Comments Add Comment

एनआरएन अधिवेशनमा भाग लिन शेष घले दुबई आउने

रामप्रसाद ढुंगेल
दुबई । गैरआवासीय नेपाली संघ, यूएईको छैठौं अधिवेशनको उद्घाटनका लागि एनआरएन आईसीसी अध्यक्ष शेष घले दुबई आउने भएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

शुक्रबार दुबईको मिलेनियम होटलको २४ औं तलामा रहेको भीआईपी सभाकक्षमा विशेष तामझाममा साथ अधिवेशनको आयोजना हुने भएको छ ।

अधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन केन्द्रीय अध्यक्ष शेष घले आउनुहुने भएको छ । साथै केन्द्रीय अध्यक्षका लागि कतारबाट उम्मेदवारी दिएका उपाध्यक्ष टीबी कार्की, मध्यपूर्व संयोजकमा उम्मेदवारी दिएका ओमनका डीबी क्षेत्री, महासचिव कुमार पन्तलगायतका अन्य देशहरुबाट एनआरएनका हस्तीहरु दुबईमा आउने भएका कारण यूएईको नेपाली समुदाय पूर्णरुपमा एनआरएनमय भएको छ ।

गैरआवासीय संघ, युएईको भावी अध्यक्षका प्रत्यासी सुदीप कार्की र लेखनाथ न्यौपानेलगायत अन्य ३० जना उम्मेदवारको चर्चा पनि उत्तिकै बढिरहेको छ । कार्की र न्यौपानेको दुई प्यानल सतहमा आइसकेका छन् । यो साताको हटकेट नै बनेका छन् एनआरएन यूएईका उम्मेदवारहरु । यूएईका अधिकांश नेपालीहरुको चासोको केन्द्र बनेको छ, एनआरएनको छैटौं अधिवेशन ।

एनआरएनको छै्रटौ अधिवेशनको चर्चाको केन्द्रमा अध्यक्षका प्रत्यासी कार्की र न्यौपाने रहेका छन् । यी दुईमध्येबाटै एनआरएनको अध्यक्षमा छनोट हुने भएका कारण यहाँको नेपाली समुदायमा दुई प्रत्यासीको विषयमा चर्चा उत्कर्षमा पुगेको हो ।

महासचिवका दाबेदार

महासचिव पदका दुई उम्मेदवार दीपक खड्का र कृष्णप्रसाद पौडेलको प्रतिस्पर्धालाई पनि निकै महत्वका साथ हेरिएको छ । सबै राजनीतिक दलका नेताहरुले आफ्ना पक्षका उम्मेद्वारहरुलाई सबल, निष्पक्ष र एनआरएनको गरिमालाई उच्च राख्ने भनी फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा व्यापक प्रचार-प्रसार गरिरहेका छन् ।

NRN-UAE

एक पक्षले अर्को पक्षलाई व्यंग्यात्मक पारामा होच्याउँदै अपशब्दसमेत प्रयोग गर्न थालेका छन् । एक पक्षले अर्को पक्षको बिरोध गर्ने, एउटै संगठनका पदाधिकारीलाई आपसमा भिडाउने, फोनवार्ता ट्याप गरी गोप्यता भंग गर्नेदेखि लिएर, एनआरएनका उम्मेद्वारहरुको प्रेम प्रशंगका चर्चाले गर्दा त्यसै तातो वातावरण झनै गर्मिँदै गएको छ ।

प्रचारप्रसारको शैलीले यूएईको कानुन उल्लंघन गर्ने खतरा बढेको भनी निर्वाचन समितिले अंग्रेजी शब्द तथा भोटको संकेत नराखी नेपाली भाषामा प्रचार-प्रसार गर्न सम्बन्धित सबैलाई सचेत गराएको छ ।

आगामी नेतृत्व सहमतिमै टुंग्याउनुपर्छ भन्नेहरुको माग पनि उत्तिकै छ तर अध्यक्ष, महासचिवलगायतका महत्वपूर्ण पदहरुमा सहमति हुने सम्भावना कम छ । चुनाव हुने लगभग निश्चित भएपछि ४ तारिखमै चुनावी प्रक्रिया नटुंगिने र कार्यसमितिको टुंगो लाग्न कतारको जस्तै केही साता कुर्नुपर्ने सम्भावना प्रबल बन्दै गएको छ ।

सर्वसम्मत कार्यसमिति सोही दिन नबन्ने भएपछि केही सातापछि चुनावी प्रक्रियाका लागि नेपाली दूतावासलाई गुहानर्ेे तयारी भित्रभित्रै भएको छ ।

एनआरएन यूएईका पदाधिकारी तथा अधिवेशन प्रतिनिधिहरु, राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रमा क्रियाशील नेपालीहरु यी दुई पक्षमध्ये एकको पक्ष र विपक्षमा खुलेरै लागेका छन् । सामाजिक सञ्जालभरि आरोप र प्रत्यारोपको चल्ने क्रम बढेको छ । विगतमा नामै नसुनिएका व्यक्तिहरु उम्मेदवार भएका कारण पनि एनआरएनका प्रतिनिधिहरु र सर्वसाधारण नेपालीहरुमा अन्योलता पनि उत्तिकै छाएको छ ।

सामान्य कामदार भिसामा यूएई आएर ११ वर्षको अन्तरालमा एक इन्भेस्टमेन्ट कम्पनीको ब्रान्च मेनेजर भएर काम गरिरहेका अध्यक्षका प्रत्यासी सुदिप कार्कीले आफूलाई मजदूरहरुको पक्षमा काम गर्ने बताइरहेका छन् । एनआरएनलाई यूएईका श्रमिकहरुको संगठनका रुपमा परिचित गराई सामान्य नेपालीहरुको पहुँचमा संघलाई पुर्याउने कार्कीको दाबी छ ।

उता, निवर्तमान सचिवको भूमिकामा रहेका लेखनाथ न्यौपाने सरल, अनुशासित, इमानदार र मृदुभाषीका रुपमा परिचित छन् । तर,उनलाई दुई वर्ष निष्क्रिय रहेको आरोप विपक्षीहरुले लगाएका छन् ।

अध्यक्षका प्रत्यासी सुदीप कार्कीले आठ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् भने न्यौपानेकोले पनि केही ढिलो गरेर भए पनि १३ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन् ।

२०१३-२०१५ कार्यकालमा उपाध्यक्ष पदमा रहेर सफल भूमिका निर्बाह गर्न सफल कार्की परिणममुखी काम गर्न अग्रसर देखिन्छन् तर विपक्षीहरुले धनवाद र डनबादका पक्षधर भनेर अप्रत्यक्ष रुपमा कार्कीको आलोचना गरिरहेका छन् ।

सहयोगी भावना भएका न्यौपाने पीडित जोकोहीलाई सकेको सहयोग गर्न पछि नपर्ने व्यक्तित्वका रुपमा परिचित छन् । अबुधाबीको एक मनी एक्सचेन्जका विगत १० वर्षदेखि कार्यरत न्यौपानेको कमजोर पक्ष शुक्रबार अनिवार्य डियुटी गर्नुपरेको र त्यही कारण एनआरएन अभियानमा न्यौपाने अनुपयुक्त रहेको कार्की पक्षधरहरुले आरोप लगाएका छन् ।

तर, न्यौपानेले विपक्षीहरुको तर्कलाई खण्डन गर्दै आफू निर्वाचित भए एनआरएनलाई यूएईमा सामाजिक संस्थाको रुपमा दर्ता गर्न पहल गर्नेलगायतका जनमुखी घोषणाहरु गरेका छन् ।

युएईमा रहेका विभिन्न सामाजिक संस्थाहरु नेपाली समाज, राजनीतिक दलहरु, जिल्लागत संघसंस्थाहरु, जनजाति महासंघ, पत्रकार महासंघ लगायतका सम्पूर्ण संघसंस्थाहरुसँग हातेमालो गर्दै नेपाली श्रमिकहरुको बृहत्तर हितको लागि अघि बढ्ने कार्कीले प्रतिज्ञा गरेका छन् ।

व्यक्तिगत रुपमा असल भए पनि न्यौपानेको भूमिका कार्कीको तुलनामा कम रहेको एक एनआरएनकर्मीले बताए । तर, एमाले लगायत काँग्रेसको एक समूहले न्यौपानेलाई भित्री रुमा सहयोग गर्ने वचन रहेका कारण आफ्नो जित निश्चित रहेको न्यौपानेको दाबी छ । काँग्रेसको आधिकारिक जनवर्गीय संगठनले आधिकारिक रुपमा कार्कीको पक्षमा सहयोग गर्ने नीति लिएको नेपाली जनसम्पर्क समितिका सभापति चित्र केसीले बताएका छन् ।

यूएईका केही संघसंस्थाले विज्ञप्ति नै निकालेर कार्कीको पक्षमा जनमत संकलन गरिरहेका छन् । नेपाल आदिवासी जनजाति महासंघले कार्कीको पक्षमा काम गर्ने राम्रो टिम रहेको र केही जनजातिका उम्मेद्वार रहेको भन्दै सहयोग गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment