देश पहिलेकै अवस्थामा र्फकने त हैन भन्ने आशंका उत्पन्न भएको छ । जहाँसम्म घुसपैठको कुरा छ, त्यो आन्दोलनकारीले सोच्नुपर्ने विषय हो । राजनितिक अस्थिरताका कारण आज राष्ट्रसेवकले ज्यान गुमाउनु परेको छ । शान्तिसुरक्षा कायम गर्न अबका दिनमा अझै चुनौती थपिएको छ । देशले निकास पाउनुपर्छ र सबैका माग उचित तरिकाबाट सम्बोधन गरिनुपर्छ ।

6- Hari krishna Rimalदेशको चिन्ताले पिरोलेको छ
हरिकृष्ण रिमाल, चारघरे-३ नुवाकोट

कैलालीमा भएको घटनाले स्तब्ध बनाएको छ । देशमा नयाँ संविधान बन्ने प्रक्रियाको अन्तिम चरणमा यस्ता खाले घटना हुनु दुर्भाग्य हो । देशले निकास पाउने आशामा बसेका हामी नेपालीलाई यसले दुखित बनाएको छ ।

आज देशले नयाँ विकासको बाटो खोजिरहेको छ । नेपालको विकास हेर्न खोजिरहेका युवाहरुलाई यो भयानक घटनाले चोट पुर्‍याएको छ । देशप्रतिको चिन्ताले पिरोलिरहेको छ । घटनाको जिम्मेवार राजनितीक दलहरु नै हुन् भन्ने लाग्छ । किनभने आन्दोलन कसैको नियन्त्रणमा नहुनु, मधेश केन्दि्रत दलहरुले विभिन्न कार्यक्रमहरु गर्दै आन्दोलनकारीको टाउकोको मोल तोक्नु, स्थानिय प्रशासनलाई त्यहाँको वस्तुस्थितिबारे जानकारी नहुनु, साथै आसपासका क्षेत्रहरुमा सुरक्षा व्यवस्था खुकुलो हुनु घटनाका मुख्य कारकतत्व हुन् जस्तो लाग्छ ।

एउटा भिडले हिंसात्मक आक्रमणमा उत्रिएर प्रहरीलाई जिउँदै जलाउनु के शान्तिपुर्ण आन्दोलन थियो ? यस्तो अवस्थामा अझै राजनितीक दलका नेताहरुले दिएको अभिव्यक्ति दुभाग्यपूर्ण छ । अहिलेको अवस्थामा सामाजिक सद्धभाव र संयमता कायम राख्नु नै महत्वपुर्ण विषय हो । संघियताबारे जनतालाई स्पष्ट बुझाउन नसक्नु यसको मुख्य कारण हुन सक्छ । अव सबै क्षेत्र, जातजाति र समुदायका जायज मागहरुलाई यथासिघ्र सम्बोधन गरी अगाडी बढेमा मात्रै शान्तिको सास फेर्न पाइएला ।

7-Suman tamotसेना परिचालन गरेर हुँदैन
सुमन टमोट, बल्खु-१४, काठमाडौं

यो गणतन्त्रमा कुनै पनि घटनाको दोषिमाथी कारवाही हुनु जस्तै भएको छ । कैलालीको जुन घटनाले आज हामी चिन्तीत बनेका छौ, साँच्चिकै नेपालका नेताहरुले सोचिदिएको भए यो अवस्था आउने थिएन । प्रहरीसहित नावालकले यसरी भाला रोपिएर मर्नु पर्ने थिएन । संघीयताको नाममा स पनि थाहा नभएका निर्दोष जनताहरुलाई सडकमा उतारेर जनताकै सुरक्षाको लागि खटिएका राष्ट्र सेवकहरुको ज्यान लिन हौसाउनेहरु को हुन् ? उनीहरुलाई पर्दा पछाडिबाट बाटो देखाउने को हुन् ?

बाह्यशक्ति अनि दुईचार पैसाका लािग जे पनि गर्ने नेताका कार्यकर्ताहरु हुन् घटनाको दोषी । टिकापुरको जस्तो घटना फेरी नदोहोरियोस भन्नका लागी देशलाई बाह्य हस्तक्षपबाट जोगाएर राजनितीक निकास खोज्नु जरुरी छ । तर सेना परिचालन गरेर समस्याको समाधान हुन्छ भन्ने मान्यता दीर्घकालिन हुदैन । घुसपैठ जस्ता सबै कुराहरु हावादारी हुन् । यो शान्तिपुर्ण आन्दोलन नै होइन । यो हिंसाको सुरुवात हो । प्रवासबाट नेपालको समृद्धी चाहने नेपालीहरुलाई यस घटनाले कुठाराघात गरेको हो ।

8-Aruna k cदल र आन्दोलनकारी दोषि
अरुणा केसी, ताहाचल- १५, काठमाडौ

टिकापुर घटना एकदमै दुखद र निन्दनीय छ । हामी सबै नेपाली हौ भन्ने नबुझ्नुले यो घटना भएको हो जस्तो लाग्छ । राजनीतिक दल र आन्दोलनकारीहरु यस घटनाका मुख्य दोषी हु्न् । सत्तामा रहेका दलहरुले आन्दोलनकारीका जायज मागहरु संवोधन गर्न नसक्नु र आन्दोलनकारीहरुले साह्रै ज्यादती र निर्दयिपन देखाउदा आज सारा नेपालीहरु मर्माहत बन्नु परेको छ ।

जता लडे पनि नेपाली नै लड्यो । जता दुखे पनि नेपालीलाई दुख्यो । संयम र सद्भावलाई कायम राख्दै बुद्धी र विवेकले समस्याको समाधान खोजिनुपर्छ । नेपालीको सुरक्षाका लागी हरेक तरहले खटिने सुरक्षाकर्मीलाई दिन दहाडै आगो लगाइनुले नेपालमा मात्रै हैन अन्तर्राष्ट्रिय जगत्समेत स्तब्ध बनेको छ । सारा नेपालीलाई यस घटनाले तरंगित बनाएको छ । यस घटनामा नावालक तथा सुरक्षाकर्मीले अनाहकमा ज्यान गुमाउनु परेको छ । यसलाई कसरी शान्तीपुर्ण आन्दोलनको रुपमा लिने ?

टिकापुर घटनाले फेरी नेपालीहरुलाई झस्काएको छ । नेपाली जनताको सुरक्षामा प्रश्नचिन्ह खडा गरिदिएको छ । अब कति दिनसम्म आफ्नै देशमा समेत नेपाली जनताले असुरक्षित महशुस गर्नुपर्ने हो । नेपालमा काम गर्ने वातावरण नभएर विदेशिएका हामी कहिले सम्म घरपरिवारको चिन्तामा दिन कटाउनुपर्ने हो ।

9- Chintramani poudelप्रदेश होइन, देशको चिन्ता गरौं
चिन्तामणी पौडेल, चित्रे-६, पर्वत

टिकापुरमा भएको दुखद घटनाले सम्पुर्ण देशप्रेमी नेपालीलाई स्तब्ध बनाएको छ । पुस्तौदेखि मिलेर बसेको समाजमा कल्पना पनि गर्न नसक्ने घटना भयो । यस घटनाको दोष धेरै नेताहरुलाई नै जान्छ । खासगरी विदेशीको पैसा खाई भड्किला किसिमका भाषण दिनेहरु र आन्दोलनकारीको पनि दोष छ नै । सबै खबरहरुको अध्ययन गर्दा सुरक्षाकर्मीको दोष देखिदैन । तर उनीहरु विनाकारण बीच सडकमा जल्नु यो देशका लागी दुर्भाग्य हो ।

हिजो भुकम्पको बेला हाम्रो लागी चिउरा खाएर रातदिन खटिदा सुरक्षाकर्मीको योगदानको जयजयकार सबैले गरेकै हो । तर आज फेरी किन यस्तो भयो ? हामी सबै समुदायका नेपालीहरु प्रवासमा छौ । सबैले फोन, सामाजिक सन्जाल तथा विभिन्न माध्यमबाट आफ्नो परिवार वा आफन्तलाई यस्ता हिंसात्मक गतिविधिमा नलाग्न सम्झाउन सक्नुपर्छ । देशमा शान्ति कायम राख्न हामी पनि जिम्मेवार छौ ।

परिवर्तनका लागी शान्तिपुर्ण दबाब दिन सकिन्छ । तर हत्याहिंसाले केहि प्राप्त हुँदैन । यस्ता थुप्रै देशहरुबाट उदाहरण लिन सकिन्छ जहाँ हत्याहिंसाका कारण बर्षौबाट कठिनाई भोगिरहेका छन् । प्रदेशको सिमाना यता वा उता जता भए पनि हामी नेपाली हौ । देशभित्र रहने प्रदेशको सिमाना भन्दा नेपालको सिमानाको बारेमा सोचौ । भोली नेपाली हामी रहौला कहाँ नेपाललै नरहे ।

10-Surya subediसुनियोजित षडयन्त्र
सुर्य सुवेदी, दाङ

कैलालीको टिकापुरमा भएको घटनाले जनतालाई स्तब्ध बनाएको छ । टिकापुरमा जुन घटना भयो त्यसको मुख्य कारण चार दलले गरेको संघीयताको सिमांकन हो । संविधान बन्न नदिन मधेसी नेताहरुले भारतको चाकडी गर्दै सुनियोजित षडयन्त्र गरिरहेका छन् । यसरी जनताको सेवामा खटिएका सुरक्षाकर्मीहरु माथी भएको हिंसालाई जति निन्दा गरेपनी पुग्दैन । भुकम्प आउदा रोइरहेको नेपाललाई सम्हाल्ने सुरक्षाकर्मीलाई जसरी बीच सडकमा आगो लगाएर मारियो, यो अत्यन्तै दुखद पक्ष हो । त्यसैले यो देशलाई सबैको मागअनुरुप टुक्र्याउनु भन्दा पाँच विकास क्षेत्रलाई प्रदेशको स्वरुप दिएर देशलाई निकासको बाटोमा अघि बढाउनुपर्छ ।

11- Bal krishna bhitikotiआन्दोलन होइन संवाद
बालकृष्ण भित्रिकोटी, बरुणेश्वर-६ ओखलढुङ्गा

कैलालीको थरुहट आन्दोलनमा भएको घटनाले प्रवासमा रहेका हामी चिन्तित बनेका छौ । यो घटना साह्रै कायरतापूर्ण हो । यसको मुख्य दोषि राजनीतिक दलका नेताहरु हुन् । किनकी बहुजाती, बहुभाषी र विभिन्न धर्म मान्ने हामी नेपाली मिलेर बसिरहेका थियौं । आफ्नो स्वार्थपूर्तिका लागि नेपाललाई हतियार बनाएर राजनीति गरिरहेका नेताहरुका चर्का भाषणले जातीय द्वन्द्वको विऊ रोपेको छ ।

भनाई छ नी, दाजुभाई फुटे गवार लुटे । हो त्यस्तै किसिमले अहिले नेपालको राजनीति अगाडी बढेको छ । अवका दिनमा आन्दोलनबाट होइन वार्ताबाट सहमती गरी समस्याको हल खोज्नुपर्छ । आन्दोलनमा उत्रेका दलहरुले सडकबाट हैन सदनबाट सर्घष गर्नुपर्छ । हैन भने यस्ता धेरै राष्ट्रसेवकहरु अरुको स्वार्थका लागी बलीको बोको बन्नुपर्नेछ । नेपालीलाई फुटाउने काम नगरियोस । अत्यन्तै संयमित भएर देशलाई निकास दिने कोशिस गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment